
काठमाडौँ ।यस वर्षको ‘पूर्णप्रसाद ब्रम्हाण लघुकथा सम्मान’द्धारा पोखरा निवासी अल्पविराम पोखरेली सम्मानित भएका छन् ।
लघुकथा समाज,नेपालद्धारा राजधानीमा आयोजित एक कार्यक्रममा वरिष्ठ साहित्यकार अशेष मल्ल,लघुकथा समाज,नेपालका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’,पूर्णप्रसाद ब्रम्हाण लघुकथा सम्मान संस्थापक सुरेशराज शर्मा लगायतले लघुकथाकार अल्पविराम पोखरेलीलाई नगद,सम्मान पत्र सहित सम्मान गरे ।
यसैगरी लघुकथाकार पूर्णप्रसाद ब्राम्हाणकी सुपुत्री मन्दिरा रिजाल र भान्जी गीता चालिसेलाई समाजलाई गरेको आर्थिक सहयोगको निम्ति सम्मान गरियो ।

प्रमुख अतिथि मल्लले आफ्ना अग्रज पुस्ताको योगदानमा सत्कार्य गरेर ब्रम्हाणका सन्ततिले पुण्य कमाएको भन्दै लघुकथाको क्षेत्रमा महत्वपूर्ण योगदान गर्न सफल लघुकथा समाज,नेपाल भएको चर्चा गरे । उनले लघुकथा व्यापक भएको छ वा छैन् ? पाठक समक्ष लघुकथा कसरी पुर्याउने र पाठकको मूल्याँकन के हुने भन्ने कुरा महत्वपूर्ण भएको बताए । उनले लघुकथाको क्षेत्रमा समाजले गरेको योगदानको प्रशंसा गरे ।
यसअघि लघुकथा समाजका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ ले सम्मानित स्रष्टा अल्पविराम पोखरेलीको व्यत्तित्वको बारेमा चर्चा गरे । उनले विष्णुकुमार श्रेष्ठ नामका अल्पविराम पोखरेलीको अगुवाईमा पोखरामा लघुकथाको अभियान सुरु भएको बताए । अल्पविरामकै अगुवाईमा पोखरामा लघुकथा प्रतिष्ठानको स्थापना भएको भन्दै यसले विभिन्न गतिविधिहरु निरन्तर गरिरहेको बताए । लघुकथा लेखेर मात्र नभएर पोखरामा लघुकथा अभियान सुरु गरेका अभियन्ताको रुपमा उनलाई सम्मान गर्न लागिएको उनले बताए ।
पुरस्कृत स्रष्टा अल्पविराम पोखरेलीले सम्मानले लघुकथाको क्षेत्रमा अझै बढी काम गरौँ भन्ने हौसला मिलेको बताए । उनले लघुकथा समाज,नेपालसँग लघुकथा प्रतिष्ठान सहकार्य गर्न तयार भएको समेत बताए ।

कार्यक्रममा पुरस्कृत लघुकथाकार पोखरेलीका दुई लघुकथा ‘आमाको मन’ र ‘नौली बुहारी’को मञ्चन समेत गरिएको थियो । ‘आमाको माया’ को मञ्चनमा सर्वनामका कलाकारद्धय राजन मोक्तान र भिममाया मानन्धरले अभिनय गरेका थिए भने ‘नौली बुहारी ‘ को मञ्चनमा मिना पूर्णिमाले अभिनय गरेकी थिइन ।
सर्वनामसँगको सहकार्यमा आयोजित उक्त कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष तुलसीहरि कोइरालाले गरेका थिए । मधु पाठकको सञ्चालनमा भएको उक्त कार्यक्रममा समाजकी उपाध्यक्ष शुषमा चित्रकारले स्वागत मन्तव्य व्यक्त गरिन् ।




