
सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको तातोपानी नाका झण्डै एक महिनादेखि बन्द छ ।
पहिरोले सडक अवरुद्ध भएपछि तातोपानी नाकामार्फत हुने आयातनिर्यात पनि ठप्प छ ।
बाह्रबिसे–कोदारी सडकखण्डका विभिन्न ठाउँमा सडक अवरुद्ध छ । बाह्रबिसे–कोदारी खण्डको कुल लम्बाइ २६ किलोमिटर छ । भोटेकोसी गाउँपालिका–२ कोदारी (इको) क्षेत्रको सडकखण्डमा गएको असार ३१ गते आएको पहिरोले सडक भासिएपछि नेपाल–चीन दुई देशबीचको सडक सञ्जाल टुटेको छ ।
दुई देशलाई जोड्ने उत्तरी सिमानाको यो मार्ग अन्तरराष्ट्रिय व्यापारिक मार्ग हो । अरनिको राजमार्ग डाक्लाङमा साउन ३ गतेदेखि र लिपिङ बजार नजिकै साउन १९ गतेदेखि वर्षाका कारण सडक अवरुद्ध छ । तातोपानी भन्सारमार्फत हुने आयातनिर्यात पूर्ण रूपमा ठप्प हुँदा नेपाल मात्रै होइन, चीनतर्फका गोदाम र सडकमा रोकिएका मालवस्तु पनि नेपाल भित्रिन सकेका छैनन् ।
