
काठमाडौं।भारतले आज ८०औं स्वतन्त्रता दिवस मनाउँदैछ। सन् १९४७ अगस्ट १५ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएको अबसरमा भारतले यस वर्षको स्वतन्त्रता दिवस विभिन्न कार्यक्रमसहित मनाउन लागेको हो।
स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले बिहान नयाँदिल्लीस्थित राजघाट पुगेर राष्ट्रपिता महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले स्वतन्त्रता संग्राममा योगदान दिएका सेनानीहरूको बलिदानको स्मरण गर्दै देशवासीलाई शुभकामना दिएका छन्।
प्रधानमन्त्री मोदीले शनिबार दिल्लीस्थित ऐतिहासिक लालकिल्लाबाट राष्ट्रिय झण्डा फहराउने र देशवासीलाई सम्बोधन गर्ने कार्यक्रम छ। लालकिल्लाबाट मोदीले लगातार १३औं पटक स्वतन्त्रता दिवसको सम्बोधन गर्न लागेका हुन्।
यस वर्षको स्वतन्त्रता दिवस समारोहमा राष्ट्रिय गीत ‘वन्दे मातरम्’को १५०औं वर्षगाँठलाई विशेष महत्व दिइएको छ। समारोहमा पहिलोपटक लालकिल्लाबाट ‘वन्दे मातरम्’ सामूहिक रूपमा प्रस्तुत गरिनेछ। साथै ‘विकसित भारत–२०४७’ निर्माणमा युवाशक्तिको भूमिकालाई समेत प्रमुखताका साथ प्रस्तुत गरिनेछ।
समारोहमा भारतीय सेना, नौसेना, वायुसेना र दिल्ली प्रहरीका सुरक्षाकर्मीले गार्ड अफ अनर प्रस्तुत गर्नेछन्। झण्डोत्तोलनका क्रममा २१ तोपको सलामी दिइने कार्यक्रम छ।
समारोहमा सेना, नौसेना र वायुसेनाका करिब २ हजार ५ सय छात्रछात्रा तथा ‘माइ भारत’का स्वयंसेवक सहभागी हुनेछन्। उनीहरूले ज्ञानपथमा बसेर ‘वन्दे मातरम्’ शब्दको आकृति बनाउनेछन्।
यस अवसरमा विभिन्न क्षेत्रका करिब ५ हजार विशेष अतिथिलाई समेत निमन्त्रणा गरिएको छ। महिला उद्यमी, सरसफाइ कर्मचारी, सडक व्यापारी, युवा नवप्रवर्तक, वैज्ञानिक, स्टार्टअप संस्थापक, कलाकार, किसान, विद्यार्थी तथा सरकारी योजनाका लाभग्राही समारोहमा सहभागी हुनेछन्।
