
नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा एउटा बस र इभी भ्यान भिरबाट खस्दा काभ्रेपलाञ्चोकको बनेपा ८ बस्ने वर्ष ५४ की कृष्णमाया प्रजापती डंगोल र रामेछाम ठाडादेवी २ बस्ने वर्ष ६५ की उदयमाया खत्रीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार टोखा–छहरे सडकखण्डमा काठमाडौं–दुप्चेश्वरतर्फ जाँदै गरेको बा.प्र०८–१ ख ००५२ नम्बरको बस र बा.प्र.०३–००१ ज ११७६ नम्बरको खाली इभी भ्यान खस्दा काभ्रेका ३ सहित ५ जना घाइते भएका छन् ।
सर्लाही लालबन्दी नगरपालिका–९ घर भई हाल काठमाडौं काडाँघारी बस्ने २५ वर्षीया सुजाता पोखरेल, काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–१० की ४२ वर्षीया शर्मिला श्रेष्ठ र दोलखा मैलुङ गाउँपालिका–६ घर भई हाल काठमाडौं काडाँघारी बस्ने ६० वर्षीया जानु श्रेष्ठको अवस्था मध्यम छ ।
खाजा÷खानका लागि सडक छेउमा रोकेको बस आफैं गुडेर भ्यानलाई ठक्कर दिंदा दुर्घटना भएको हो । बसको ठक्करपछि बस र भ्यान सडकबाट करिब ३०–४० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
घाइतेहरूको स्थानीय प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार गरी उपचारका लागि काठमाडौंस्थित ग्रिनसिटी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
