
जुक्ति
लता के.सी.
जलचरको बस्ती नजिकैको एक कुवामा एकाएक कोलाहल मच्चियो । त्यहाँ केही भ्यागुता ट्यारट्यार गर्दै थिए। युवा भ्यागुता जोडसित कराउँदै थिए ,”यी जन्मजात शत्रुलाई नाश गर्नैपर्छ ।”
आफ्नो वंशजलाई आँखा लगाउन पल्केका साँपहरूलाई खेद्न तत्काल उनीहरूले एकता देखाए र भएभरको बल-बुद्धि लगाउन थाले ।
चेपागाडाहरूले मायालु स्वरमा भने, “हामी सधैँ रोएर बस्नुपर्ने भयो !”
आफ्ना सन्तानको माया सबैलाई थियो । सखाप हुन सक्ने कुराले तन्नेरी, बुढासुढा भ्यागुता सबै चिन्तित थिए । उनीहरुले अनेकन उपाय सोचे र अल्लि परको बस्तीमा गएर न्याउरी काकालाई आफ्ना पीडा सुनाए । तत्कालै कुवाको वरिपरि न्याउरीहरूले घेरा हालेर बसेको देखियो ।
यो देखेर साँपहरु आत्तिए । जुक्ति खोज्न भनेर उनीहरू वनबिरालो कहाँ पुगे। बिन्ति बिसाउँदै थिए । वन बिरालोले सुझायो, “एकपछि अर्को शक्तिको खोजी गर्नुभन्दा बरू सबैले महाआश्चर्यको काम गरौँ ।”
बूढो साँपले चिन्तित भावमा सोध्यो,”कस्तो काम , कसरी गर्ने ?”
वनबिरालोले सम्झायो “सहअस्तित्वको लागि मेलमिलाप !”








