
काठमाडौं । काठमाडौं महानगरपालिका–१८ ले तपिंताँ पार्कमा महानगरपालिकाका संस्थापक प्रमुख स्वर्गीय प्रेमलाल सिंह (पीएल सिंह) को प्रतिमा स्थापना गरेको छ ।
शनिबार आयोजित कार्यक्रममा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले प्रतिमाको अनावरण गरेकी हुन् । प्रतिमा अनावरणपछि कार्यवाहक प्रमुख डंगोलले स्वर्गीय सिंहले नागरिकलाई केन्द्रमा राखेर सेवा गर्ने संस्कारको विकास गरेको बताइन् । उनले सिंहले अघि सारेका योजना र सोच आज पनि महानगरपालिकाको काममा मार्गदर्शक बनेको उल्लेख गरे ।
वडा अध्यक्ष न्हुच्छेकाजी महर्जनले स्वर्गीय सिंहले लोकतन्त्र, स्थानीय स्वायत्तता र काठमाडौंको विकासका लागि पुर्याएको योगदान अविस्मरणीय रहेको बताए । उनले स्वच्छ, सफा र हराभरा काठमाडौंको अवधारणालाई वडा कार्यालयले निरन्तर अघि बढाइरहेको जानकारी दिए ।
करिब ९ लाख ३८ हजार रुपैयाँ लागतमा निर्माण गरिएको धातुको प्रतिमा मूर्तिकार श्याम तुलाधरले तयार गरेका हुन् । वडा–१८ ले यसअघि पनि विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरूको प्रतिमा स्थापना गर्दै आएको जनाएको छ ।

