
समीक्षा
प्रवासिएका नेपाली युवाहरुको आफ्नै कथा : निरजोया
प्रदीप सापकोटा
डायस्पोरिक साहित्यमा आफ्नै स्थान जमाएका दाजु गुरुङको दुई कथा सङ्ग्रहले सिद्धहस्त आख्यानकारको दर्जामा लामवद्ध हुन आइपुगेका उनको ‘निरजोया’ पहिलो उपन्यास हो ।
जहाँ उनी रहन्छन् त्यहींका स्थान र परिवेशले उनलाई कथानकता प्रदान गर्छ । अनि पात्रहरु पनि त्यहींबाट टपक्कै टिप्छन् । यो मात्र होइन ‘यो मन त मेरो नेपाली हो’ भन्ने बोलको गीतको सार्थकतामा आख्यान बुन्छन् । जहाँ रहेपनि नेपालीपन उनमा स्पष्ट देखिन्छ । नेपाली मन र नेपाली भावमा शब्दहरु खेलाउँछन् । प्रवासमा बसेर त्यहीँका विविध सन्दर्भहरुमा आफु डुबेर लेख्ने जुन दुस्साहस गरेका छन् यो सम्मानयोग्य काम हो ।
उपन्यासको अन्र्तवस्तु प्रवासीको कथा हो । प्रवासका जटिलपूर्ण जीवन संघर्षको ब्यथा हो निरजोया । प्रवासको सिंगो चित्र हो यो । दुई दशकजति अगाडिबाट कथा अघि बढेको छ । एउटा युवा विवश छ विदेशि लाचार छ ,परदेशी बन्न बाध्य । गरिव पनि थिएन । तर बुबा आमाको पनि दवाव छ ज्यान जोखिम देख्छन् छोराको द्धन्दमा फस्ने हो कि भनेर । मलेसियामा जे भएपनि छोरो सुरक्षित हुने आश छ उनको । उसका सामु धेरै चूनौतिका पहाड खडा छन् । बुढाबुढी बाआमालाई सुखसँग पाल्ने सपना छ । अनि भोलीको उसका जिन्दगीका अनेकौं सपना पुरा गर्नु छ । यी सबैले उसलाई खेदाउँछन प्रबाशिन बाध्य पार्छन् ।
उपन्यासको मूल पात्र निरोज । नेपालको पूर्वी भागको ठिटो । धेरै गरिवी पनि थिएन ।अभावको घाउ पनि लागेको थिएन । तर पनि देशमा दन्कँदो थियो सशस्त्र द्धन्द्धको आगो । दिनहुँ मानिस मारिएका खवर आउँथे अथवा आफ्नै आँखावरिपरि पनि त्यस्तै भयावह परिवेश बेहोरेको थियो उसले । उपन्यासकारले उतिवेलाको दशबर्षे जनयुद्धताकाका हाम्रा गाउँघरहरुको हविगत र त्रासद अवस्थाको यथार्थतालाई यहाँ सत्यापन गरेका छन् । उमेर पुगेका स्कूले केटाहरुलाई जवरजस्ती द्धन्दमा बन्दुक बोकेर सहभागी हुन गरेका उर्दी उसले पनि सुनेको थियो । त्यसैले जंगल जानुपर्ने मनोवैज्ञानिक त्रासमा थियो उ । उसका बाबु पनि लाहुरे थिए । निरोजलाई जस्तै डर उनलाई पनि नभएको कहाँ हो र⁄ यस्तै परिस्थितिमै निरोजको विहा भैसकेको थियो । निरोज पढाइमा पनि कमजोरै थियो,अझै भनुँ उसको पढाइ रुचीको विषय थिएन । उ अल्लारे माहिला न हो । यस्तै परिस्थितिहरुले उसलाई बाध्य बनाए प्रवासिन ।
विदेश आफ्नो ठाउँ जस्तो कहाँ हुनु । त्यहाँपनि उसले अनेकौं हण्डर ठक्करहरु बेहोर्न पर्छ । उसमाथि मलेसियाको भूमी विशेषत नेपालीहरु शारीरिक श्रम गर्न त्यहाँ जान्छन् । यस उपन्यास निरोजले त्यहाँ खाएका दुःख,कष्ट र हण्डरहरुबाट अघि बढ्छ । उपन्यासमा निरोज एक प्रतिनिधिमूलक पात्रको रुपमा देखिन्छ । उबाट विदेशिएका नेपालीको अबस्था चित्रण गराएका छन् गुरुङले । अझै यसमा मलेशियामा प्रशासनले दिएका विभिन्न अमानवीय यातना भनौ नारकीय जीवन जीउन बाध्य प्रवासीहरुको पीडालाई छर्लग पारिएको छ यहाँ ।
निरोजसँगै जोया अर्की मूख्य पात्र हुन् । यी दुईको प्रेमको अनुपम कथा पनि छ यहाँ । दुई युवा युवतीबिचमा भएका मायाप्रेमको प्रणय कथा छ । यस्तो प्रेम जुन भाषा,धर्म,भूगोल फरक फरक हुँदापनि अंकुराएको थियो । र सँगै दीगो नभइ धोका पाएर वियोगान्तक बनेको कथा पनि पढ्न सकिन्छ निरजोयामा । हिन्दु संस्कार र परिवारमा जन्मेहुर्केको निरोज र मलेशियन मुस्लिम परिवारकी जोया बीचको सहबसाई छ यसमा ।
प्रवासको जिन्दगी यहाँ सोचेजस्तो छ ? सुनेजस्तै छ ? कि यथार्थमा फरक छ ? यो जानकारी लिन निरजोया पढ्नै पर्दछ । हामीले सुन्दै आएका छौं । समाचार हेर्दै आएकै हौं कि मलेशियामा काम गर्न गएको मान्छे वेपत्ता भयो रे । मृत भेटियो रे । यस्तै यस्तै । यी कुरा सुनेका हामीलाई निरजोया पढेपछि मथिंगल हल्लाउँछ । हेर्दा कतै नियात्राको झल्को दिने उपन्यासले मलेसियाका विभिन्न स्थानको हामीलाई सयर पनि गराउँछ । घर परिवार छोडेर प्रवासमा साथी बनाएर रम्नेहरुको दुर्दशाले प्रवासिएका हाम्रा नेपालीलाई सजग गराउँछ,सचेत गराउँछ यस अर्थमा सन्देशप्रदायक छ उपन्यासको सार । हिन्दु पुरुष र मुष्लिम केटीको प्रेम प्रसँगले उपन्यासमा महत्व पाएको छ । विवाहित केटोले आफ्नो अर्धागिनी जसमाया भुलेको छ । चारबर्ष जति उ जोयााको मायाको गोलचक्करमा फस्छ उत्रन नसक्ने गरी । उसैकै घरमा उसकै मर्जि मुताविक चल्छ मानौं उ जोयाको गुडिया हो । भौतिक आवश्यकताका सब चीज उसका निम्ति जोयाकहाँ उपलब्ध छन् ।
आत्मपरक शैलीको उपन्यासमा प्रवासको गैह्र कानूनी बसाइ र मलेसियाको जेलमा कैदीहरुको कठीनतम दैनिकी,अमानबीय र क्रुर यातनाको चित्र बनेको निरजोया । बैदेशिक रोजगारीका आम अबस्थाको उपन्यासले सत्यापन गरेको छ । जेलभित्रको अत्यन्तै दर्दनाक अबस्थामा पिल्सिएको बेला इन्डियन मूलका मले पंजावी जेलर मनजित सिंहको हिन्दु धर्मको मोह,पशुपतिको महिमा र हिन्दि भाषामा कुराकानीले पनि उपन्यासमा स्थान पाएको छ । जेलरले निरोज लगायत नेपाली कैदी जीबन भोग्नेहरुलाई स्वदेश फर्काइदिने आश्वासनले जेल जीबन जिउन बाध्य नेपालीहरुको मनमा अलिकति आशावादीताको सञ्चार जागृत गराइदिएको छ । यहि क्रममा निरोज नेपाल फर्किन्छ । आफ्नो दोजिया भएकी श्रीमती छोडेर प्रवासिएको उ सारमा यो बैदेशिक रोजगारीमा जानेहरुका अनुभव र अनुभूतिहरुको दर्दनाक कहानी हो ।
उपन्यासकारले पात्रहरुलाई न्याय गरेका छन् । सकारात्मक भावको डम्बर दाइ,मनकुमार सोल्टी,काइँला लगायतका चरित्रहरु पटक पटक उपन्यासमा भूमिकामा देखिन्छन् । यस्तै यदाकदा गुरुङ,राई भाइ,शम्भु तामाङ,मिलन,डिकबहादुर जस्ता पात्रहरु छन् ।
मले भाषाहरुको यदाकदा प्रयुक्ति,उपन्यासमा नवीनताको छाँट,पात्रहरुको चरित्रमा न्याय गर्न सकेका छन् । बास्तवमै हङ्कङमा बसेर मलेसियाका प्रवासीको चित्र उतार्नु निक्कै कठिन कार्य हो । यही कठीन कार्यमा सफलता हासिल गरेका छन् दाजुले । मुस्लिम समाजमा नारीको अबस्थाको सजिव चित्र कोरिएको छ । हरकोइ लेखक सम्पूर्णता होइन । केही कमीकमजोरी पनि यसमा परेका छन् । एउटै वाक्याँश दोहोरिनु,यदाकदा भाषिक त्रुटीहरु पाइनु जस्ता सामान्य कमजोरी उपन्यासमा देखिएका छन् । ब्याकरणीय त्रुटी पनि कतै पाइन्छन् । यस्तै केही अप्रासाँगिक कुराहरु पनि यसमा छन् । तर उठान गर्न खोजिएको र चित्रण गरिएका प्रवासीका घट्नाहरु उच्च कोटीका छन् । कल्पनशीलतामा समेत सुन्दर ढंगले विचरण गरिएको भएपनि नेपालबाट यो वा उ नाउँमा बैदेशिक रोजगारका सिलसिलामा खाडी मूलुक र मलेशियामा जानेहरुको यथार्थता ऐना जस्तै आएको छ ।
प्रवासका जिन्दगीका सकसहरु,त्यहाँका परिवेश र भूगोल,प्रवासका दुखहरुमा पाएका मानसिक रुग्णता, मनोदशा,अभिसप्त जीवन,समग्र प्रवासीका भोगाइका अभिव्यञ्जनामा घुमेको उपन्यास त्रासदीय तत्वले भरिएको छ । यसले वैदेशिक रोजगारीमा जानेहरुकोलाई खवरदारी गर्छ,सावधान गराउँछ । यस उपन्यासको केन्द्रिय सन्देश पनि यहि हो । सकारात्मक सोद्देश्य छाएको छ यसमा । परिवेश,घट्ना र परिस्थितिको भुक्तभोगी पात्रलाई केन्द्रमा राखी उ मार्फत प्रवासको अवस्था चित्रण गराउन सक्नु उपन्यासकारको खुबी देखिन्छ । यहाँ जोया मार्फत नारीहरुको भाव पनि छुवाइएको छ । यौन चाहको उत्कट युवाहरुको मनोदशा पनि दर्शाइएको छ । विदेशमा सजिलो छ्रैन् गरिखान भन्ने सन्देश पनि उपन्यासले दिन्छ ।
सारमा भनौं प्रवासिएकाहरुको युगीन पीडा,दुख,व्यथा र वेदना,त्यहाँको दैनिकीको विभीषिका र नियतिलाई छर्ल· पार्न दाइ गुरुङ सफल भएका छन् । छरितो र नयाँ शैलीको उपन्यास बान्की परेको छ । फिनिक्स बुक्सले यो कृति प्रकाशित गरेको हो । कृतिको लागि दाजु गुरुङलाई हार्दिक बधाइ ।
