
निबन्ध
प्रकृति : सौन्दर्यदेखि विनाशसम्म
प्रदीप सापकोटा
विहानीको पहिलो किरणसंगै जब चरीहरुले आफ्नो सुरिलो कण्ठ खोल्छन् तब लाग्छ धर्तीले भर्खरै निन्द्राबाट ब्यूँझिएर कुनै मधुर स्वरमा गुनगुनाइरहेकी छिन् । तिनको त्यो चिरविर चिरविर आवाज केवल ध्वनि मात्र होइन बरु त्यो त मानव जातीमाथि ठूलो आर्शिवाद हो । जसले हाम्रा मनका सारा बोझ र पीडाहरु भूलेर अझ भनुँम बिसाएर प्रकृतिसंग रम्न सिकाउँछ । यो मान्छेलाई फ्रेस गराउने अदभूत औषधी हो । चरीको चिरविरले शान्त बिहानीलाई पनि जीवन्त बनाउँछ ।मान्छेको मस्तिष्कलाई पनि तरोताजा राख्छ ।
बास्तवमा प्रकृति सृष्टिको अनुपम उपहार हो । यो कुनै साहित्यकारले कोरेको कविता होइन । कुनै चित्रकारले क्यान्भासमा कोरेको चित्र त हुँदै होइन । यो त प्राणी जातिको लागि सृष्टिले रचिदिएको अनमोल कृति हो । गजब लाग्छ प्रकृतिका चिजविजहरुले हामीलाई छर्ने सन्देश देखेर । आँखाले हेर्ने सौन्दर्यमात्र त हुँदै होइन नि प्रकृति । यसले त हामीलाई धैर्य,क्षमाशिल,सहअस्तित्वको पाठ पनि पढाउँछ । जस्तो कुनैपनि बृक्षमा फल लागेपछि नुहुन सिकाउँछ । नदी आफ्नै गतिमा अविराम बग्छ, सिकाउँछ -अविरल बग प्रगति पथमा । हिमाल दृढ बनेर उभिएको छ हाम्रो अघिल्तिर । उसका दन्तलहरको मुस्कानले भन्छ -जस्तै कठीन परिवेशमा पनि नडगमगाउ । मजस्तै अटल बन । अनि हेर त मान्छे, फूल कसरी मुस्कुराएर फुलिरहेछ । यो मुस्कानले सुगन्ध बाँड्न सिकाउँछ ।
पहाडको कन्दराबाट झरेर कलकल बग्ने खोला आफ्ना मार्गमा रहेका ढुंगाहरुमा ठोक्किँदै,जुध्दै निस्केर सुमुधुर कलकल आवाज दिएर बग्छन् । यस्तो लाग्छ यो धर्तीको मुटुको धड्कन हो । खोलाको सफा निश्चछल पानीमा घामको किरण ठोकिँदा लाग्छ यो चाँदी हो । यसले हामीलाई उर्जा दिन्छ । मनमा शीतलता भर्छ । यसको कलकल ध्वनिले जहिल्यै मान्छेलाई उत्प्रेरित गरिरहेको हुन्छ । भने जस्तो लाग्छ- ए मान्छे जतिसुकै अप्ठ्यारो परेपनि,जति विध्नवाधा परेपनि बाटो बनाउँदै अघि बढिरहु है ।
चारैतिर फैलिएर ढकमक्क फुलेका ती सुन्दर फूलहरु र तिनको सुवासना । त्यो गाढा मनमोहक हरियाली हेरिरहुँ हेरिरहुँ लाग्छ । थाक्दैनन् आँखाहरु । अघाउँदैन मन । जसै त्यो हरियो मुलायम गलैँचामाथि जब ती रंगीबिरंगी फूलहरु मुस्कुराउँछन् तब लाग्छ मलाई प्रकृतिले आफ्ना सारा रंगहरु घोलेर पोखिदिएकी छिन् । हावाको प्रवाहमा झुम्मिने फूलहरु आफ्नो सुगन्धित बास्ना छोडिरहेका छन् । मान्छे यो वातावरणमा मन्त्रमुग्ध नहुने कुरै भएन ।
हरियाली भन्नु नै प्रकृतिको अस्तित्व हो । विशाल चित्रपट हो जसले समय परिवर्तनका पलसंगै अनेक ऋतुका कुचीहरुले पनि फेरिएका रंगहरु पोख्छन् कुशल चित्रकारले चित्र कोरेजस्तै । आफु कार्बनको कठीन भारी बोक्छन् र हामीलाई बाँच्न शुद्ध अक्सिजन प्रवाह गर्छन् । गजब छैन् त ? वनस्पतिका चिल्ला पातहरुका सरसराहटका अर्कै संगीत श्रवण गर्न पाइन्छ । त्यसमा चरीहरुको चिरविराहट थपिएपछि आहा ! पहाड र तिनका काखमा झुलेर झाँगिएको छ बनजंगल । जसले रोक्न सक्ने क्षमता राख्छ विभिन्न प्रलयहरु । छेक्न सक्छ खडेरी ।
कति निकृष्ट छ मान्छे ! यति सुन्दर रेशमी गलैँचा फैलाएर बसेको प्रकृतिलाई विनास गर्न उद्दत छ सधैं । हरियो चित्रपटलाई काला धब्बाले पोत्नमात्र होइन, सिध्याउन लागिपर्छ सधैं । यस्तो असीम मादकता र सौन्दर्यबीचमा उभिएको प्रकृतिको विनाशको कथा अत्यन्तै ह्रदयविदारक बनाएर लेख्छ मान्छे । जथाभावी दोहन गर्दा प्रकृतिमाथि अनावश्यक बोझ बन्छ मान्छे । नदीको कलकल सुसेलीमा फोहोर मिसाईदिन्छ । कुरुप बनाईदिन्छ हरियो बन । कञ्चन नीलो आकाशमाथि कलकारखाबाट विर्सजित फोहोर धुँवा पोतेर प्रदुषित पारिदिन्छ मान्छे ।
जीवन कति सुन्दर छ प्रकृति हेरेर थाहा पाइन्छ । प्रकृतिको सादृश्य हेर्दा लाग्छ जादुई छ यहाँ । हामी पनि त प्रकृतिकै अंश हौं ।सोची हेर्नुस त यो प्रकृतिको यति सुन्दर छटा नहुँदो हो त मानिसको मन पनि कति उजाड हुँदो हो खडेरी जस्तै,कति सुख्खा हुँदो हो मरुभूमि जस्तै। प्रकृति जस्तै उदार बन्न सक्नु पर्नेमा मान्छे किन अनुदार भएको होला । अहंकारी भएको होला अनि यति विध्न कृतघ्न भएको होला । आफुलाई प्राण भर्नेलाई सकाउँन लाग्छ मान्छे । क्षणिक आनन्द र आत्मसन्तुष्टिको लागि मरिहत्ये गर्छ मान्छे ।
प्रकृतिलाई हेर त कृतध्न मान्छे साना साना बोटहरु पनि लहलह खुशीहरु लहराएर बाँचीरहेका छन् । हामी त मान्छे किन साना साना खुशीहरु जतन गरेर रम्न सक्दैनौँ ।
प्रकृतिको काखमा हुर्किएको मानव सभ्यताले जतिसुकै आधुनिकताको चोली फेरे पनि भित्री मनले सधैं प्रकृतिको शीतल छहारी नै खोजिरहेको हुन्छ। प्रकृति केवल रूख, बोटबिरुवा, खोलानाला वा पहाडहरूको समूह मात्र होइन, यो त एउटा जीवन्त काव्य हो, जसको प्रत्येक स्थान विशेष सौन्दर्य र मादकताका अनगिन्ती कथाहरू कुँदिएका हुन्छन्।फिंजिएका हुन्छन् । पढ्न जान्नुपर्दछ । नयनले नियाल्न सक्नुपर्दछ र अर्थ लगाउने सामथ्र्य राख्नुपर्दछ ।
प्रकृतिको मादकतामा जादू हुन्छ,त्यो जादुमा को नलठ्ठिएला र । बिहान झुल्किने सूर्यको पहिलो किरण जब हिमालको शिरमा ठोक्किएर सुनौलो चमक छर्छ नि आहा ! त्यो अनुपम पलको दृश्यमा यस्तो एउटा आकर्षण हुन्छ कि मेरो त थकित मनलाई तत्कालै तरोताजा बनाइदिन्छ।
हरियालीले भरिएका जङ्गलहरू, चराचुरुङ्गीको कलकल आवाज र कलकल बग्ने खोलाको सुसेलीले मनमा एक प्रकारको आनन्दको तरंग पैदा गर्छ, जसलाई शब्दमा वर्णन गर्न साँच्चै गाह्रो छ।यसो हेर्छु, आफु अगाडिको डाँडाहरु कुहिरोको सेताम्ये पछ्यौरा ओढेका छन् । विहानी पल घामका कोमल किरणहरु बनस्पतिका पातपातमा झुण्डिएका शीतका मोती झै टल्कन्छन् ।
वर्षायामको प्रकृति झन् बढी मदहोश गर्ने खालको हुन्छ। सिमसिम पानी परेको बेला माटोबाट आउने त्यो सुगन्धले मानिसको अन्तरमनलाई छुन्छ। वनपाखामा फुल्ने रङ्गीचङ्गी फूलहरू, बादलका टुक्राहरू पहाडको काखमा लुकामारी खेलेको दृश्य र हरियो वनको शान्त मौनताले मानिसलाई आफ्नै अस्तित्वको गहिराइमा पुर्याउँछ। यहाँ न त कुनै होहल्ला हुन्छ, न त कुनै कपट। प्रकृति केवल ‘हो’ र ‘भइरहनु’को एउटा अजम्बरी प्रवाह हो।
प्रकृतिको यो मादकताले मानिसलाई सधैं आत्मिक शान्ति प्रदान गर्दछ। जब मानिस सहरी कोलाहल र मेसिनरी जीवनको जन्जालमा पिल्सिएर थकित हुन्छ, तब उसलाई प्रकृतिको काख नै सबैभन्दा सुरक्षित ओत लाग्ने ठाउँ लाग्छ। हिमालको शितलता, तराईको उर्वरता र पहाडको कान्लामा बस्दाको अनुभूतिका अगाडि विश्वका सबै वैभवहरू फिक्का लाग्छन्। प्रकृतिको यो मादकतामा मानिसले आफूलाई बिर्सिन्छ र एक प्रकारको अद्वैत आनन्दमा डुब्छ।लाग्छ प्रकृति नै मान्छेको जीवनको आधार हो । मान्छेको जीवनशैलीमा परिवर्तन ल्याउने शक्ति प्रकृतिमै छ । मान्छे जैविक र भौतिक रुपमै प्रकृतिमा निर्भर छ । यसैले भन्न सकिन्छ,प्रकृतिको रक्षा गर्दा मानव जातिकै भविष्य सुरक्षित हुन्छ ।
निष्कर्षमा भन्नुपर्दा, प्रकृतिको मादकता एक अनन्त संगीत हो,जसलाई सुन्न केवल कान होइन, हृदयको आवश्यकता पर्दछ। प्रकृतिसँगको यो सामीप्यले नै हामीलाई मानिस भएर बाँच्ने सार्थकता सिकाउँछ। यो केवल रमाइलो गर्ने ठाउँ मात्र होइन, बरु यो त हाम्रो अस्तित्वको आधार हो। यदि हामीले प्रकृतिको यो मादकतालाई जोगाइराख्न सक्यौं भने मात्र हाम्रो भावी पुस्ताले यो सुन्दर धर्तीमा सास फेर्न पाउनेछन्। प्रकृतिसँगको प्रेम नै जीवनको सबभन्दा ठूलो मादकता र सत्य हो।
जव नदीको प्रभाव रोकिन थाल्छ,हरिया बनजंगल विनाश हुन थाल्छ, जब चाँदीझैँ टल्कने हिमाल कालाम्मे देखिन्छ यी सबै प्रकृतिको सौन्दर्यको हरण मात्र होइन। यो त मानव सभ्यताको विनाशको थालनी पनि हो ।खतै खत छन् पहाडहरु स्वार्थी मान्छेले कोतरेका । सभ्य भनाउँदो सहरमा प्लाष्टिकको झोला बोक्दा गर्व गर्छन् मान्छे । अग्ला आलिशान महल बनाएर प्रगतिको धक्कु लाउँछ पैसा कमाएको मान्छे । हावा त वर्जित छ,धुवाँ र धूलोले प्रदुषित पार्दिन्छ । नदी त सभ्यताको परिचयक भन्थे,पानी निर्वाध बग्न छोडीसक्यो नाली मिलाएर । पानीको लेयर घटेर गैसक्यो वर्षातको पानी सिधै ढल हुँदै नदीमा पुग्नाले । कुहिरो देख्न मुस्किल छ, न बिहानीमा शीत नै टल्कन्छ । ठाँटो जम्ने ठाउँ नै छैन् । तातेको छ धर्ती पुरै ।
प्रकृति छ र त मान्छे छौँ । जीवजगत छ । चराचुरुङ्गी छन् । प्रकृतिको अस्तित्वलाई मान्छेले आफ्नो अस्तित्वसँग जोडेर हेर्न नजानेको किन होला ?सहअस्तित्व किन नबुझेको होला ? आफु सुखी हुने नाउँमा भोलीको संकट किन नसम्झेको होला ? अक्सिजनको हत्यारा नि मान्छे, प्रकृतिको मालिक नै हुँ भन्ठान्छ । यसैले मान्छे,तिमीले बुझ्नुपर्छ, ‘प्रकृति रहेमात्र म रहन्छु।’
