
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हुने सम्भावित कुनै पनि सम्झौतामा होर्मुज जलडमरूमध्यमा जहाज सञ्चालन वा समुद्री गतिविधिमाथि शुल्क लगाउने व्यवस्था समावेश भए आफूलाई स्वीकार्य नहुने बताएका छन् ।
नाटोका महासचिव मार्ट रुटको साथमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले यस्तो शुल्कको व्यवस्था विश्वका अन्य जलडमरूमध्यहरूमा पनि लागू गर्नुपर्ने अवस्था आउने भएकाले त्यसलाई स्वीकार गर्न नसकिने बताए । उनले यस्तो कदमले वर्तमान अवस्थालाई पूर्ण रूपमा परिवर्तन गर्न सक्ने टिप्पणी गरे । इरानसँगको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको दाबी गर्दै ट्रम्पले अमेरिका हालको द्वन्द्वमा बलियो अवस्थामा रहेको बताए । उनले इरानले महत्वपूर्ण छुट दिन थालेको उल्लेख गर्दै आगामी दिनमा परिस्थितिले कस्तो मोड लिन्छ भन्ने हेर्न बाँकी रहेको बताए ।
यसअघि ह्वाइट हाउसकी प्रेस सचिवले कच्चा तेलको मूल्य घटेर प्रतिव्यारेल करिब ७० डलरमा पुगेको बताएकी थिइन् । यसबारे प्रतिक्रिया दिँदै ट्रम्पले युद्धका बीचमा पनि तेलको मूल्य घट्नु अप्रत्याशित भएको बताए। उनले इरानले सहकार्यपूर्ण व्यवहार देखाइरहेको दाबी गर्दै आफ्नो मागअनुसार अघि बढ्न बाध्य भएको टिप्पणी गरे ।
उता, इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाएइले अमेरिकी विदेश मन्त्रालयको एक सामाजिक सञ्जाल पोस्टको जवाफ दिँदै अमेरिकी हस्तक्षेप जारी रहेसम्म मध्यपूर्व क्षेत्रमा शान्ति सम्भव नरहेको बताएका छन् ।
सामाजिक सञ्जाल एक्समार्फत उनले अमेरिकी सैन्यवाद र हस्तक्षेपले क्षेत्रीय अस्थिरता बढाइरहेको आरोप लगाए । साथै, अमेरिकाको सहयोगी इजरायललाई क्षेत्रभर युद्ध, हिंसा तथा अन्य गतिविधि सञ्चालन गर्न खुला छुट दिइएको भन्दै त्यसले शान्ति स्थापना झन् कठिन बनाएको उनको भनाइ छ ।

