
काठमाडौँ । जारी फिफा फुटबल विश्वकप अन्तर्गत समूह ‘ए’ को अन्तिम खेल भोली बिहान हुदैछ । अन्तिम खेलमा मेक्सिको र चेक गणतन्त्र तथा दक्षिण कोरिया र दक्षिण अफ्रिका आमने सामने हुदैछन् । दुवै खेल नेपाली समय अनुसार भोली बिहान ६: ४५ बजेदेखि शुरु हुदैछन् ।
आयोजक राष्ट्र मेक्सिको नकआउट चरणमा पुगिसकेको छ भने दक्षिण कोरिया २ खेलमा ३ अंक हासिल गरेर दोस्रो स्थानमा छ । अर्कोतर्फ चेक गणतन्त्र र दक्षिण अफ्रिका भने अन्तिम ३२ मा स्थान बनाउन संघर्षरत छन् । दुवैको २-२ खेलमा १-१ अंक रहेको छ ।
मेक्सिकोले पछिल्लो खेलमा दक्षिण कोरियालाई १-० ले हराउँदै समूहको शीर्ष स्थान सुनिश्चित गरिसकेको छ । त्यसैले अब उसको मुख्य लक्ष्य खेलाडीलाई चोट र पहेँलो कार्डबाट जोगाउँदै नकआउट चरणका लागि तयारी गर्नु हुनेछ ।
तर चेक गणतन्त्रको अवस्था चुनौतीपूर्ण छ । दक्षिण अफ्रिकासँग बराबरी खेलेपछि उसले अघिल्लो चरण पुग्न कठिन बाटो तय गर्नुपर्ने भएको छ । मेक्सिकोका लागि घरेलु मैदान एज्टेका निकै शुभ मानिन्छ । विश्वकपमा उसले उक्त मैदानमा अहिलेसम्म कुनै खेल हारेको छैन । आठ खेलमध्ये ६ मा जित र २ मा बराबरीको नतिजा निकालेको छ । पछिल्ला तीन खेलमा लगातार जित निकाल्दै कुनै गोल पनि बेहोरेको छैन ।
चेक गणतन्त्रका मुख्य स्ट्राइकर पात्रिक शिक प्रतियोगिताअघि उत्कृष्ट लयमा थिए । उनले जर्मन लिगका अन्तिम १२ खेलमा ९ गोल गरेका थिए । तर विश्वकपमा भने उनको प्रभाव देखिएको छैन । हालसम्म उनले केवल दुई प्रहार गरेका छन् र गोल गर्न सकेका छैनन् ।
मेक्सिको विश्वकपमा लगातार तीन खेल जित्ने आफ्नो इतिहासकै उत्कृष्ट लयमा पनि पुगेको छ ।
त्यस्तै दक्षिण कोरिया अघिल्लो चरण पुग्ने बलियो अवस्थामा छ । मेक्सिकोसँगको नतिजाका कारण उसले समूह विजेता भने अंक बराबर भएमा पनि बन्न सक्दैन । दक्षिण कोरियालाई नक आउट चरणमा जान बराबरी मात्रै पर्याप्त हुनेछ । चेक गणतन्त्रले मेक्सिकोलाई हराए पनि दक्षिण अफ्रिकाविरुद्ध बराबरी खेले दक्षिण कोरियाले अघिल्लो चरणमा स्थान बनाउनेछ । तर यदि दक्षिण कोरिया पराजित भयो र चेकले मेक्सिकोलाई हरायो भने दक्षिण कोरियाको नकआउट चरणको यात्रा कठिन हुनसक्ने देखिन्छ ।
प्रतियोगिताको पहिलो खेलमा मेक्सिकोसँग हार बेहोरेपछि दक्षिण अफ्रिकाको यात्रा लगभग समाप्त भएको मानिएको थियो । तर चेक गणतन्त्रविरुद्ध दोस्रो खेलमा दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै उसले बराबरी निकाल्यो । यद्यपि अघिल्लो चरण पुग्न दक्षिण अफ्रिकाले अन्तिम खेलमा पुरै बल लगाउने छ ।
समूह ‘ए’ को सम्भावित अवस्था भन्ने हो भने मेक्सिको समूह विजेता बन्दै अघिल्लो चरणमा पुगिसकेको छ । त्यस्तै दक्षिण कोरिया बराबरी भएपनि उपविजेता हुदै दोस्रो चरणमा पुग्ने छ भने हारेमा भने जोखिममा पर्ने छ । त्यसैगरी चेक गणतन्त्रका लागि जित आवश्यक छ भने दक्षिण कोरियाको नतिजामा पनि भर पर्ने देखिन्छ । त्यस्तै दक्षिण अफ्रिकाका लागि जित अनिवार्य छ भने अर्को खेलको नतिजा पनि भर पर्नुपर्ने देखिन्छ ।
