काठमाडौं जेठ ३ गते । स्कटल्यान्डमा बसोबास गर्दै आएका नेपाली मुलका तेक्वान्दो खेलाडी सुरथ लामाले मे ३ मा सम्पन्न वल्र्ड तेक्वान्दो प्रेसिडेन्ट कप जि ३– २०२६ अन्तर्गत अन्डर–६० पुरुष विधामा टिम जीबीआरका तर्फबाट व्यक्तिगत कांस्य पदक जित्न सफल भएका छन् ।
प्रतियोगितामा पदक जितेपछि लामाले खुसी व्यक्त गर्दै भने, “प्रेसिडेन्ट कप जि ३ प्रतियोगिता निकै प्रतिष्ठित उपाधि हो र म अत्यन्त खुशी छु ।”
लामाले सन् १९८६ मा दिल्लीबाट तेक्वान्दो खेल्न सुरु गरेका थिए । नेपालमा २०१५ को भूकम्पपछि उनी जुलाई २०१५ मा बेलायत पुगेका थिए । हाल उनी स्कटल्यान्डस्थित पर्थ एण्ड किनरोस काउन्सिलमा कार्यरत रहँदै तेक्वान्दो खेललाई निरन्तरता दिइरहेका छन् ।
उनी सन् २०२२ र २०२३ मा स्कटिश नेशनल च्याम्पियन बनेका थिए भने २०२३ र २०२४ मा स्कटिश ओपन च्याम्पियन बन्न सफल भएका थिए ।
त्यसैगरी उनले २०२३, २०२४ र २०२५ मा रिजनल च्याम्पियनको उपाधि जितेका थिए भने २०२३ मा लानार्कशायर ओपन च्याम्पियन पनि बनेका थिए ।
लामाले २०२४ र २०२५ मा नटिङ्घममा आयोजित ब्रिटिश नेशनल प्रतियोगितामा पनि तेक्वान्दो पुम्से अन्डर–६० पुरुष विधामा सहभागिता जनाएका थिए ।