
चर्चामा पुस्तक
कहीँ घाम कहीँ छाया
गीतकार वीरेन्द्र पाठकका सन्तानब्बे थान गीतहरु यस सङ्ग्रहभित्र राखिएको छ । यसमा समावेश गीतहरुमा मनमोहक प्रकृतिको चित्र छ । देशप्रेमको भावना झङ्क्रित छ । प्रेमका मधुर शब्दहरु छन् । उनी मनमा प्रेमिल भाव बोकेर गीतमा व्यक्त गर्छन् । जीवनका अनेक अवयबहरुमा गीतहरु कोर्छन् । आँखाको भाषा,प्रेमका पत्रहरु गीतको माध्यमबाट पोख्छन् ।
सुन्दर छन् गीतहरु,सरल छन् शब्दहरु । बिम्बहरु पनि छन् । गीतमा मनको भाव सहजै व्यक्त गर्छन् । लयमा सजिलै लयबद्ध हुनसक्ने उनका गीतहरु दुई खण्डमा विभाजित गरेका छन्। पहिलो खण्डमा रेकर्ड भैसकेका गीतहरु राखिएका छन् भने दोस्रोमा रेकर्ड नभएका गीतहरु परेका छन् । यो सङ्ग्रलाई विमल भौकाजीले सम्पादन गरेका हुन् ।
कहीँ घाम कहीँ छायालाई प्रमिला पाठकले प्रकाशनमा ल्याएकी हुन् ।भुँडीपुराण प्रकाशन वितरक रहेको यस कृतिको मूल्य रु.३५० । रहेको छ।
न घाम न जून
पोखराका धर्मराज अल्पायूको मुक्तकसङ्ग्रहभित्र दुईसय थान मुक्तकहरु समावेश छन् । मानवीय भावनाहरुलाई मज्जैले अभिव्यक्त गरिएका मुक्तकहरुमा विकृति,विसङ्गति र वेथितिहरुप्रति कटाक्ष छ । देशप्रेम र माटोको माया दर्शाइएका भावहरु छन् ।पारीवारिक सम्बन्धमा आएका दरारहरु दुःखद रुपमा आएका छन् । पर्याप्रेम अभिव्यक्त भएका छन् ।वर्गीय माया र अधिकारका भावहरु उब्जिएर अभिव्यक्त भएका छन् । यसैले मुक्तकका विषयवस्तुमा विविधता छ ।
अनुप्रास मिलाइएका मुक्तकहरु सरल छन् । मीठा र चोटिला छन् ।
न घाम न जूनलाई दीपक पौडेलले प्रकाशनमा ल्याएका हुन् । यसकृतिको मूल्य रु.३००। रहेको छ ।
युगको तटमा उभिएर
समयको वहावसँगै आफु बग्न सक्ने कवि हुन विमल बैद्य । चालीसको दशकदेखि निरन्तर सिर्जना कर्ममा तल्लिन कविको यो सङ्ग्रहभित्र अठ्तिस थान कविताहरु समावेश गरिएका छन् ।
सबै खालका परिवेशमा बसेर पनि सिर्जना गर्न सक्ने कविको खाशियत रहेको छ । कृतिभित्र समाजको बिद्रुप चित्र उतारिएका कविताहरुको बाहुल्यता छ । आफुले भोगेको समयका तस्विरहरु बडो सुन्दर ढंगले कवितामा सजाइएको छ । के छैन् कवितामा राजनीति, समाज, देश, प्रेम,आम भुइँमान्छेका कथा व्यथा लगायतका विषयवस्तुमा कविताहरु बुनिएका छन् ।
स्थानीय भाषा,सरल र सुलोलित बहेको,सुन्दर बिम्ब र प्रतिकहरुको भरपूर प्रयोग मात्र नभएर कलात्मक सौन्दर्यलाई खिपेर सिर्जना गरिएका कविताहरु सुन्दर लाग्छन् ।
युगको तटमा उभिएरलाई पेज टर्नरले बजारमा ल्याएको हो । यसको मूल्य रु.२७५। रहेको छ ।







