काठमाडौं । अध्यागमन विभागले श्रम स्वीकृति नलिएका खेलाडीहरूको अनुगमन गर्ने पत्र पठाएपछि एन्फाले राष्ट्रिय पुरुष लिग र एन्फा महिला राष्ट्रिय लिग प्रतियोगिता स्थगित गर्नुपर्यो ।
त्यसलगत्तै राष्ट्रिय खेलकुद परिषद्ले पनि बिहीबारै एक पत्र पठाई यही चैत्र १३ गते एन्फाले गर्न लागेको अर्ली इलेक्सन स्थगित गर्न निर्देशन दिएको छ ।
खेपका संघ संस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राईद्वारा जारी पत्रमा राखेपको स्वीकृतिबेगर निर्वाचन नगर्नु भनी पटक-पटक पत्राचार गरे पनि त्यसविपरीत एन्फाले बेवास्ता र अटेर गरी पुनः थप निर्वाचन तालिका प्रकाशित गरेकोमा राखेपको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
तसर्थ, निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया स्थगित गरी त्यसको लिखित जानकारी ३ दिनभित्र राखेपलाई गराउन हुन निर्देशन दिएको छ ।
यसअघि २०७९ असार ६ गते एन्फाको निर्वाचन भएको थियो । तर, समय रहँदै एन्फाले अर्ली इलेक्सन गर्ने तयारी गरेको थियो । तर, एन्फा पदाधिकारीहरूकै मुद्दा र विभिन्न क्लबहरूको विरोधका कारण निर्वाचन तालिका तीनपटक सरिसकेको छ ।
एन्फाले यही चैत्र १३ गते झापामा निर्वाचन गर्ने तयारी गरिरहेको छ ।