
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेशमा सरकार बनाउन नसके विपक्षमा बस्ने स्पष्ट गरेका छन् ।
नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले प्रदेशमा सके सरकार बनाउने नसके विपक्षमा बस्ने स्पष्ट गरेका हुन् । उनले काँग्रेसले आफ्नो सिद्धान्त विपरित प्रदेशहरुमा सरकार निर्माणमा सहभागी नहुने बताउदै सरकार बनाउन नसके विपक्षमा बस्ने बताएका हुन् ।
उनले भने- ‘तत्कालिन सभापति शेरबहादुर देउवासँग एमालेसँग प्रदेशको सरकार बनाउने विषयमा सहमति भएका रहेछन । तर एमालेले ति सहमति पालना नगरेको पाइएपछि हामी त्यो सहमतिबाट बाहिर आयौं । एमाले, काँग्रेस र नेकपा मिलेर प्रदेशका सरकार बनाउने प्रस्ताव आएको थियो तर प्रदेशमा विपक्ष नहुने गरि बन्ने सरकार बनाउन आफुहरु लाग्दैनौं । हामीले प्रदेश सभापति र हाम्रा मुख्यमन्त्रीहरुसँग समेत बसेर छलफल गर्यौं र स्पष्ट निर्णय गरेका छौं । अब सके आफ्नै नेतृत्वमा सरकार बनाउने प्रयास गर्छौं, नसके विपक्षमा बस्छौं ।’
सभापति थापाले पार्टीलाई प्रविधि रुपमा सक्षम बनाएको भन्दै काँग्रेसका ८ लाख सदस्यसँग सोधेर उनीहरुको विचार एकैपटक लिन सकिने गरि काम गरेको जानकारी दिए । साथै उनले स्थानीय तहमा उम्मेदवार तह प्राइमेरीबाट उम्मेदवार बनाउने गरी तयारी गरिरहेको बताए ।



