
काभ्रेपलाञ्चोक । प्रगतिशील लेखक संघ,काभ्रेको आयोजनामा काभ्रेको बनेपामा कवि गोष्ठी तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा वर्तमान पुस्ताका चर्चित कवि विश्व सिग्देलले आफ्ना कविताहरु सुनाए ।
प्रलेस काभ्रेका अध्यक्ष कान्छामान लामा ‘रक्तिम’को अध्यक्षतामा भएको कार्यक्रममा प्रलेसका केन्द्रीय सदस्य तथा इन्चार्ज गोविन्द शृङ्खला प्रमुख अतिथिको रूपमा थिए।
कविता, निबन्ध र कथा तीनवटै विधामा सक्रिय सिग्देलले कार्यक्रममा चार चयनित कविता वाचन गर्दै समाजका विविध तहमा व्याप्त शोषण, असमानता र राजनीतिक विसंगतिमाथि तीक्ष्ण दृष्टि प्रस्तुत गरे। उनका कविताले प्रकृतिमा मनुष्यको बढ्दो हस्तक्षेप, वैश्वीकरणको प्रभाव र वञ्चित समुदायको पीडालाई शक्तिशाली भंगिमामा उदारोन्मुख सन्देशसहित चित्रण गरेका थिए।
उनका एकल कविता सङ्ग्रह ‘तालीको समाजशास्त्र’, संयुक्त कथा सङ्ग्रह ‘अव्सेसन’ (२०१३)र संयुक्त कविता सङ्ग्रह ‘द प्राइमर्डियल सङ अफ लभ’ (२०२४) प्रकाशित छन्। ‘बर्तमान कविता समूह’का सक्रिय सदस्य सिग्देलका केही रचनाहरू अंग्रेजी र जर्मन भाषामा अनुवाद भई अन्तर्राष्ट्रिय पाठकमा समेत पुगेका छन्।
सिग्देलले प्रलेस काभ्रेद्वारा संचालन हुँदैआएको साहित्यिक मञ्चले नयाँ पुस्ताका सक्षम स्रष्टा उजागर गर्न निर्णायक भूमिका खेलिरहेको उल्लेख गर्दै आयोजकप्रति धन्यवाद व्यक्त गरे।
प्रमुख अतिथि शृङ्खलाले साहित्य समाज रूपान्तरणको प्रेरक शक्ति भएको बताउँदै काभ्रेका स्रष्टाहरू प्रगतिशील सोचसहित सिर्जनामा उचाइ हासिल गरिरहेकोमा खुशी व्यक्त गरे।
“यस्ता मञ्चहरूले स्रष्टालाई अनुशासन, प्रेरणा र निरन्तर सिर्जनाशीलता प्रदान गर्छन्,” उनले भने। शृङ्खलाले कवि सिग्देलका कृतिहरू समकालीन नेपाली साहित्यमा विशिष्ट स्थान कायम गर्न सक्ने विश्वास व्यक्त गरे।
कार्यक्रम प्रलेस काभ्रेका सचिव दिनेशराज खरेलले सञ्चालन गरेका थिए।
समारोहमा रमी प्रिया, चन्द्रबहादुर लामा, केशवराज पौडेल, सञ्जय सुमन, डी.पी.आत्रेय, बलराम विष्ट, सौगत घिमिरे, शशीश्री आचार्य, हरिप्रसाद चौलागाईं, रामसुन्दर देउजा, केशव घिमिरे, सुशिला विष्ट, श्रीकृष्ण पाण्डे, मुरहरि रायामाझी, रक्तिम लामा र शुभद्रा अधिकारीलगायतका स्रष्टाहरूले कविता वाचन गरेका थिए।






