
भोजपुर । पूर्वीपहाडी जिल्ला भोजपुरको ऐतिहासिक टक्सार बजार अहिले संरक्षणको पखाईमा पुगेको छ । ऐतिहासिक कलामा पोख्त कालिगढहरु समेत पलालन भएपछि पूर्वमा नै नाम चलेको टक्सार बजार अहिले नाममा मात्र सिमित बन्ने तरखरमा छ ।
भोजपुर नगरपालिकाको वडा नम्वर १२ मा रहेको टक्सार बजारलाई चिनाउन महोत्सवलगायतका विभिन्न कार्यक्रमको आयोजना भएपनि सो पश्चात पनि टक्सार बजारको अवस्था उस्तै छ । टक्सारमा रहेका धार्मिक तथा साँस्कृतिक सम्पदाको संरक्षण, सम्वर्धन अहिले जरूरी रहेको स्थानीय व्यवसायीको भनाइ छ ।
टक्सार बजारबाट सवै बिस्थापित भएकाले पनि यसको साख जोगाउन नसकिएको टक्सारका स्थानिय घमचन्द्र दाहाल बताउँछन । उनी भन्छन, ‘टक्सारका बासिन्दाहरु स्थानीय उद्योग व्यवसाय संचालन हुन छाडेपछि पुराना घर, खेतबारी छाडेर सुबिधायुक्त ठाउँतिर बसाई गएकाले ऐतिहासिक बजारको महत्व घटदै गएको छ । बि.सं १८७२ मा राजा गीर्वाणयुद्धबिक्रम शाहको पालामा टक्सार खानीअड्डा स्थापना भएपछि बजारकोरुपमा बस्ती बिकास भएको हो ।
स्थानीय बासिन्दाका अनुसार बि.सं १८७० सालदेखि तत्कालिन नेपाल सरकारले भोजपुर, खोटाङ, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, संखुवासभा, धनकुटा, तेह्रथुम, ताप्लेजुङ, इलाममा सुन, तामा, सिसा, पित्तल र फलामखानी उत्खनन् गर्न थालेपछि टक्सारमा खानीअड्डा स्थापना भएको हो ।
यहाँ पाटनबाट ल्याइएका कालिगढद्वारा फलाम र तामाको डोली पैसा बनाइन्थ्यो । पैसा छाप्ने पहिलो कालिगढ देवदत्त शाक्य हुन् । टक्सारमा टक छाप्ने पेशामा शाक्यबंशले लामो समयसम्म योगदान गरेका थिए । एक तोला र दुई तोला तौल भएको उक्त पैसा राणाकालसम्म चलेको यसोधरा माध्यामिक बिद्यालय टक्सारका पूर्व प्रधानाध्यापक गणेश बज्राचार्यको भनाई रहेको छ । टक छाप्नको लागि पाटनबाट कालिगढ ल्याइएका थिए । त्यतिबेला निर्मित दुई दर्जन मठमन्दिर, गुम्बा, चैत्य, बौद्धबिहार, धारा, पाटी पौवा, हस्तकला र मूर्तिकला संरक्षण र पुन निर्माणको पर्खाइमा छन ।

टक्सारमा निर्मित करुवा, तामाको भाँडा, गाग्रो, काँसको थाल, लोटा, आमखोरा, अन्टी, ग्लास, कचौरा, डबका नेपाल भित्र मात्र नभएर बिदेशमा समेत प्रसिद्ध रहेको छ । तर यतिबेला यहाँबाट अधिकांस कालिगढहरु पलायन भइसकेका छन् ।
ऐतिहासिक कलामा पोख्त कालिगढहरु पलायन भएपछि मूर्तिकला र हस्तकलाको उद्योग पनि लोप हुन लागेको छ । हिजो आज दुई तीन घरले मात्र यो पेशालाई निरन्तरता दिएको स्थानिय सानुकाजी शाक्यले बताए । कच्चा पदार्थको अभावमा धातु उद्योग फस्टाउन सकेको छैन ।
स्थानीय स्तरमा खानी संचालन नभएकाले तराईबाट आवश्यक कच्चा पदार्थहरु र कोइला ढुवानी गर्दा महगो समेत हुने भएकाले पनि टक्सारबाट कालिगढहरुको बिस्थापन हुने क्रम बढेको छ । टक्सारलाई पहिलाकै अवस्थामा नै फर्काउन राजनीतिक दल, नागरिक समाज र सरकारले टक्सारमा संचालित कला उद्योगको बिकासको लागि छुट्टै व्यवस्था गर्नुपर्ने स्थानियहरुले माग गरेका छन ।टक्सारमा ७५ प्रतिशत बजारबासीले आफनो ठूलठूला घर खेतबारी छाडेर अन्यत्र गइसकेका छन् ।टक्सारमै रहेको घरेलु तथा साना उद्योग विकास कार्यालयले बिगतमा दर्ता भएका धातु उद्योगहरु अहिले केही मात्रमा संचालनमा रहेको जनाएको छ ।
भोजपुरको टक्सार ओलाङ्चुङ्गोला बाहेक तिब्बतको ब्यापारिक केन्द्र दिगर्चा जाने अर्को मुख्य बाटो थियो । टक्सारमा निर्मित हस्तकलाका सामाग्रीहरु नेपालमा मात्र होइन, चिनको तिब्बत र भारतको दार्जिलिङ्, आसाम, सिलगढी तथा कलकत्तासम्म बिक्रीका लागि निर्यात हुने गरेको स्थानियवासीहरु बताउँछन ।
पाटनबाट टक्सारमा आएका नेवार जातिले आफ्नो भाषा, धर्म, संस्कार, संस्कृति र परम्परागत मूल्य, मान्यताहरु सँगै ल्याएका थिए । उनीहरुको गुम्बा, चैत्य, बौद्धविहार, शाक्यमुनि विहार, भीमसेनको घण्टा, करुणामय मन्दिर, अजीमा मन्दिरमा दाफा भजन, नामसंगिती, स्तोत्र पाठ, ज्ञानमाला भजन गाउँने र पुजा गर्ने परम्परा छ । नेवारहरुले लाखेनॉच, वुद्ध जयन्ती, गाईजात्रा, मत्या, कृष्णजात्रा र भीमसेनजात्रा मनाउने गरेका छन् ।
काठमाण्डौ उपत्यकापछि धार्मिक र सांस्कृतिक हिसावले पूर्वाञ्चलमै प्रसिद्ध भोजपुरको टक्सारमा बौद्धमार्गी नेवार जातिको बाहुल्यता छ । सदरमुकाम भोजपुरदेखि आधा घण्टाको दुरीमा रहेको एक मात्र बिमानस्थल पनि टक्सारमा नै पर्छ । पर्यटनको बिषयमा जानकारी दिन टक्सारमा नै पर्यटन सुचना केन्द्रको समेत स्थापना भएको छ । तर त्यो पनि संचालनमा नआउँदा अहिले नाम मात्रको सुचना केन्द्र बन्न पुगेको छ ।
सरोकारवाला निकायको वेवास्ताका कारण राज्यको लगानी खेर जाने अवस्थामा पुगेको छ। करिव ५० लाख लागतमा निर्माण गरिएको पर्यटन सुचना केन्द्र संघ, प्रदेश तथा स्थानिय तह कसको जिम्मामा रहने टुङ्गो नलाग्दा संरक्षणमा समेत समस्या भएको छ ।
केन्द्रको भवनमा लगाइएको झ्याल ढोका निकै कलात्मक तवरबाट निर्माण गरिएका छन् । तर सरोकारवाला निकायले मालपाएर चाल नपाउदा यो भवन अहिले भुत वंगलामा परिणत भएको स्थानिय बिमल रणपहेलीको भनाई छ । तत्कालिन पाँच विकास क्षेत्र मध्ये पूर्वाञ्चलका १६ जिल्लाको एउटै मात्र पर्यटन प्रर्वद्धनका लागि यो भवन निर्माण गरिएको हो । टक्सारमा सरस्वती गुफा, अजिमा मन्दिर, भिमसेनथान, शाक्यमुनि बिहार, महादेव मन्दीर, टक्सार अड्डाको बिद्याधरी धारा, खिकामछा दरबारको अबशष लगायत प्राकृतिक छट्टाले सुन्दर वातावरणयुक्त ऐतिहासिक स्थलहरुको अवलोन गर्न सकिन्छ ।
टक्सारमा मावि, निमावि र प्राबि आधा दर्जन बिद्यालय, उद्योग कार्यालय, सबैभन्दा पुरानो विद्याधरी सार्वजनिक पुस्तकालय, कालिका पुस्तकालय समेत रहेको टक्सारको यसोधरा माविका शिक्षक दिपेन्द्र श्रेष्ठ बताउँछन । अनुसन्धानात्मक इतिहासको निम्ति यहाँका पुराना हस्तकलायुक्त भवन, शिलालेख, ताम्रपत्र र ऐतिहासिक सामाग्रीहरु पर्याप्त छन् ।निरोज कोइराला, नेपाल न्यूज बैंक




