
काठमाडौं । कवि/कथाकार सपना लामिछाने (देउजा)को कविताकृति ‘जिन्दगी एक यात्रा’माथि परिचर्चा सम्पन्न भएको छ ।
शनिबार काठमाडौंमा सूचक प्रकाशनले आयोजना गरेको कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदीले कृतिमाथि चर्चा गर्दै कवि लामिछानेका कविताहरूमा मानिसको जीवनका भोगाइ र अनेक आयाम प्रस्तुत गरिएको बताए ।
डा. सुवेदीले भने, “कवि लामिछानेका कवितामा सामाजिक विषयवस्तुकासाथै मातृत्व प्रेम, देशप्रेम पनि सशक्त रूपमा आएको छ । उहाँका कवितामा हामीले भोगिरहेका सन्दर्भ अभिव्यक्त भएको छ ।”
डा. सुवेदीले कविता पाठकले महसुस गर्नुपर्ने विषय भएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले सूचक प्रकाशनले बर्सेनी प्रदान गर्दै आएको ‘क्याप्टेन रतनबहादुर लामिछाने पुरस्कार २०८२’ गायक कलाकार आनन्द कार्कीलाई प्रदान गरे ।
उक्तअवसरमा कुलपति राईले गायक कार्कीलाई बधाई दिँदै सूचक प्रकाशनले साहित्य र कलाका क्षेत्रमा गर्दै आएको कामहरुको विषयमा बोले ।
कार्यक्रममा पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले साहित्यले समाजलाई अगाडि बढाउने बताउँदै सिर्जना गर्ने हरेक व्यक्तिले समाजलाई डो¥याउने उल्लेख गरे ।
कार्यक्रममा गीतकार चुडामणि देवकोटा, कवि सपना लामिछाने, आनन्द कार्की, रचयिता लामिछाने, रीति लामिछानेलगायतले दिवंगत क्याप्टेन रतनबहादुर लामिछानेको सम्झना गर्दै आफ्ना धारणा राखे ।
समारोहमा विभिन्न कविले कृतिभित्रबाट कविता वाचन गरेका थिए ।





