
काठमाडौं, सुकेधारा — ओस्कार इन्टरनेसनल कलेज अफ फिल्म स्टडिजले मंगलबार, २० जनवरी २०२६ मा साधनाघर थियेटरमा आयोजना गरेको मासिक ‘ओपन माइक’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। यस कार्यक्रमले विद्यार्थी तथा बाहिरका प्रतिभाशाली कलाकारहरूलाई आफ्नो कला तथा सिर्जनात्मक क्षमता सार्वजनिक रूपमा प्रस्तुत गर्ने मौकाको रूपमा महत्वपूर्ण भूमिका खेलेको छ।

कार्यक्रमका मुख्य आकर्षण कविताको विविध प्रस्तुति थिए — कवि विश्व सिग्देलले प्रेम, वातावरण र समसामयिक राजनीति विषयमा आधारित आफ्नो कविता वाचन गराए, जसमा चक्रपथ घुम्ती सेवा, उदेक, जोकर र देश अनि जंगल गहिरहेको मान्छे लगायतका कविता समावेश थिए। कवि सन्जय सुमनले आफ्नै सङ्गीतमा आधारित गीत साइकलैमा बोल प्रस्तुत गर्दै स्वतन्त्रता शीर्षकको कविता वाचन गरे, जुन दर्शकहरूद्वारा विशेष रुचाइएको थियो।

कार्यक्रममा कवि रमी प्रियाले ‘क्षमायाचना’, ‘पिरलो’ र ‘ऐना समय’, तथा प्रकृति कार्कीले ‘बाको’ विषयमा सुन्दर कविता वाचन गरेकी थिइन्। त्यस्तै कौस्तुभ ओली र गणेशकुमार पौडेलले पनि आफ्ना मन छुने कविताहरू सुनाएका थिए।
कार्यक्रममा गीत गायन, कविता वाचन, स्ट्यान्ड‑अप कमेडी र मोनोलग गतिविधिहरू समावेश गरिएको थियो। झलनाथ खत्री, आशिष घिमिरे, घनश्याम विश्वकर्मा, दिवसराज भट्टराई, सुदिप रसाइली, सौगात नेपाल र उमेश कुमार पौडेलले मनमोहक सङ्गीत प्रस्तुति दिए। विशेष रूपमा मिराक लिम्बु र विकाशले आफ्नै लेखन र सङ्गीतबद्ध गीतहरू प्रस्तुत गरे, जसले दर्शकबाट धेरै प्रशंसा पायो।
प्राचार्य रामराजा दाहालका अनुसार, कार्यक्रमले विद्यार्थीहरूमा सिर्जनशीलता, आत्मविश्वास र नेतृत्व क्षमता विकाश गर्न महत्वपूर्ण भूमिका खेलेको छ। सहभागी विद्यार्थीहरूले पनि यस्तो कार्यक्रमले आफ्नो प्रतिभा प्रकट गर्ने उत्कृष्ट अवसर दिएको प्रतिक्रिया दिएका छन्।
कार्यक्रम रमेश महतो र योगेश सिंहले सफल रूपमा संचालन गरे। ओस्कार इन्टरनेसनल कलेजले आगामी दिनहरूमा पनि यस्ता सृजनात्मक तथा प्रेरणादायी कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
