
काठमाडौं ।राजधानीमा आयोजित एक समारोहमा साहित्यकार शङ्कर शाहका तीन कृतिहरूको लोकार्पण भयो ।
दायित्व वाङ्मय प्रतिष्ठान, नेपालद्वारा राजधानीमा आयोजित एक कार्यक्रममा ‘जेन लहरु’, ‘आइना जो देखाउँछु ‘र ‘दोबाटेको च्याखुरा’ लोकार्पण भयो ।
प्रतिष्ठानका अध्यक्ष साहित्यकार रामप्रसाद पन्तको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव डा. मदनकुमार भट्टराई, नेपाली शिक्षा परिषद्का अध्यक्ष रमा शर्मा, साहित्यकार भागीरथी श्रेष्ठ, नेपाली सेनाका पूर्व रथीहरू छत्रविक्रम शाह, सुशीलराज कार्की र सदीपबहादुर शाह, समालोचक प्रा.डा.भागवत ढकाल, कृतिकार शङ्कर शाहलगायतले लोकार्पण गर्नुभयो ।
सो अवसरमा तीनै कृतिहरूको समीक्षा गर्दै समालोचक प्रा.डा. ढकालले शाहका कृतिहरू विविध विषयमा तयार गरिएका मौलिक कृतिहरू भएको चर्चा गर्नुभयो ।
कार्यक्रममा डा. मदनकुमार भट्टराईले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सभापति रामप्रसाद पन्तले साहित्यकार शङ्कर शाहको कृतित्व र व्यक्तित्वको चर्चा गर्दै निकट भविष्यमा शाहका बारेमा लेखिएका लेखरचनाहरू समेटिएको अभिनन्दनग्रन्थ प्रकाशन गर्ने जानकारी गराउनुभयो । कृतिकार शाहले कार्यक्रममा उपस्थित सबैप्रति आभार प्रकट गर्नुभयो । प्रतिष्ठानका महासचिव तथा साहित्यकार यादव भट्टराईले कार्यक्रमको सहजीकरण गर्दै अतिथिहरूलाई स्वागत गर्नुभएको थियो ।






