
बुख्याँचा
ललितबिक्रम सिँह
मित्र,
तिमीलाई आफू हुनुमा
शंका छ कि छैन?
म त ठान्दिन
तिमी एक व्यक्ति हौ भन्ने
एक छूट्टै चेतना हौ भन्ने
अनि आफैमा विवेक हौ भन्ने
किनकी,
तिमी भित्र मैले चेतना देख्न सकेको छैन
हुनुपर्ने बिबेक तिमीसँग छैन
रहनु पर्ने दृष्टि तिमीसँग रहेन
तिम्रा कुनै ज्ञानेन्द्रीयले
स्वचालित रुपमा काम गर्नै सकेको छैन अचेल ।
हुन त तिमी दृष्टिबिहीन होइनौ
तर दृष्टिबिहीन भन्दा रतिभर कम छैनौ
किनकि, तिम्रा आँखाले
सही नजर गर्न सकिरहेका छैनन
ती त कसैको इसारमा झिम्किन्छन्
कसैको बाणीमा टोलाउँछन् ।
लाग्छ त्यसरी नै तिमी
श्रबणहीन त होइनौ
तर श्रवणहीन भन्दा कम तिमी छैनौ
किनकी तिमीले सुन्नु पर्ने सुन्दैनौ
नसुन्नु पर्ने सुनिरहन्छौ ।
हो, तिम्रो श्पर्शजन्य ज्ञानेन्द्रीय भने
चलायमान छ सँधै
यस्ले खुब काम गरेझै लाग्छ
केही अघि कसैले तिम्रो श्पर्शजन्य चेतनाको
खुब आलोचना गरेको थियो
अहिले पनि तिमी दृष्टिबिहीन भएको
त्यही श्पर्शजन्य चेतनाको अति सक्रियताले हो
श्रबणहीन भएको पनि त्यहो कामबासनाले हो
एउटा ज्ञानेन्द्रीय कमजोर हुँदा
बाँकी सबै ज्ञानेन्द्रीय अचेतन हुने
मान्छे मान्छे नभएर बुख्याँचा हुने
कसैको लौरो भएर बाँच्नु पर्ने
हाय कस्तो अचम्म
जन्म दिने आमाले पनि
छोरो भनेर जन्माएको
बुख्याँचा पो जन्मिएछ भनेर
आफ्नो कोखलाई धिकार्नु पर्ने ।।






