
रायो साग पनि छैन सुरक्षित
देशकै ठुलो तरकारी बजार कालीमाटीमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले तरकारी परीक्षणको रिपोर्ट उपभोक्ताले खाइसकेपछि मात्रै सार्वजनिक गर्ने गरेको छ । केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गतको कालीमाटीको उक्त प्रयोगशालाले बजारमा भित्रिएकामध्ये केही तरकारीको नमुना संकलन गरी परीक्षणको रिपोर्ट निस्किँदासम्म त्यो तरकारी उपभोक्ताले खाइसक्ने गरेको पाइएको हो । गत बिहीबार कालीमाटी फलफूल तथा तरकारी बजारमा काठमाडौँ रामकोटबाट भित्रिएका रायोसागको नमुना परीक्षणको रिपोर्टमा खान नहुने विषादी भेटियो । विषादीको रोकावट दर ३५ प्रतिशतभन्दा बढी हुनुलाई खान अयोग्य मानिन्छ । परीक्षणको रिपोर्टमा अर्गानोफन्टफेट नामक विषादीको अवशेष ९९.०८ प्रतिशत भेटियो ।
प्रयोगशालाले काठमाडौँस्थित नार्गाजुनको रामकोटका उत्तम रेग्मीले ल्याएको रायोसाग परीक्षणपछि घातक विषादी भेटिएकाले नष्ट गर्नुपर्ने भनेर कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिसमक्ष बिहान ६ः३० बजे रिपोर्ट बुझायो । समितिका सुरक्षागार्डसहित तरकारी स्टलमा ८ बजे पुग्दा घातक विषादी भेटिएको रायोसाग सबै बजार हुँदै उपभोक्ताको भान्सामा पुगिसकेको थियो । थोरै बाँकी रहेको रायोसाग समितिको नेतृत्वमा नष्ट गरियो । कालीमाटी समितिका अनुसार बजारमा सामान्यतया तरकारी राति १२ देखि बिहान ४ः०० बजेभित्र आइसक्छ । बिहान ३ बजेदेखि ६÷७ बजेसम्म बजारमा भित्रिएको लगभग सबै तरकारी स्थानीय बजार, खुद्रा बजार हुँदै उपभोक्ताको भान्सामा पुगिसक्छ ।
केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको कालीमाटीसहित देशका १२ स्थानमा रहेका प्रयोगशालाले कार्वामेन्ट र अर्गानोफस्टेट समूह कीटनाशक विषादीको मात्रा परीक्षण गर्दै आएको छ । यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग ओग्य, ३५ देखि ४५ प्रतिशतसम्म भएक केही दिन पर्खेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी भएमा खान अयोग्य मानिन्छ । करिब सत प्रतिशत विषादी भेटिनु डरलाग्लो अवस्था हो । स्वच्छ खाद्य वस्तु खान पाउन सबैको नैसर्गिक अधिकार पनि हो । रासायनिक विषादी मानव स्वास्थ्यका लागि हानिकारक हुन्छ ।
नेपालमा विगत केही वर्षदेखि तरकारीको उत्पादन उल्लेखनीय मात्रामा वृद्धि भएको छ । पौष्टिक आहारासम्बन्धी चेतनाको वृद्धि, प्रविधिमा पहुँच र उत्पादन सामग्रीको उपलब्धतामा वृद्धि आदि कारणले घरायसी प्रयोगका लागि र आर्थिक उपार्जनको राम्रो स्रोत भएको कारणले व्यावसायिक तरकारी खेतीको विस्तार तथा विकास पनि भएको छ । बढ्दो सहरीकरणले ताजा तरकारीको माग पनि बढाएको छ ।
नेपालमा करिब तीन लाख हेक्टर क्षेत्रफलमा खेती भई करिब ४१ लाख मेट्रिकटन ताजा तरकारी उत्पादन भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कले देखाउँछ । तरकारी उत्पादन र व्यवसायले धेरै व्यक्तिको रोजगारी सिर्जना पनि भएको छ । पछिल्ला वर्षमा युवाको आकर्षण यस पेसामा ह्वात्तै बढेको पनि छ । देशैभरिका सहर आपपासका क्षेत्रमा व्यापक रूपमा तरकारी उत्पादन हुन थालेको छ । यसले गर्दा आलु, प्याज र लसुनबाहेकका अन्य ताजा तरकारीमा देश आत्मनिर्भरतातर्फ उन्मुख छ ।
तरकारी बाली ताजा उत्पादन उपभोग गरिने र अझैभन्दा केही तरकारी त सलादका रूपमा काँचै पनि उपभोग गरिने भएकाले विषादीको प्रयोगमा संवेदनशीलता जरुरी भएको हो । अर्कोतर्फ तरकारीका रूपमा प्रयोग हुने बाली छोटो अवधिका कोमल खालका हुने भएकाले रोग किराको प्रकोप पनि प्रशस्त हुने गर्छ । व्यावसायिक तरकारी बाली ठुलो क्षेत्रमा एउटै बाली हुने हुँदा रोग किराको प्रकोप र असर पनि बढी हुन जान्छ । त्यसै हुनाले व्यावसायिक तरकारी खेतीमा विषादीको प्रयोग सामान्यतः आवश्यक हुने गर्छ । कहिलेकाहीँ त रोग वा किरा नियन्त्रणका लागि यसको प्रयोग अपरिहार्य जस्तै हुन्छ । त्यसो भए रासायनिक विषादी नै छर्नै पर्छ त भन्ने प्रश्न पनि आउँछ ।
व्यापक जनचेतना
मानव स्वास्थ्य, प्रकृति र वातावरणमा रासायनिक विषादीको हानिकारक असरका बारेमा कृषक, आमजनमानस उपभोक्ता, विषादी बिव्रmेता सबैमा व्यापक जनचेतना वृद्धि गर्नु आजको आवश्यकता भएको छ । आमकृषक उत्पादक मात्र नभई उपभोक्ता पनि हुन् । कृषकलाई कृषक पाठशाला, कृषक दिवस, तालिम, परीक्षण पद्धति, सञ्चार माध्यमको प्रयोग, सूचना प्रविधिको व्यापक उपयोग गरी सुसूचित गराउन पर्ने छ । मुलुकका १९ हजारभन्दा बढी विषादी बिव्रmेता कृषकलाई विषादी उपलब्ध गराउने प्रमुख एजेन्ट हुन् । त्यहाँबाट हुने गलत सिफारिस वा बिव्रmी वितरण अन्तत उपभोक्ताकहाँ पुग्छ । विषादी बिव्रmेतालाई रासायनिक विषादीका वैकल्पिक उपाय (वनस्पति जन्य र जैविक विषादी) का बारे सुसूचित गराई सोही अनुसार प्रोत्साहन गर्नुपर्ने जरुरी भएको छ । कुल आयात ३५ लाख केजीमध्ये करिब तीन हजार दुई सय केजी जैविक विषादी हुनु दुर्भाग्य नै हो । व्यावसायिक कृषक धेरैमा विषादीका बारेमा जानकारी भएको र जानाजान हानिकारक विषादी प्रयोग भएको अध्ययनबाट जानकारी भइसकेको छ । यसबाट या त उनीहरूलाई विषादीका विकल्पबारे थाहा छैन वा बजारमा उपलब्ध छैन भन्ने अर्थ आउँछ । व्यापक जनचेतनाको माध्यमबाट यस्ता विषय वस्तुलाई निराकरण गर्न सकिन्छ । यस कार्यमा सबै निकायको खास गरी स्थानीय र प्रदेश सरकारका निकाय तथा सामुदायिक संस्थाको सव्रिmयता आवश्यक हुन्छ ।
रोग किरा व्यवस्थापनका
गैर रासायनिक विधि पनि नभएका होइनन्, एकीकृत विधि पनि प्रयोगमा ल्याउन सकिन्छ तर यी विधिको प्रभावकारिता रासायनिकभन्दा ढिलो हुने र कहिलेकाहीँ कम प्रभावकारी पनि हुन्छन् । रासायनिक विषादीको असर रोग किरामा तुरुन्तै पर्ने हुनाले बालीनाली सुरक्षित राख्न कृषक अन्य विकल्पतिर नलागी सोझै रासायनिक विषादीमा नै भर पर्छन् । त्यसैले समस्या यहाँ देखिन्छ ।
नेपालको कृषि क्षेत्रमा प्रयोगका लागि आव २०८१÷८२ मा करिब एक अर्ब ७५ करोड बराबरको झन्डै ३५ लाख केजी विषादी आयात भएको सरकारी तथ्याकमा देखिन्छ । नेपालमा खपत हुने विषादीको झन्डै ८० प्रतिशत तरकारीमा प्रयोग हुने र प्रदेशगत खपतका हिसाबले मुख्यतः बागमती र मधेश प्रदेशमा गरेको केही अध्ययनमा पाइएको छ । यी प्रदेशमा तरकारी खेतीमा बढ्दो व्यावसायिकरणले पनि विषादी खपत बढेको छ । कृषकमा विषादीका वैकल्पिक उपायबारे पर्याप्त जानकारी नहुनु, विषादीले वातावरण र मानव स्वास्थ्यमा पर्ने असर पारे पर्याप्त थाहा नहुनु, क्षणिक आर्थिक प्रलोभन रहनु, सुरक्षित गैर रासायनिक वा जैविक विषादी बजारमा पर्याप्त नपाइनु जस्ता कारणले गर्दा तरकारीमा रासायनिक विषादीको प्रयोग भइरहेको पाइन्छ । त्यसैले कृषकलाई दोष दिइरहनु मात्र नभई विषादीसँग सम्बन्धित अन्य विविध विषयमा पनि ध्यान दिनु जरुरी छ । ताजा तरकारीमा विषादी प्रयोग कम गराउन र स्वस्थ तरकारी उत्पादन गर्न सकिन्छ ।
रासायनिक विषादीका विकल्पबारे अनुसन्धान
रासायनिक विषादीका विकल्पबारे नेपालमा पर्याप्त अनुसन्धान हुन सकेको छैन । खास गरी वानस्पतिक विषादीको अवशेष धेरै कम रहने भएकाले यस्ता विषादीको अनुसन्धान र प्रवर्धन जरुरी छ । हामीकहाँ पाइने धेरै वनस्पतिमा विषजन्य पदार्थ रहेका छन् र तिनीहरूलाई कृषकस्तरमै विषादीका रूपमा तयार गर्ने विविध विधि पनि विकास गरिएका छन् तर यी सबै विधि सानो स्तरका खेतीमा मात्र सीमित रहिरहेको अवस्था छ । निश्चित मात्रा रहने गरी सविन्यासकै रूपमा तयार भएका वनस्पतिका विषादी धेरै कम छन् । बोझो, सयपत्री, सिस्नु, खिर्रो, असुरो, बकाइनो, निम, लसुन जस्ता तिता, पिरा खालका वनस्पतिहरूको प्रयोगलाई स्थानीय स्तरका सानो स्तरका पर्याप्त प्रवर्धन गर्न सकिन्छ । निम जस्ता वनस्पतिबाट तयार गरिएका विषादी पनि बजारमा उपलब्ध छन् तर तिनीहरूको उपलब्धता र प्रयोग प्रशस्त हुन सकेको छैन । यी र यस्ता वनस्पति विषादीको पर्याप्त अनुसन्धान गरी प्रवर्धन गर्ने सके हानिकारक विषादीको प्रयोगलाई घटाउन सकिन्छ ।
रासायनिक विषादीको भरपर्दो विकल्प सूक्ष्म जैविक विषादी हुन सक्छन् । विश्व बजार खास गरी अमेरिका र युरोपमा हाल जैविक विषादीको प्रयोग निरन्तर बढ्दो छ । भाइरस, ब्याक्टेरिया, ढुसी र जुकाजन्य यस्ता विषादी प्रभावकारी त छन् नै वातावरण र मानव स्वास्थ्यमा पनि कुनै हानि गर्दैनन् । यी जैविक वस्तुको सानो, मध्यम वा ठुलो स्तरका उत्पादन गरी रोग किरामा प्रयोग गरेर स्वस्थ खाद्यान्न उत्पादन गर्न सकिन्छ । नेपालमा कृषक स्तरका सामुदायिक स्रोत केन्द्रमा पनि यस्ता वस्तु सानो स्तरमा उत्पादन गरी प्रयोगमा आइरहेका छन् । केही प्रयोगशालामा जुकाजन्य र ढुसीजन्य सूक्ष्म जैविक विषादीको व्यवसायिक उत्पादन र प्रयोग भएको र भाइरस जन्य जैविक विषादी पनि प्रयोगशालामा उत्पादन गरी प्रयोगमा ल्याइएका छन् । नेपालमै ढुसीजन्य र जुकाजन्य स्थानीय जातिको पहिचान पनि गरिएका छन् । थप केही अनुसन्धान पनि भएका छन् । तर यस्ता सूक्ष्म जैविक विषादीका सन्दर्भमा नेपाल कृषि अनुसन्धान परिषद् र अन्य अनुसन्धानका निकायमा प्राथमिकताका साथ पर्याप्त अनुसन्धान हुन नसक्दा प्रविधिको विकास हुन नसकी प्रसारमा प्रभावकारी रूपमा जान सकेको छैन । व्यावसायिक रूपमा भाइरस, ढुसी र ब्याक्टेरिया जन्य केही (७४ व्यापारिक नामका १५ प्रकारका) जैविक विषादी पञ्जीकरण भई बजारमा उपलब्ध छन् । यिनीहरूको प्रयोग प्रभावकारी हुन सकेको छैन ।
खास गरी यसका लागि हुन पर्ने अनुसन्धान र प्रविधि विकासमा लगानी र नियमनको न्यून क्षमताका कारण समस्या रहेको छ । विषादी व्यवस्थापनको विषय प्राविधिक मात्र होइन । नीतिगत, सामाजिक, आर्थिक र नैतिक विषय पनि हो । यो समग्र कृषि वस्तुको स्वच्छताको विषय पनि हो । भारतका वरिष्ठ वैज्ञानिक एमएस स्वामीनाथनले भनेका थिए, कृषि गलत दिशामा गयो भने कुनै पनि क्षेत्र सही दिशामा जाँदैन । कृषि प्रविधि विकास र विस्तारका साथै कृषकलाई सक्षम बनाउनेतर्फ लगानी गरी निरोगी जनता तयार गर्न काम गर्ने हो भने स्वास्थ्य क्षेत्रमा राज्यले कम लगानी गरे पनि हुन सक्छ । त्यसैले कृषि क्षेत्रलाई सही दिशामा लैजान सुरु भएका प्रयासलाई बढाउँदै नयाँ प्रयासको थालनी गर्नु सबै सरोकारवालाको दायित्व हो ।
सीता शर्मा (आचार्य)





