
लघुकथा
धुर्त्याईँ
ध्रुवराज थापा ‘पुरूष‘
‘हाहाहाहा कस्तो लाग्यो त हाम्रो कला?’ निर्णायक-१ ले आफ्नो धुर्त्याईँको वकालत गर्यो ।
डा.सम्राटले खुसीले प्रफुल्लित हुँदै भने, ‘मानेँ मैले तपाईँहरूलाई! तपाईँहरूको यो गुण कहिल्यै भुल्ने छैन ।’
निर्णायक-२ ले थपे, ‘तपाईँले देखिहाल्नु भयो नि, कतिवटा कृति निकाली सकेका मान्छेहरू पनि पछारीए! हामीले चाहेमा दिन पनि रात हुन्छ!’
निर्णयक-३ ले बहादुरी देखाए, ‘तपाईँले कोरकार गरेको कवितालाई हामी तीन भाई मिलेर प्रदेश मै उत्कृष्ट बनाईदियौँ ! तपाईँ पहिलो कविताबाट नै चर्चित हुनुभयो!’
निर्णायक-१ ले मुख खोले,’के को चर्चित मात्र नि ? स्थापित कवि हुनुभयो ! डा.भनेपछि कसैले शङ्का गर्ने कुरै भएन! हामीले तपाईँको भन्दा धेरै उत्कृट कवितालाई फोहोर दानीमा फ्याँकीदियौँ । ती कवितालाई छनोट मै पारेनौँ हामीले ! तपाईँलाई पहिलो बनाउँन कम्ता पापड बेल्न परेन हामीलाई !
यत्तिकैमा रेष्टुरेन्टको वेटरले एक कार्टुन बियर र ग्लास राखिदियो । सेकुवा सहित विभिन्न खानेकुराका परिकारले टेबुल भरियो ।
निर्णायक-३ ले भने,’अब आज तपाईँले प्राप्त गर्नुभएको पुरस्कारको भरपूर सदुपयोग गर्नुपर्छ!’
सबैले बियरले भरिएको ग्लास एक आपसमा ठोक्काउँदै भने, ‘चियर्स!
काभ्रे, पनौती, हालः कपन,







