
काठमाडौँ । वासु शशी स्मृति परिषद्ले २०८३ सालको ‘वासु शशी साहित्य सम्मान’द्धारा हिरण्यकुमारी पाठक, मधुवन पौडेल र डा.बद्री पोखरेललाई ‘सम्मानित गरेको छ।
मंगलबार काठमाडौंमा परिषद्द्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि अग्रज साहित्यकार तथा चलचित्रकर्मी यादव खरेलले कथाकार हिरण्यकुमारी पाठक, कथाकार मधुवन पौडेल र समालोचक डा.बद्री पोखरेललाई सम्मानित गरे । सम्मानकासाथ नगद राशि जनही १० हजार रुपैयाँ प्रदान गरियो ।
कार्यक्रममा प्रमुख अतिथि खरेलले सम्बोधन गर्दै वासु शशीसँग आफ्नो नजिकको सम्बन्ध रहेको चर्चा गर्दै उनले नलेखेको कुनै विषय नै नरहेको बताए । शशीमा अभिमान नरहेको बताउँदै खरेलले भने, “वासु सबै विधामा लेख्ने सर्जक हुन् । र, उनका हरेक किताब पढ्न लायक छन् ।” वासु शशीसँग आफ्नो घनिष्ठ सम्बन्ध रहेको स्मरण गर्दै उनको ५७ वर्षको अल्पायुमै निधन हुनुलाई दुःखद् घटनाका रूपमा उल्लेख गरे। उनले वासु शशीको व्यक्तित्व र साहित्यिक योगदानको स्मरण गर्दै उनको नाममा स्थापित सम्मानको महत्त्व रहेको बताए।
परिषद्का सदस्य सचिव प्रद्युम्न जोशीले परिषद्ले ३४ वर्षको अवधिमा ८० भन्दा बढी सर्जकहरूलाई सम्मानित गरिसकेको बताए ।
सम्मानित स्रष्टाहरू पाठक, पौडेल र डा. पोखरेलले प्राप्त सम्मानले आफूहरूमा उर्जा थपेको बताए ।
अभिनेत्री मिथिला शर्माले वासु शशीले लेखेको ‘माया’ चलचित्रमा अभिनय गर्ने मौका पाएको स्मरण गरिन् । अर्का कलाकार मदनदास श्रेष्ठले साहित्यकार शशीको सिर्जना ‘बाँसुरीमा नअटाएका धुनहरू’ माथि चलचित्र निर्माण हुने कुरा चले पनि फिल्म बन्न नसकेको चर्चा गरे ।
कार्यक्रममा परिषद्का सल्लाहकार राधेश्याम लेकालीले शुभकामना मन्तव्य व्यक्त गर्दै साहित्यकारहरूको योगदानको कदर गर्ने यस्ता कार्यक्रमको महत्त्वमाथि प्रकाश पारे।
हिरण्यकुमारी पाठकले दिवंगत साहित्यकार वासु शशीसँग आफ्नो जीवनकालमा पटकपटक सहकार्य गर्ने अवसर प्राप्त भएको स्मरण गर्दै उनको साहित्य साधनाप्रति उच्च सम्मान व्यक्त गरिन्।
कार्यक्रमका सभापति श्रीओम श्रेष्ठ रोदनले उपस्थित सबैलाई दसैँको शुभकामना व्यक्त गर्दै नेपाली साहित्यमा पुरस्कार र सम्मानको अभाव नभए पनि सम्मानको गरिमा जोगाउनुपर्ने आवश्यकता औँल्याए। उनले कतिपय अवस्थामा सम्मानकै अपमान हुने र प्राप्त सम्मानसमेत घरमा झुन्ड्याएर राख्न नसक्ने अवस्था देखिन थालेको टिप्पणी गरे। वासु शशीजस्ता सम्मानित स्रष्टाको नाममा प्रदान गरिने पुरस्कारको आफ्नै विशिष्ट महत्त्व र गरिमा रहेको उनको भनाइ थियो।
कार्यक्रमको सञ्चालन संचारकर्मी एवं कवि ठाकुर वेलबासेले गरेका थिए।






