
जनकपुर । मिथिलाको धार्मिक आस्था, लोक विश्वास र सांस्कृतिक मौलिकताको प्रतीकको रूपमा परिचित झिझिया नाच दशैँको आगमनसँगै मिथिलाञ्चलका गाउँ बस्तीमा देखिन थाल्छ । टाउकोमा प्वाल पारिएको माटोको घैँटो राखेर त्यसमा दीप प्रज्वलन गर्दै सामूहिक रूपमा नाचिने यो परम्परा मिथिलाको विशिष्ट लोकसंस्कृतिका रूपमा स्थापित छ । विशेष गरी मधेश प्रदेशका जिल्लाहरूमा यसको विशेष महत्त्व रहेको छ ।
झिझिया नाच मनोरञ्जनको माध्यम मात्र नभई देवी दुर्गाप्रतिको श्रद्धा, बालबालिका तथा परिवारको सुरक्षा र समाजको सुख–शान्तिको कामनासँग जोडिएको धार्मिक तथा सांस्कृतिक परम्परा हो । नेपाल र भारतको मिथिला क्षेत्रमा प्रचलित यस नाचले मैथिली भाषा, लोकगीत र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक सम्पदालाई जीवन्त राख्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।
झिझिया नाचको प्रारम्भ बारे फरक फरक कथाहरू भए तापनि स्पष्ट ऐतिहासिक अभिलेख भने उपलब्ध छैन । यद्यपि, स्थानीय जनश्रुति, लोककथा र धार्मिक मान्यताका आधारमा यसलाई मिथिलाको पुरानो लोक परम्पराका रूपमा लिने गरिन्छ ।
विशेष गरी शारदीय नवरात्रका बेला देवी भगवतीको आराधना गर्दै दुष्ट शक्ति तथा अनिष्टबाट परिवार र समाजलाई जोगाउने कामनासहित यो नाच प्रदर्शन गर्ने परम्परा रहेको छ । सबै भन्दा लोकप्रिय कथामध्येको एक हो राजा बलरुचिसंग जोडिएको प्रसङ्ग । धनुषाका प्रसिद्ध आचार्य पण्डित विवेक पाण्डेयका अनुसार बालबालिकालाई कथित दुष्ट शक्तिबाट जोगाउन विशेष अनुष्ठान गर्ने परम्परासँग झिझियाको सम्बन्ध रहेको छ । घैँटोका प्वाल गन्न खोज्ने दुष्ट शक्तिले नर्तकीलाई हानि पु¥याउन सक्ने जनविश्वाससमेत यससँग जोडिएको छ।
झिझियाका गीतमा देवीको महिमा, परिवारको कल्याण, बालबालिकाको सुरक्षा र गाउँको सुख–समृद्धिको कामना व्यक्त गरिन्छ । मैथिली भाषामा गाइने यी गीतले स्थानीय भाषिक मौलिकता र मौखिक साहित्यको संरक्षणमा योगदान पु¥याएका छन् ।
पछिल्लो समय झिझिया नाच गाउँका घर आँगनमा मात्र सीमित नरही विद्यालय, सांस्कृतिक महोत्सव, सार्वजनिक कार्यक्रम र विभिन्न मञ्चमा समेत प्रस्तुत हुन थालेको छ। यसले मिथिलाको लोकसंस्कृतिलाई व्यापक दर्शकमाझ पु¥याउन सहयोग गरे पनि मौलिक गीत, परम्परागत लय र नृत्य शैली संरक्षण गर्ने चुनौती कायम छ ।
झिझिया नाचको संरक्षणका लागि स्थानीय तह, सांस्कृतिक संस्था, विद्यालय र समुदायबिच सहकार्य आवश्यक रहेको बताउँछन् धनुषाका संस्कृति अध्एता हिमांसु चौधरी । पुराना लोकगीत तथा लोककथाको अभिलेखीकरण, नयाँ पुस्तालाई प्रशिक्षण, कलाकारलाई सम्मान र सांस्कृतिक कार्यक्रममा नियमित प्रस्तुति दिने व्यवस्था गर्न सके यस परम्परालाई दीर्घकालीन रूपमा जोगाउन सकिने चौधरीको भनाई छ ।
मिथिलाको पहिचान बोकेको झिझिया नाचलाई दशैँमा प्रस्तुत गरिने मनोरञ्जनात्मक कार्यक्रमका रूपमा मात्र नभई धार्मिक आस्था, महिला सहभागिता, मैथिली भाषा र ऐतिहासिक लोक स्मृतिसँग जोडिएको सांस्कृतिक सम्पदाका रूपमा संरक्षण गर्नुपर्ने आवश्यकता छ । आधुनिक समयअनुसार यसको प्रचार–प्रसार गर्दै मौलिकता कायम राख्न सके झिझिया आगामी पुस्ताका लागि समेत मिथिलाको गौरवपूर्ण पहिचानका रूपमा जीवित रहनेछ ।








