
धर्मनिर्णयतिथिसारसंग्रह भन्ने ग्रन्थमा पाइने(१) चैत्रदेखि भाद्रसम्म संक्रान्ति नपरेको चान्द्र महिना परेमा आषाढमा अधिकमास मान्ने र आश्विनदेखि फाल्गुनसम्म संक्रान्ति नपरेको चान्द्र महिना परेमा पौषमा अधिकमास मान्ने नारदमतको व्यवस्था तथा (२) श्रावणदेखि पौषसम्म संक्रान्ति नपरेको चान्द्र महिना परे आषाढमा अधिकमास मान्ने र माघदेखि आषाढसम्म संक्रान्ति नपरेको चान्द्र महिना परे पौषमा अधिकमास मान्ने भारद्वाज मतको व्यवस्था काठमाडौंमा चलेको इतिहास छ ।
यो कुरा नयराज पन्तको लिच्छविसंवत्को निर्णय ने.रा.प्र.प्र, वि.सं २०४३, १८५—१८६ पृ.मा दिइएको छ भनेर पर्वसमय सुधार राष्ट्रिय समाज नेपालले प्रकाशित गरेको यो वर्ष २०८३ को सावर्णि मन्वन्तर पञ्चाङ्गको पृष्ठ १७ मा बाकाइदा सँग बोलिएको छ । तर निर्णयको ती पृष्ठमा त्यसखालको उद्धरण छैन । वास्तवमा प्राचीन तथा पूर्व मध्यकालमा नेपालमा आषाढ र पौषमा मात्र अधिकमास मनाउने प्रचलन भएकाले नारदमत भनेको चैत्रदेखि भाद्रसम्मका कुनै चान्द्रमासले संक्रान्तिलाई नछोएको अवस्थामा ती चान्द्रमास नै अधिकमास कहलिने भएकोले त्यसलाई आषाढमा लगेर अधिकमास मनाउने र आश्विनदेखि फागुनसम्मका कुनै चान्द्रमासले संक्रान्तिलाई नछोएको अवस्थामा ती चान्द्रमास नै अधिकमास कहलिने भएकोले त्यसलाई पौषमा लगेर अधिकमास मनाउने भन्ने हो ।
त्यस्तै गरी भारद्वाजमत भनेको पनि श्रावणदेखि पौषसम्म संक्रान्तिले नछोएको कुनै चान्द्रमास आषाढमा र माघदेखि आषाढसम्म संक्रान्तिले नछोएको चान्द्रमास पौषमा अधिकमास मनाउने भन्ने हो । त्यसैले संक्रान्ति नपरे भन्नु अर्थ र आसय बङ्ग्याउनु हो ।
तर नेपालमा नारदमत र भारद्वाजमत दुइटै व्यवस्था उपयोग भएको छैन भन्ने कुरा भक्तपुर इनायटोल संवत् ३१ को अभिलेख र पाटन सुनधाराको संवत् ३४ को अभिलेखले प्रमाणित गरिसकेको हुँदा धर्मनिर्णयतिथिसार संग्रहको प्रसंग कोट्याइरहनुको कुनै औचित्य सिद्ध छैन ।
किनभने खुद लिच्छविसंवत्को निर्णयको पृष्ठ ९ पल्टाए भने शक ५३० जेठको अधिकमासलाई पौषमा मनाएको तथ्य संवत् ३१ को इनायटोलको अभिलेख र पृष्ठ १० मा शक ५३३ वैशाखको अधिकमास संवत् ३४ को सुनधाराको अभिलेखले प्रमाणित गरी सकेको त्यहाँ पाइन्छ ।
त्यसकारण स्वयं नयराज पन्तले पनि इनायटोलको अभिलेख र पाटन सुनधाराको अभिलेखमा नारदमत र भारद्वाजमत आकर्षित भएको दावा गर्न सकेको थिएन भने सावर्णि पञ्चाङ्गमा नारदमत र भारद्वाजमतको उल्लेख गर्नुको कुनै अर्थ छैन ।
तथापि उद्धरण गर्दा निर्णयको मनशाय विपरीत उल्लेख गरेको भएपनि संशोधन मण्डलले आफनो तारिफ भइरहेको ठानेर मख्ख पर्दै मौन स्वीकृति दिइ आएको देखियो । वास्तवमा संशोधन मण्डलले पर्वसमय सुधार समाजको कुरा आफनो हित विपरीत छ भन्ने बुझ्न सकेको छैन । तर कुरा यतिमा सीमित चाहिं होइन ।लिच्छविसंवत्को निर्णयको ११८—११९ पृष्ठमा एक चान्द्रमासमा २९.५३०५९ सावनदिन हुन्छन् र एक सौर वर्षमा ३६५.२५८७५ सावन दिन हुन्छन् भनेर पनि दिइएको छ । यो कुरा कसैको तर्क होइन ध्रुवसत्य हो किनकि यसमा कसैले होइन भनी औंलो उठाएको देखिएको पनि छैन । तर यस्तो ध्रुवसत्य सिद्धान्तको समेत उपहास हुनेगरी पञ्चाङ्ग बनाउँदा समेत संशोधन मण्डल मौन देखिनु राम्रो संकेत बिल्कुलै होइन ।सावर्णि मन्वन्तर पञ्चाङ्ग २०८३ को पृष्ठ १६ र १७ मा आषाढको ३ गते अधिकमासारम्भ भनेर दिइएको छ भने आषाढको २९ गते अधिकमास समाप्ति भनेर दिइएको प्रत्यक्ष रुपमा हामी देख्न सक्छौं । यसले यो बताउँछ कि अधिकमास केवल २७ दिन मात्र देखाइएको छ ।
जसमा सिद्धान्त भनेको के हो ? प्रश्न उठ्छ ।
अधिकमासको सिद्धान्तले दुईवटा संक्रान्ति बीच २९.५३०५९ सावनदिन आएकै हुनु पर्दछ । यदि होइन भने त्यो अधिकमास कहलिन लायक हुदैन । यदि २७ सावनदिनमा अधिकमास बन्ने भए २१०५ वर्षको अधिकमासक्षयमास सारणी जुन लिच्छविसंवत्को निर्णयमा दिइनुको कुनै अर्थ छैन किनभने ती कुनै पनि वर्षहरुमा पौष माघमा अधिकमास दिइएको छैन । यसको मतलव पौष माघ महिनामा प्रायः २९ सावनदिनको महिना हुने गर्दछ अधिकमास भनेको केवल ३१ र ३२ दिन भएको महिनामा मात्र पर्दछ र ती महिनामध्ये कुनै दुई महिना ३१ वा ३२ दिनको महिना भइकन त्यस सौर महिना भित्र एक चान्द्रमास पर्न आए, जुन चान्द्रमासले संक्रान्ति छोएन भने त्यस्तो चान्द्रमासलाई मात्र सिद्धान्त अनुसार अधिकमास मान्न सकिने भएको हो । यदि सावर्णि पञ्चाङ्गमा दिइए जस्तै २७ सावन दिनको अधिकमास बन्ने संभव भइदिएको भए २१०५ वर्षको सारणी भित्र थुप्रै पौष माघको अधिकमास देखा पर्ने थियो । तर पौष माघमा परेको एउटा पनि अधिकमास सारणीमा देखा परेको छैन । वास्तवमा संशोधन मण्डलले पर्व सुधार समाजलाई यसरी नाजायज धाप किन दिइ आएको होला अचम्म यसमा छ । यसले त संशोधन मण्डल खुदको हानी हुने र कमाएको साख जम्मै धूलोमा मिलाउन मद्दत पु¥याउने मात्र हो भनी बुझ्नु पर्ने हो ।
हुन तः लिच्छविसंवत्को निर्णयले पनि चैत्रदेखि भाद्रसम्म संक्रान्ति नपरेको महिनालाई अधिकमास भनेर परिभाषित गरेको होइन तथापि पर्वसमय सुधार राष्ट्रिय पञ्चाङ्ग समाज नेपालले किन गलत परिभाषा बनाउन खोजेको हो ? बझ्न सकिएको छैन । लिच्छविसंवत्को निर्णयको पृष्ठ २९३ देखि २९७ सम्मको पृष्ठ पल्टाएर हेर्दा पनि थाहा हुन्छ कि २१०५ वर्षको तालिकामा एउटा अधिकमास पनि पौष माघमा परेको दिइएको छैन । यसको मूल कारण पौष माघ प्रायः २९ दिनको महिना हुने भएर नै हो । वास्तवमा यो तालिका नयराज पन्तले बनाएको होइन । यो त श्री केरो लक्ष्मणछत्रेले गनेको अधिमास क्षयमास सारणी हो र यो सारणी सर्बप्रथम बेंकटेश केतकरले बनाएको सौरार्यब्राह्मपक्षीय—तिथिगणितका अन्त्यका ५ पृष्ठमा यो सारणी छापिएको छ । यो कुरा खुद लिच्छविसंवत्को निर्णय नै सौरार्य ब्राह्मपक्षीय तिथि गणितको सिद्धान्त मुताविक गरिएको हो भन्ने पनि ठाउँठाउँमा चर्चा गरिएको छ । अधिकमास भन्ने विषय हरेक तिथिमिति गणनाका सिद्धान्तको पहरेदार हो । यसमा एउटा मात्र अधिकमास झिके वा हेरफेर गर्न खोजे केरो लक्ष्मणछत्रेको गणना , बेंकटेश केतकरको सिद्धान्त त्यति मात्र पनि होइन पंण्डित नयराज पन्तको ६४० पृष्ठको लिच्छविसंवत्को निर्णयको सारा मेहनत र सिद्धान्त तासको घर ढले जस्तै ढलेर ध्वस्त हुन जाने हो ।
यसमा संशोधन मण्डल मूक दर्शक बनेर हेर्दै आएको देखिनु राम्रो लक्षण हुँदै होइन । पर्वसमय सुधार राष्ट्रिय समाज नेपाल जहिले पनि वि.सं २०६५ पौष १६ गते नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बेवकूफ बनाउन सफल भएकोले हरेक दिन हरेक क्षण नेपाल सरकारको निर्णय कार्यान्वयनमा ल्याउन प¥यो भनेर चिच्याइ चिच्याई कराउन पाइरहेका छन् । नेपाल सरकार पनि किन त्यसरी तमासे बनेर हेरी रहेका हुन् बुझ्न सकेको छैन । संस्कृति मन्त्रालयले आफनो निर्णय आफैले कार्यान्वयनमा ल्याउन नसकिने , राष्ट्रिय ऐतिहासिक परम्परा खलबलिने मात्र होइन सम्पूर्ण खगोलीय सिद्धान्त धराशायी बनाइदिने भ्रामक कुरालाई उचाली प्रोत्साहन गर्दै देशको गौरवलाई अन्धकारको दूलो भित्र धकेल्न उद्यत भइरहेकाहरूको दुस्साहसलाई किन संशोधन मण्डलले बढावा दिई रहेको हो त्यो पनि बुझ्न सकेको छैन ।वास्तवमा देशको इतिहास संस्कृति परम्परा मात्र होइन ज्योतिषीय सिद्धान्त, खगोलीय सिद्धान्त खलबलिने कुरा कुनै पनि देशको इतिहास संस्कृति प्रेमीहरुको लागि हितकर नभएको हनाले त्यसरी मूकदर्शक मात्रै बनेर नबसौं भन्ने नै हो । त्यसैले पर्वसमय सुधार राष्ट्रिय समाजले अघि सारिएका एक एक कुरा यहाँ साउद्धरण जस्ताको तस्तै राख्न चाहन्छु सो यस प्रकार छ ः
१. सावर्णि मन्वन्तर पञ्चाङ्गको कभर पेजमा दिइएको
(क) एक वर्षमा ११ दिन फरक पर्ने सूर्य र चन्द्रको गतिलाई प्रत्येक तेस्रो वर्ष मलमास थपेर मिलाइन्छ । तथापि ७२ वर्षमा १ दिन फरक पर्दै जान्छ । यसलाई मिलाउन वि.सं २०६७ को मलमास हटाएर सिद्धान्तज्योतिषअनुरुप समन्वय गरेर प्रस्ताव गरिएको पात्रो ।
प्रतिकृयाः
पहिलो वाक्य एक वर्षमा ११ दिन फरक पर्ने कारण र सूर्य चन्द्रको गतिलाई प्रत्येक तेस्रो वर्ष मलमास थपेर मिलाइन्छ थपेर मिलाउने को हो ? सिद्धान्त के हो ? र सिद्धान्तले के भन्छ ? त्यो कुरा उजागर गर्न नसक्ने देखिएको ।
दोस्रो वाक्यमा ७२ वर्षमा १ दिन फरक पर्दै जान्छ भन्ने कुरा गणितका सिद्धान्त अनुरुप प्रमाणित गरेर देखाउन सकेको हुनु जरुरी छ तर कतै प्रमाणित गरेर देखाइएको छैन,त्यसरी केवल मनगढन्त कुरा मात्र देखाएर हुने होइन ।
तेस्रो वाक्यमा २०६७ सालको मलमास हटाएर समन्वय गरेर प्रस्ताव गरिएको भन्ने बित्तिकै हावा दारी भन्ने कुरा आँऽऽ गर्ना साथ अलंकार बुझिन्छ भने जस्तै हो । २१०५ वर्ष भित्र पर्ने अधिकमास मध्ये केवल एउटा मात्र झिक्ने थप्ने भन्नु नै असंभव कुरा हुन्छ । पूर्वबाट उदाउने सूर्य पश्चिमबाट उदाउन लगाउँछु भने जस्तै हो ।
(ख) करिब चार सय वर्ष पहिले नेपालले ज्येष्ठपूर्णिमा नै आषाढपूर्णिमा ज्याःपुन्हि भयो भनी समयसुधारेका अवस्थामा भारतले पर्वसमय सुधारपछि मात्र सुधारौंला भन्न ठीक होइन भनी यो सुधारिएको पात्रो प्रकाशित गरिएको छ ।
प्रतिकृया
यो मनगढन्त कहानी रचना गरेको मात्र हो यसको अभिलेख प्रमाण कुनै कतै छैन । चार सय वर्ष अघिका अभिलेख ठ्यासफू अनगिन्ती पाइन्छन् तर कुनै अभिलेखमा यो कुराको गुञ्जाइस भेटिएको होइन यदि भेटिएको भए बाकाइदा अघि सार्न सक्थे । यदि भए कहीं न कहीं उल्लेख अवश्य गर्थे ।
अधिकमासको कारणले अहिले पनि जेष्ठ पूर्णिमा आषाढको कुनै गतेमा पर्न जान सक्छ त्यो अहिले पनि हुन सक्छ तर तिथिले जेष्ठपूर्णिमालाई जेष्ठ पूर्णिमा नै भन्दछ आषाढ पूर्णिमा किमार्थ भनिंदैन ।
चार सय वर्ष अघि भारतको कुन प्रान्तका कुन शासकले पर्वसमय सुधारौंला भनेको थियो र यहाँ नेपालका कुन शासकले कुन सालमा कुन सधारिएको पात्रो ल्याए भन्ने त्यसको दसि प्रमाण कहाँ छ र त्यो प्रमाण छ भने यथाशीघ्र देखाउन नसक्नुको कारण के ? सोको स्पष्ट प्रमाण आगामी पञ्चाङ्ग पात्रोमा ल्याएर देखाइयोस् । हावादारी गफ गरेर अलमल्याउन पाईंदैन ।
(ग) सूर्य चन्द्र प्रकृतिले निर्धारण गरेको समयमा चाडपर्व मनाएमा नैतिक धर्मसंस्थापना हुनेछ , सभ्यताको नाश गर्ने विश्वयुद्ध आदि दैवीकोप प्राकृतिक प्रकोपहरु शान्त हुनेछन्, सबैको भलो हुनेछ । विचार गरौं ।
प्रतिकृया
अहिले हामीले व्यवहार गर्दै आएको पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पञ्चाङ्गमा सूर्य चन्द्र प्रकृतिले निर्धारण गरेको समय दिइएको छैन भन्ने कुरा प्रमाणका साथ पुष्टि गर्दै पहिला सिद्ध गरेर देखाउन जरुरी थियो । सावर्णि पञ्चाङ्ग प्रकाशित गर्न अगाडि त्यसो गरिएको छैन । खाली संस्कृति मन्त्रालयले निर्णय गरिसकेको भनेर भट्याएर हुदैन । नैतिक धर्म संस्थापना भनेको कस्तो ? हो दुनियाँलाई बोध गराइ दिन जरुरी छ । केही सीमित व्यक्तिलाई प्रभाव पारेर एक महिना अघि चाडपर्व मनाउन लगाउन सक्यो भन्दैमा बुद्धिजीवि सकललाई बोध गराएको ठहरिंदैन । सभ्यताको नाश गर्ने विश्वयुद्ध जस्ता संकट र प्राकृतिक प्रकोप शान्त गर्ने कुरा सावणर््िा पञ्चाङ्गमा दिइए अनुकूल हुँदैमा टरेर शान्त हुने होइन । दुनियाँलाई अझै बेवकूफ बनाउने प्रयास नगरियोस् ।
भित्री पृष्ठमा
१. पर्वहरु एक महिना अगाडि सारी यस पटकदेखि नक्षत्र गणना मा ३० अंशको सुधार समेत गरी तयार पारिएको पात्रो हो यो ।
२ २०६५।९।१६ को नेपाल सरकारको निर्णयनुसार वि.सं २०६८ को मलमास हटाई समय सुधारेको भित्ते पात्रो प्रकृतिसँग ट्वाक्कै मिल्छ,सोही अनुसार चैतलाई नै वैशाख मानी मलमास हटाइएको हो ।
३. चलेका पञ्चाङ्गमा माघ १ गते उत्तरायणारम्भ भनेर स्पष्ट लेखिएको छ जसको मतलब सूर्य माघ १ गतेबाट उत्तरतिर उदाएको देख्न सकिन्छ भन्ने हो, जुन कुरा शत प्रतिशत गलत हो ।
४. विषुवद् दिन भनेको दिन र रात बराबर हुने दिन भनिएको हो ।…….चैत्र ६ ,७ गते दिन र रात बराबर भइ वास्तविक विषुवद् दिन भएको स्पष्ट भइसकेको हुन्छ ।
५. देवताहरु सूर्यलाई हेरेर चाडपर्व मनाउन आउनुहुन्छ । उहाँहरु आउनु भएको वेलामा स्वागत गरौं ।विश्वकै भलो हुन्छ, ठण्डा दिमागले सोचौं ।
६. तर्कको आधारमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्र्तगतका पर्व सुधार राष्ट्रिय कार्यान्वयन समितिबाट वि.सं २०६७ को अधिकमासलाई साधारण महिना सरह बनाई १ महिना समय सुधार गरी अयनांशअनुसार पर्व सुधारिएको पञ्चाङ्ग(पात्रो) प्रकाशित गरिएको थियो ।
प्रतिकृया
१. नक्षत्र गणनामा ३० अंश नमिलेको कहाँ, त्यसले उब्जाएको समस्या के हो र गणना गरेको गणनाका चरण सबै खुलाइएको कहाँ छ ?
३० अंश नमिल्दाको अवस्था यस्तो थियो अब मिलाउँदा यस्तो भयो भनेर गणना देखाउने कि गणना भन्ने कुरा केवल मुखले बोलेर पुग्ने होइन ।
२. मलमास हटाइ समय सुधार गर्दा प्रकृति सित ट्वाक्क मिल्यो भन्ने कुरा गफ हाँकेर हुने होइन । बिग्रेको कुरा यो अब सप्रेपछि देखिएको यो भनेर देखाइएको छैन । गणना भन्ने मूर्त कुरा हुन् अमूर्त कुरा सित मूर्त कुरा ट्वाक्क मिलेको मुखले बोलेर हुने होइन ।
३. श्रावणको संक्रान्तिलाई र माघको संक्रान्तिलाई अयन संक्रान्ति भनिन्छ र हामीले पञ्चाङ्ग पात्रो हेरेर मान्ने हो । यी दिनमा सूर्य कहाँ बस्न आउँछ यो अघिल्लो दिन कहाँ बसीरहेको हुन्छ भन्ने कुरा खुल्ला आँखाले हेरेर भन्ने कुरा होइन । खगोल चित्र मार्फत बोध गराउन सकिने हुनुप¥यो अनि मात्र बोध हुन सक्ने हुन्छ त्यो देखाउन सकेको हुनु प¥यो ।
४. वैशाख संक्रान्ति र कार्तिक संक्रान्तिलाई विषुव संक्रान्ति मानिएको छ । यो पनि खगोल चित्र मार्फत बोध गराउन सकिने हुनुप¥यो अनि मात्र बोध हुन सक्ने हुन्छ त्यो देखाउन सकेको हुनु प¥यो ।
५.देवताहरु सूर्यलाई हेरेर चाडपर्व मनाउन आउँछ भन्ने कुरा विज्ञानको युगमा आएर त्यस्तो कुरा गर्दा पत्याउने कोही पनि हँदैन । त्यस्तो अलौकिक कुरा लौकिक जगतमा सुहाउने कुरा होइन ।
६. खुद पर्वसमय सुधार राष्ट्रिय समाजले तर्कको आधार प्रस्तुत गरेर संस्कृति पर्यटन मन्त्रालयलाई बहकाएको रहेछ भन्ने उनीहरुको भनाइबाटै स्पष्ट छ । संस्कृति मन्त्रालयले विज्ञान प्रमाणलाई आधार मानेर निर्णय गरेको बिल्कुलै होइन रहेछ भन्ने स्पष्ट छ । विज्ञानले प्रमाणित गरेको आधार नलिएर केवल कसैको तर्कलाई आधार बनाएको हुनाले निर्णय कार्यान्वयन हुन नसकेको हो भन्ने पनि प्रष्ट बुझिन आएको छ ।
निष्कर्ष तथा सुझाव
सावर्णि मन्वन्तर पञ्चाङ्गले अघि सारेका दाबीहरू न त प्राचीन अभिलेखसँग मिल्छन्, न त खगोलीय गणितका स्थापित सिद्धान्तसँग नै सत्ताइस(२७) दिनको अधिकमास देखाउनु, मनपरी ढंगले मलमास हटाउनु र स्रोतको रुपमा लिइएको ग्रन्थका गलत उद्धरण दिनुले नेपालको राष्ट्रिय परम्परा र खगोलीय विज्ञानलाई धराशायी बनाउने काम अवश्य भएको छ ।
सुझावहरूः
सरकारी निर्णय खारेजीः संस्कृति मन्त्रालयले वि.सं. २०६५ पौष १६ को अपरिपक्व निर्णय अविलम्ब खारेज गर्नुपर्छ। संशोधन मण्डलको स्पष्टीकरणः नयराज पन्तका अनुसन्धान र खगोलीय गणितको पक्षमा उभिने कि पर्वसमय सुधार समाजले जे भन्दैछ त्यसको पक्षमा उभिने सोको स्पष्टीकरण संशोधन मण्डलको आउनु पर्छ । वैज्ञानिक र प्राज्ञिक बहसः पञ्चाङ्ग सुधारका नाममा हुने भ्रामक प्रचारलाई रोकी पञ्चाङ्ग निर्णायक विकास समिति र खगोलविद्हरूको संयुक्त वैज्ञानिक वेधशाला÷गणितका आधारमा मात्र आधिकारिक निर्णय गरिनुपर्छ।


