
रौतहट । चन्द्रपुरको नमुना ईड्डलिस आवासीय विद्यालयले आफ्ना विद्यार्थीहरुलाई व्यावहारिक र जीवन उपयोगी सीप सिकाइरहेको छ ।
यसै क्रममा आज शुक्रबार बुक फ्रिडेमा पहिलो पटक मार्केटिङ कसरी गर्ने भनेर व्यवहारिक अभ्यासको समेत थालनी गरिएको छ । आज विद्यार्थीहरुले नमुना हाट बजार सञ्चालन गरेर त्यसको सुरुवात गरे ।यसै क्रममा विगत तीन महिनादेखि सुरु गरिएको इलेक्ट्रिसियन र प्लम्बिङ तालिमले आज पनि निरन्तरता पाएको छ ।
कक्षा सातदेखि नौसम्म तीन समूहमा विद्यार्थीहरुलाई विभाजन गरेर उक्त कार्य थालिएको विद्यालयका प्रधानाध्यापक लोक श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार टपरी,दुना बनाउने,डोरी बाट्ने,कागजको थैली बनाउने,कक्षागत सीप र ब्यावहारिक कक्षाहरु पनि सञ्चालन हुँदै आएको छ ।

साहित्यमा पनि आफ्ना विद्यार्थीहरुलाई रुची जगाउन र लेखनीको विकास गर्न कक्षा सातदेखि नौसम्मका विद्यार्थीहरुलाई सैद्धान्तिक र कार्यशाला सञ्चालनको थालनी गरिएको समेत प्रधानाध्यापक श्रेष्ठले इ खवरनेटलाई बताए । यसको लागि चर्चित साहित्यकार माधव काफ्लेले सहजीकरण गर्दै आएका छन् ।
“विद्यार्थीहरुलाई शैक्षिक सत्र प्रारम्भ हुनेबेलामा एउटा फारम भर्न लगाउँछौ । उसको रुची र विषयवस्तुप्रतिको केही जानकारी उसैले फारम भर्ने बेला रोज्न पाउँछ । त्यहि आधारमा हामी व्यावहारिक र प्रयोगात्मक रुपले उनीहरुलाई सिकाउँछौ । आगामी हप्तादेखि व्युटिसियनको तालिम पनि सुरु गर्ने तयारीमा छौं ।” विद्यालयकी सञ्चालिका लक्ष्मी श्रेष्ठले इ खवरनेटलाई बताइन ।

८ सय पचास विद्यार्थी अध्ययनरत यो विद्यालय यो विद्यालय गत एसईईमा चन्द्रपूरका निजी विद्यालयमध्ये सर्वोत्कृष्ट भएको थियो ।






