काठमाडौं । भदौ २४ गतेको घटनाले खरानी भएको सर्वोच्च अदालत लयमा फर्कन थालेको छ । यद्यपि अदालतसँगै अधिकांश मुद्दाका मिसिल जलेर नष्ट भएका छन् ।
गत बुधबार सर्वोच्च अदालतमा पेशी तोकिएका १८६ मुद्दा मध्ये ७१ वटा मुद्दाको मिसिल नष्ट भएको सर्वोच्च अदालतले जनकारी दिएको छ । यो संख्या जम्मा पेसी ३८ दशमलव १७ प्रतिशत हुन आउँछ । मिसिल जले पनि अदालतले सुनुवाइ जारी राखेको छ ।
सर्वोच्चका अनुसार गत बुधबार मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासमा पेसी तोकिएका ५२ मध्ये २३ मुद्दाका मिसिल नष्ट भएका छन् । त्यस्तै टेकप्रसाद ढुङ्गाना र शान्तिसिंह थापाको संयुक्त इजलासका ५३ मध्ये १६, सुनील कुमार पोखरेल र नृपध्वज निरौलाको संयुक्त इजलासका ४६ मध्ये १७ मुद्दाको मिसिल नष्ट भएका छन् । बुधबारका लागि पेसी तोकिएको संवैधानिक इजलासमा १५ मध्ये १५ वटै मुद्दाका मिसिल नष्ट भएको पाइएको छ ।
यसरी मिसिल नै नष्ट भएका मुद्दामा सुनुवाइ वा फैसला कसरी हुन्छ भन्ने सेवाग्राहीमा अन्योल देखिएको छ । सर्वोच्चले कार्यविधि नै बनाएर मिसिल संकलन तथा प्रमाणित गर्ने कामसमेत गरिरहेको छ ।
अदालतले जेनजी आन्दोलनमा जलेका मिसिलको डमी खडा गरेर सुनुवाइ अगाडि बढाइरहेको छ । यसअघि ११ वटा इजलास चल्दै आएकोमा अहिले ६ वटा मात्र सञ्चालनमा छन् । अदालतले मुद्दाको सुनुवाई प्रक्रियासँगै जलेका मिसिलहरुको प्रतिलिपि संकलन कार्यलाई समेत जारी राखेको छ । आफ्नो मुद्दाका मिसिलहरु ६० दिनभित्र उपलब्ध गराउने सर्वोच्चले भनेको छ ।

