
काठमाडौं । नेपाली वाङ्मयमा पहिलो पटक भनेर कीर्तिमान राखेका व्यक्तित्वसँग सम्बन्धित संस्मरणात्मक शब्दचित्रहरूको सङ्ग्रह ‘नमन’ ललितपुरमा सार्वजनिक भएको छ । साहित्यकार जयदेव भट्टराईद्वारा लिखित उक्त सङ्ग्रहभित्र ३९ जनाको व्यक्तिचित्र भए तापनि तीमध्ये धेरै अहिले यस संसारमा हुनुहुन्न। कार्यक्रममा जीवित मध्येका पहिलो महिला कलाकार उर्मिला गर्ग उपाध्याय, वनस्पतिविद डा. तीर्थबहादुर श्रेष्ठ, गायन समाजसेवामा समर्पित नुपूर मट्टाचार्य, नेपाली चलचित्रकी पहिलो नायिका भुवन थापा चन्द, प्रसिद्ध सितारवादक विजया शर्मा, नेपाली रङ्गमञ्चका प्रथम नायिका शकुन्तला शर्मा, वास्तुविद र राष्ट्रिय झण्डाका प्रवर्तक शङ्करनाथ रिमाल, कला जगतमा सुप्रसिद्ध नाम शशी शाहहरू मञ्चमा उपस्थित हुनुहुन्थ्यो।
उहाँहरू लगायत मञ्चमा आसिन सबै व्यक्तित्वहरूबाट पुस्तक लोकार्पण भएको थियो ।
‘नमन’ पुस्तकबारे दुई साहित्यकारहरू अशेष मल्ल र प्रा. डा. लक्ष्मणप्रसाद गौतमले बोलेका थिए भने कृतिकार जयदेवले आफ्नो सिर्जना यात्राबारे स्पष्ट पार्नु भएको थियो। उद्घोषक ठाकुर बेलवासेले कृतिकार जयदेव परिवारमा पनि प्रिय र समाजमा पनि प्रिय मान्छे हुन् भन्नु भएको थियो। वरिष्ठ कलाकार तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति के. के. कर्माचार्यको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो।







