
नेपाली भाषा र साहित्यको उन्नयनमा अविछिन्न लागिरहने ब्यक्ति हो प्रा.डा.कपिल लामिछाने । नेपाली लोकसाहित्यमा विद्यावारिधि प्राप्त लामिछानेकाअन्यथा,जनमानव बोन्साई , बोन्साई,विस्थापन, अणिमा लगायतका लघुकथा संग्रह प्रकाशित भैसकेका छन् । यसैगरी बालसाहित्यमा पनि उनको उल्लेख्य योगदान रहेको छ । झण्डै एकदर्जन बालकथाका किताबहरु प्रकाशन गर्नुभएका प्रा.डा. लामिछानेका २ वटा बाल उपन्यास पनि प्रकाशित भैसकेका छन् । उनका कथासंग्रह,विभिन्न अध्ययन अनुसन्धानात्मक पुस्तक पनि आएका छन् । हालै उनको पहिलो नियात्रा कृति राराको डिलमा आएको छ । प्रा.डा. लामिछानेले हालसम्म झण्डै पाँच दर्जन विविध विधाका कृतिहरु प्रकाशित गरिसकेका छन् । उनी समालोचनामा पनि कलम चलाउँछन् । विभिन्न साहित्यिक संघसंस्थामा समेत जिम्मेवारीमा रहेर नेपाली भाषा साहित्यमा योगदान गर्ने बहुप्रतिभाका विशिष्ट प्राज्ञिक ब्यक्तित्व प्रा.डा. कपिल लामिछानेसँग इ खवर नेटको लागि प्रधान सम्पादक प्रदीप सापकोटाले नेपाली साहित्यको वर्तमान अबस्थाको सेरोफेरोमा रहेर गरेको संक्षिप्त कुराकानीलाई यहाँ प्रस्तुत गरिएको छ ।
१. हजुरको लेखनीको प्रारम्भको बारेमा छोटो जानकारी दिनुहुन्छ कि ?
मेरो साहित्य यात्रा भारतबाट सुरु भएको हो । भारतको वाराणसीमा पढ्दा त्यहाँबाट वर्षको एकपटक कल्याणी पत्रिका छापिन्थ्यो । त्यसमा प्रकाशनार्थ कविता लेख्न भनेपछि मैले कविता लेखेँ र शीर्षक ‘कामना’ राखेँ । त्यो २०३४ को कल्याणी पत्रिकामा प्रकाशित भयो । २०३७ देखि म काठमाडौँमा रहेर अध्ययन गर्न थालेँ र कथा लेख्न थालेँ । २०४२ मा ‘मोहभङ्ग’ शीर्षकको कथा मिर्मिरे पत्रिकामा छापियो । २०४४ मा पहिलो कथासङ्ग्रह मरुभूमिका पोथ्राहरू छापियो । २०४२ मा ‘भानुभक्त आचार्य : नेपाली साहित्यका जग र नेपाली संस्कृतिका द्योतक’ समालोचना भैरहवाबाट निक्लने दैनिक निर्णय पत्रिकामा छापियो । २०४४ देखि लघुकथा, २०४५ देखि बालकथा, २०५१ देखि बालकथासङ्ग्रह, २०५७ देखि समालोचनाका पुस्तक छापिए । मेरो लेखनको प्रारम्भ यसरी नै भएको हो । अहिलेसम्म सिर्जना, समालोचना, अनुसन्धान र सम्पादन गरी सत्तरीभन्दा बढी पुस्तक प्रकाशित भएका छन् ।
२. कुन कुन विधामा यहाँको कलम चलेको छ ?
कथा, लघुकथा, बालकथा, बालउपन्यास, कविता, समीक्षा र समालोचना अनि पछिल्लोपटक नियात्रामा पनि ।
३. नेपालमा लेखक भएर बाँच्ने अबस्था छ ?
केही लेखकलाई होला । सबैलाई वा आम लेखकलाई लेखक भएर बाँच्ने अबस्था देख्दिनँ । साहित्यको स्तर, खस्कँदो पठन संस्कृति, सुलभ सञ्चार प्रविधि आदि कारणले लेखन जीवनवृत्ति बन्न सकेको छैन ।
४.सफल लेखक, साहित्यकार बन्न के गर्नुपर्दछ ?
यो एउटा जटिल प्रश्न हो । सबैलाई फ्रेममा ढालेर यसै गरेमात्र सफल लेखक ,साहित्यकार बन्न सकिन्छ भन्न सकिंदैन । देशदुनियाँको राम्रो ज्ञान, आफूले लेख्ने विधाको सैद्धान्तिक ज्ञान तथा आफ्नो भाषा र विदेशी भाषामा त्यसको लेखन परम्परा वा इतिहासको ज्ञान तथा वर्तमान अवस्थाको सही पहिचान हुनुपर्ने हुन्छ । यसलाई स्रष्टाको पूर्वयोग्यताका रूपमा लिँदा पनि हुन्छ । लेखनमा निरन्तरता, लगनशीलता, विषयको सूक्ष्म निररुक्षण अनि पाठकप्रति पूर्ण जिम्मेवारीपूर्ण लेखन । यति हुँदा हुन्छ कि ।
५. लघुकथामा जम्नुभएका यहाँलाई अर्काे प्रश्न । वर्तमान लघुकथाको अबस्था कस्तो पाउनुभएको छ ?
वर्तमानमा नेपाली लघुकथाको अवस्था उत्साहजनक छ । कुनै समय यसले प्राज्ञिक मान्थता पाउन र स्थापित हुन मौन सङ्घर्ष गर्नुपरेको थियो । अहिले भने लघुकथामा सयौँ स्रष्टा लागिरहेका छ्न, एक हजारभन्दा बढी एकल र संयुक्त सङ्ग्रह प्रकाशित भएका छन् । हरेक साहित्यिक पत्रिकामा यसले स्थान पाइरहेको छ । यसमा स्नातकोत्तर स्तरीय सयौँ शोध भइसकेका छन् । दर्शनाचार्य विद्यावारिधि स्तरीय अनुसन्धान भएका छन् । समालोचना भइरहेका छन् । सैद्धान्तिक ग्रन्थ प्रकाशित भएका छन् । दर्जनजति सामाजिक सञ्जालबाट दिनहुँ लघुकथासम्बन्धी लाइभ वाचन र समीक्षा कार्यक्रम भइरहेका छन् । लघुकथा गोष्ठी र सेमिनार भइरहेका छन् । प्रकाशकहरू लघुकथा प्रकाशन गर्न लालायित छन् । यसको तात्पर्य के हो भने लघुकथाप्रति पाठकको आकर्षण बढेको छ । यसले गर्दा लघुकथाका स्रष्टामा उत्साह पलाएको छ । लघुकथाले बजार लिएको छ । म पनि यतिखेर लघुकथाको सैद्धान्तिक ग्रन्थको तयारीमा छु ।
६. साहित्यमा आउन चाहने नयाँ पुस्तालाई के भन्नुहुन्छ ?
साहित्यमा प्रायः नबुझी लाग्ने गरिन्छ । मेरो अनुभव पनि यही छ । योजना बनाएर कोही पनि साहित्यमा प्रवेश गर्दैन । साहित्यलाई पहिले आत्मसन्तोष वा सुख, मनोरञ्जन आदिको विषयमात्र मानिन्थ्यो । वास्तवमा साहित्य संस्कृतिको अङ्ग हो भने यो सामाजिक रूपान्तरणको एउटा सशक्त साधन पनि हो । यसबाट अर्थोपार्जन र जीवनवृत्ति चल्ने अवस्था छैन । यही बुझेर यसमा लाग्ने हो भने निराशा र हताशाको सिकार हुनु पर्दैन ।
७. नेपाली साहित्यको स्तर कस्तो लाग्छ ?
स्तर भनेको सापेक्षिक हुन्छ । विश्व साहित्यको दाँजोमा त हामी सायद कहिल्यै पुग्न सक्दैनौँ । नजिकको हिन्दी बङ्गालीकै तुलनामा पनि हामी धेरै पछि र तल भएको अनुभव गरेको छु । यसो हुनुको कारण साहित्यमा लगन र लगानीको कमी हो ।
८. वर्तमान नेपाली साहित्य क्षेत्र पनि गुट उपगुटमा विभाजित छ भनिन्छ ? यहाँको यस बारे धारणा के छ ?
बजारमा हजार भन्छन् । साहित्यमा पनि गुट र उपगुट छन् । एकजनाको गुट, दुईजनाको गुट, तीनजनाको गुट, चारजनाको गुट, पाँचजनाको गुट, छजनाको गुट, सातजनाको गुट, आठजनाको गुट, नौजनाको गुट, दसजनाको गुट आदि विभिन्न व्यक्तिगत र विचारगगत गुट छन् । स्थानीय, क्षेत्रीय, प्रादेशिक र सङ्घीय गुट पनि छन् । यी व्यक्ति र निहित स्वार्थका गुट मिलेर एक वृहत्तर समष्टिगत राष्ट्रिय हितलाई पृष्ठपोषण वा मलजल गर्दछन् भने ठिक छ । मनमिल्दाको गुट बन्दा हुन्छ । तर गुटले गुटगत स्वार्थ मात्र हेर्ने र समष्टिमा राष्ट्रिय स्वार्थलाई निस्तेज पार्ने काम गर्दछ भने त्यस्ता गुट नभएकै ठिक ।
९. अन्त्यमा, मैले सोध्न छुटाएको र हजुरलाई भन्न मन लागेको कुनै कुरा बाँकी भए ?
प्रदीप सापकोटाज्यू, सबै कुरा न सोधेर सकिन्छ न भनेर । धेरै कुरा सिर्जना र समालोचनामा भन्दै आएको छु । भन्ने नै छु ।
मलाई यो अवसर दिएकोमा इ खबर नेट अनलाइन र तपाईंलाई धन्यवाद छ ।
‘








