
भक्तपूर। नेकपा (एमाले)का स्थायी कमिटी सदस्य भानुभक्त ढकालले पार्टीविरुद्ध षड्यन्त्र जारी रहे प्रतिवाद गर्न सडकमा उत्रन तयार हुनुपर्ने बताएका छन् ।
एमाले जनसंगठन संयन्त्रका प्रमुख समेत रहेका ढकालले बिहीबार भक्तपुरको गुन्डुमा आयोजित एक कार्यक्रममा पार्टी ‘जेनजी’ पुस्ताको मागविरुद्ध नरहेको जिकिर गरे ।
एमाले जेनजी पुस्ताको विरुद्धमा नभएको कुरामा उनले जोड दिए । जेनजीले उठाएको मागको विपक्षमा एमाले नभएको उनको जिकिर थियो ।
राजनीतिमा ‘कू’ भएको भन्दै त्यसविरुद्ध खबरदारी गर्नुपर्नेमा जोड दिए ।
“राष्ट्रिय राजनीतिमा भएको ‘कू’प्रतिको सावधानीमा नेपाली जनतालाई सचेत गराउनका निम्ति हामीले खबरदारी गर्न विलम्ब गर्नु हुँदैन । षड्यन्त्र जारी रह्यो भने त्यसको विरुद्ध प्रतिवाद गर्नका निम्ति एमालेसँग आबद्ध जनवर्गीय संगठन, जनप्रतिनिधिहरू मात्रै होइन,” उनले भने, “पार्टीका लाखौँलाख सदस्यहरू पनि सडकमा उत्रिनको निम्ति तयार हुनुपर्छ ।”




