तीन अनुवाद कविता
डा. सियोङ्ग डोयुङ्ग
१.त्यो ढोका जसले मलाई खोलिदिन्छ
प्रत्येक दिन,
प्रत्येक दिन त्यो ढोका हो जसले मलाई खोलिदिन्छ ।
एक पटक प्रयोग गर्न मिल्ने दिनमा
बढ्दो रूपमा
म मन पराउँछु मिल्काउनु मिल्ने हाँसोलाई
आँसुलाई
र कागजका कपलाई ।
के म पनि मिल्काउनु मिल्ने मायामा रमाउँछु ?
के म मिल्काउनु मिल्ने जन्ममा रमाउनेछु ?
एउटा मिल्काउनु मिल्ने क्षण, पोखिँदैछ,
अब कच्चा र बेचैन छ ।
जीवनलाई निल्न नदिऔं
स्वाद नलिई ।
हाम्रा कठिनाइहरूको सेवा गर्न बन्द गरौं
दुःख,
तिमीले जति धेरै कन्याउँछौ, त्यति नै यसले तिमीलाई स्वामित्वमा लिएको जस्तो व्यवहार गर्छ(एउटा खुजली ।
छनोट हृदयको बानी हो
हे सुरुका नाभीहरू,
हे पहाडहरू, खेतहरू र समुद्रहरू
विगत एउटा आवाज हो जुन बित्छ सुनिएरै
वर्तमान, सहमतिमा टाउको हल्लाउनुहोस्
समय हिचकिचाउँछ ।
सेता केशराशीहरू हावामा उड्छन्
“के हामी पुनः प्रयोग गर्न मिल्ने संसारलाई धोइरहेका छौं ?’
पानी पर्छ ।
२. जीवनमा दुःख हुन्छ त्यो आँसुलाई पनि थाहा हुँदैन
फूल झर्छ
खाली गर्नै पर्ने एउटा ऐना जस्तै
साँच्चै प्रतिबिम्बित हुनलाई, फूलले आफैलाई खाली गर्छ ।
एउटा नयाँ फूल देखाउनलाई
हावाले यसलाई बिस्तारै सफा गर्छ ।
म झरेको फूलले छोडेको डाँठलाई
समात्छु हाते ऐनालाई झैँ
–जो हावाको ऐना हो ।
जीवनमा दुःख हुन्छ
त्यो त
आँसुलाई पनि थाहा हुँदैन ।
३. एउटा शब्द जस्तै
आकाश र पृथ्वी अनन्तताका ओठ हुन्
त्यहाँ,
हामी एउटा शब्द झैँ बाँच्छौं ।
थाहै नपाई लगाइएको औंठी जस्तै
थाह छैन कसको हातले लगाइदिएको थियो
मानिसहरू बाँच्छन्, संसारमा अटाउँदै ।
आज,
मलाई थाहा छैन म कहाँ छु ।
बस उभिरहेको छु—
हातहरूले हातका छापहरू कुँद्छन्
खुट्टाले खुट्टाका छापहरू कुँद्छन् ।
जीवन भनेको शून्यतामा बाटो खोज्नु हो
चराहरूलाई थाहा छ
कि शून्यता नै अनन्तता हो ।
बाँच्नु भनेको एक पछि अर्को सीमा भत्काउनु हो ।
जीवन बित्दै जाँदा चिसो हुँदै जान्छ
उनीहरूले लेखेको समयले
अन्तमा तिनीहरूलाई त्यागिदिन्छ ।
वसन्तको एकदिन जब चेरी फूलहरू हावासँग साथी बन्छन्
पहाड जस्ता भवनहरू,
उपत्यका जस्ता गल्लीहरू,
पानी जस्ता मानिसहरू ।
अनौठोपनबाट थकित मानिसहरू
यसलाई संयमतापूर्वक जोगाउँछन्, डराउँछन् कि उनीहरूमा यसको बानी पर्न सक्छ ।
एउटा स्वर्गदूत तिनीहरूको ओठको बीचमा पस्छ
र तिनीहरूले एउटा मुस्कान छोड्छन् ।
(अुनवादक -चन्द्र गुरुङ)