भकुण्डेबेसी,काभ्रे । नमोबुद्ध नगरपालिकाको बीपी राजमार्गमा भएको सवारी दुर्घटनामा गम्भिर घाइते भइ धुलिखेल अस्पतालमा उपचाररत नमोबुद्ध नगरपालिकाका पूर्व नगरप्रमुख टिपी शर्मा तिमल्सिनाको निधन भएको छ ।
गत साउन १० गते नार्केबाट काठमाडौंतर्फ आउँदै गरेको स्कूटरले विपरित दिशाबाटा आउँदै गरेको स्कुटरलाई ठक्कर दिंदा गम्भिर घाइते भएका उनी धुलिखेल अस्पतालमा ५७ दिन उपचारार्थ थिए । यसै क्रममा मंगलबार विहान उनको निधन भएको पारिवारीक श्रोतले बताएको छ ।

उनी वि.सं.२०७४ सालमा नमोबुद्ध नगरपालिकामा नेकपा एमालेको तर्फबाट नगर प्रमुख पदमा निर्वाचित भएका थिए ।
सरल,भद्र,सबैसँग मिल्ने स्वभावका धनी स्व.टिपी शर्मा तिमल्सिना पत्रकारीतामा पनि रुची राख्थे । नेपाली साहित्यमा समेत उनको सक्रियता थियो । उनका केही कृति प्रकाशित पनि छन् । उनी रोशी वाङ्मय प्रतिष्ठानका अध्यक्ष पनि हुन् ।
उनको निधनले काभ्रेले एक योग्य राजनीतिज्ञ र बहुप्रतिभाशाली व्यक्तित्व गुमाएको उनीसँगका निकटहरु बताउँछन् ।

उनको पार्थिव शरीर नमोबुद्ध नगरपालिकामा लगि अन्तिम श्रद्धाञ्जली अर्पण गरियो । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं पूर्वमन्त्री गोकुल बास्कोटा र केन्द्रिय सदस्य रेशम लामाले पार्टीको झण्डा ओडाएर सम्मान सहित श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
उनको आजै अन्त्येष्ठि गरिएको छ ।