
कविता
बुवाको कविता
राजेश ढुंगाना
लेख्छु भनेको कविता
बुवाको स्मृतिमा
तर
आँशुमा कविता नलेखिँदो रहेछ
त्यसैले लेख्न सकिन
बुवाको कथामा कविता
हो,
प्रत्येक पल्ट लेख्न खोज्दा
आँशुको बतासले
कापीको पन्ना उडाइलान्छ
सक्तिन म लेख्न
फेरि पनि
बुवाको कथामा एउटा कविता
म जतिबेला
जीवनको सबैभन्दा धेरै
आँशु रोएको थिएँ
मुटुमा
म
यतिबेला पनि
लेख्न नसकेर
बुवाको कथामा एउटा कविता
केवल
बुवाले सधैं खाने
एउटै थाल र गिलास हेरेर
मुटुमा
मुटुकै आँशु रोइरहेछु
सम्भवतः सक्तिन होला म
लेख्न, बुवाको कथामा
एउटा कविता ।







