
लघुकथा
सम्मान
सुरेशकुमार पाण्डे
‘हजुर,हाम्रो कार्यक्रममा प्रमुख अतिथि पाल्नुहोस् है सर’- तुलसे एकजना बयोवृद्ध साहित्यकारका घरमा गएर निमन्त्रणा गर्यो।
पुराना असी बसन्त पार गरेका साहित्यकार मोहनलालले तुलसेको यो निवेदन अस्वीकार गर्न सकेनन् ।यद्यपि उनलाई खासै सञ्चो पनि थिएन।
‘हस् बाबु हजुरले भनेपछि म जसरी पनि आउँछु। कतिबजेबाट सुरू हुन्छ कार्यक्रम ?’
मोहनलालले समय बुझ्न खोजे।
‘अब एकघन्टा पछि हजुर !नजिकको पत्रकार भवनमा पुग्नुहोला है सर ।’- तुलसेले बिनम्र जानकारी गरायो।
‘ए,नजिकै रहेछ म समयमै आइपुग्छु।’ मोहनलालले भने।
‘एघार बजेबाट एउटा कार्यक्रम छ, सितल म त्यो कार्यक्रममा जाँदै छु।’ मोहनलालले आफ्नो श्रीमतिलाई जानकारी गराए र हिंड्न खोजे।
‘भयो नजानुहोस् हजुरलाई जरो आएको छ।’-सितलाले सुझाइन्।
‘होइन नयाँ-नयाँ साहित्यकार हुन् उनलाई नराम्रो असर पर्नसक्छ।म एकछिन त्यहाँ पुगेर बसे भनें उनीहरूको हौसला बढ्ने छ।’- मोहनलाल त्यति भनेर हिंडे।
हल खचाखच भरिएको थियो उनी गएपछि कार्यक्रम बनाए।तुलसे आफैले सञ्चालन गर्दै थियो।प्रमुख अतिथि ,बिशिष्ट अतिथि अध्यक्षलाई मञ्चमा बोलाइयो।
कार्यक्रम सुरूभयो तर मोहनलालको नाम कतै आएन।
अन्तिम समयसम्म उनी एउटा कूनाको कुर्सीमा बसिरहे।
कार्यक्रम समापनपछि उनी आफ्नो घरतिर लागे।
दाङ घोराही







