
नियात्रा
बाह्र वर्षपछि जोगिटार पुग्दा
प्रदीप सापकोटा
एक महिना अघि साहित्यकार,रचनाका सम्पादक दाजु प्रतिक घिमिरेले मेसेज गरे । मेसेज मात्र हैन् फोन नै गरे –‘पुषको १३ गते समय अन्त नदिनु है । चण्डेनीमण्डन,काभ्रेस्थित माझीगाउँमा साहित्यकार महेन्द्र चालिसेको नियात्रा कृति लोकार्पण कार्यक्रम छ । जानुपर्छ । निम्तो गरें ।’
मैले भनें- ‘किन आतिनु भा । अझै झण्डै महिनादिन छ त ।’
उनले जाने नजाने निश्चित गर्न भने ।
मैले भनें –‘जाने ।’
२०८१ त्यो दिन पनि आयो । विहानै साहित्यकार छविरमण सिलवालको फोन टिनिनि बज्यो । जीवनसाथीसँग गफिंदै कफी पिउँदै थिए । उहाँको आग्रह थियो –‘संगै जाउँ।’ स्कुटी निकालेर पेप्सीकोला छाप्रोतिर हान्निएँ ।
उहाँको घर पुगें । चिसो छ मौसम हिजोअस्तिभन्दा बेशी नै । बादलले आकासमा पुरै सिरक ओढेको छ ।
मौसम पूर्वानुमान महाशाखालाई हवाला दिएर हिजो बेलुका आफैंले समाचार लेखेथें–‘भोली चिसो बढ्नेछ । मौसम बद्ली भएर कतै कतै पानी पर्नेछ ।’
छवि दाजुले गेट खोले,स्कुटी राखेर हामी निस्केउँ ।
हामी दुईभाइ चक्रपथको गाडी पक्डेर छाप्रोबाट चावहिल चोक हान्नियौं । आयोजकहरुको जनाउ थियो आठ बजे बस छुट्नेछ । तर हामीलाई थाहा थियो –नेपाली समय एकाध ढीला हुनेछ । त्यस्तै भयो । हामी भने आयोजकले दिएको समयभित्रै पुगेका थियौं । फुर्सदमा चिनारुहरुसँग हार्दिकता साट्यौं भने नयाँहरुसँग चिनापर्ची गरेउँ ।
तीन वटा वस थिए । हाम्रो टीम लिडर प्रतिक दाजु । बस हिड्यो पौने नौ बजे । मुलपानीको अन्तराष्टिूय खेलमैदानलाई दाहिने पारेर अघि बढियो –साँखुु .हुँदै । यसो यताउति हेर्दा दिक्क लाग्छ । उब्जाउ फाँट पनि कोपविभाजनको शिकार भएका छन् । भिरालो जग्गा पनि भूमाफियाहरुले बाँकी राखेका छैनन्। जताततै धर्सा छन् । मनै दुखाउँने । कार्तिके पुग्छौं । एकछिन रोकिन्छन् बसहरु । बाहिर हेर्दा बायाँ पर जर्सिङपौवा देखिन्छ लमतन्न परेको । होटल नै होटलहरु भरिएका छन् त्यता । कार्तिके –सानो बजार । उकालो लाग्छौं । मेरो सीट पार्टनर छन् कवि,सञ्चारकर्मी अभय श्रेष्ठ,उनी चंकी श्रेष्ठको नामले लेख्दादेखिका चिनारु दाजु । दायाँपट्टी सीटमा दिदी सुमन थापा संगम र प्रोल्लास सिन्धुलिय । उता छविरमण र गोपीकृष्ण ढुँगाना पनि । सुमन दिदीले चकलेट खुवाइन् । गफिँदै पनि छौं हामी ।
गाडीमा राखिएको फ्रुटी र विस्कुटको प्याकेट मन्दिरा मधुश्रीले बाँडिन्.। नगरकोट पुगेर हामी नाल्दुमतर्फ झर्छाैं । हामी मलिलो कुन्तावेशीको उब्जाउ फाँट हेर्दै अघि बढ्ने क्रममा कुन्तावेशी बजार पुग्छौं । त्यहाँबाट केही उत्तर मोडिएर हिंगुवापाटी नपुग्दै फेरी पूर्वतिर मोडिन्छौं । आहा ! हिजोको चण्डेनी जाने बाटो र आजको धेरै फरक । अहिले त पुरै अलकत्रे पो भएछ । मैले पुराना दिन सम्झें -डेडिथुम्का माबिदेखि पाइन्टमाथि घुँडासम्म सारेर रातो माटोको हिलोमा जोगिँदै पैदल यात्रा तय गरेथें । पुराना दिन सम्झेर नोष्टाल्जिक भएँ ।
हामी जाँदैछौ काभ्रेको देउपूर मण्डन नगरपालिका वडा नं.१० जोगिटार । जहाँ बसेर चर्चित वरिष्ठ आख्यानकार रमेश विकलले सृजना गरेका थिए यथार्थपरक उपन्यास ‘अविरल बग्दछ इन्द्रावती’ । अनि त्यसमै बनेको थियो बद्री अधिकारीको निर्देशनमा त्यतैतिर सुटिङ गरिएको टेलिसिरियल । आज उनकै छोरा महेन्द्र चालिसेको नियात्रासङ्ग्रह ‘लेकबेंसीका सुगन्ध’ कृति त्यही स्थानमा सार्वजनिक गर्ने कार्यक्रम अन्तर्गत हामी थुप्रै स्रष्टा,साहित्यकारहरु निम्त्याइएका थियौं ।
आख्यानका एक नक्षत्र विकल,उनको ससुराली गाउँ मण्डन । माझी बस्ती छ । तल नजिकै छ इन्द्रावतीतिर । विजय चालिसे, महेन्द्र चालिसे,आलोक चालिसे लगायतले विकलको बिंडो थाम्दैछन् । सामाजिक यथार्थवादी आख्यानका पर्याय लाग्छन् विकल मलाई । उनले त्यहाँको माझी बस्तीमा कथित उपल्लो जातका सामन्तवादी सोचका ठालुहरुबाट सताइएका कुराहरुलाई नजिकबाट नियालेर लेखे–’अविरल बग्दछ इन्द्रावती’ ।
जोगिटार । उत्रियौं हामी बसवाट । जोगिटारको लमतन्ने फाँटमा समेत घर ठडिन थालेछन् । आजभन्दा करिव १२ वर्ष अघि म यहाँ पटक पटक आएको थिएँ– एउटा गैह्रसरकारी संस्थाको जागिरेको रुपमा । स्थानीय राजनीतिकर्मी महिलाहरुको क्षमता विकासमा सघाउने ध्येयको कार्यक्रम,जसमा करिव ४ वर्ष काम गरें । यसैले मलाई यहाँको चप्पा चप्पा थाहा छ । मैले एकाध चिनारु भेंटे । तर उनीहरुले मलाई कहाँ सम्झिरहन्थे । मैले नाम दिएपछि बल्ल याद गरे । आयोजकले खाना तयार हुन समय लाग्ने भएकोले एक घण्टा जति आ -आफ्नो मनमौजी घुम्न भने । हामीले समय सदुपयोग गरेउँ । इन्द्रावतीतिर हाम्रा पाइला सोझिए ।
माझी गाउँ धेरै परिवर्तन भएछ । चौतारो राम्रैसँग चिनिएछ । चौतारोमा फलामे बेन्ची बसेछ । रमेश विकलकी उपन्यासकी नायिका लालगेडीले घाम ताप्ने ढुङ्गो त्यस्तै रहेछ – उतिवेला आउँदा जस्तै । बस्तीले काँचुली फेरेछ । छाप्राहरु कंक्रिटे घरमा परिणत भएछन् । एकछिन यताउति हेरें । चौतारोमा केही कविहरु बसेर कविता सुनाउँदै थिए । यही हो यात्राको मज्जा । हामी भने इन्द्रावतीको पानी छुन हतारिएका थियौं । छविरमण र मधु पाठक दाजु,सुषमा आचार्य बैनी सहित झरेउँ इन्द्रावतीतिर । इन्द्रावतीले वारीपारीको खेतलाई बगरमा परिणत गरिछे । केही फोटो खिच्छौं । प्रतिक दाजु र भाउजु अनि नानीसँग पनि फोटो लिंदै गर्दा विक्रम भक्त जोशी र हरिष कल्पित दाजुहरु आइपुग्छन् । मनमौजी फोटा खिचेर फेरी फर्किन्छौं । उहिले मैले हल्लाएको झोलुँगेपुल अलि पर देखियो।
माझी गाउँको चौतारो पुगेर फरक मार्छाैं । दुईचार जना माझीबाहरु बसेका रहेछन् । मैले शकुन्तला माझीको खोजी गरें । उनी विवाह गरेर रामेछापतिर पो गैछिन् रे ।उ त्यहि घर हो उनको भनेर बाले देखाए । मैले देखेको शकुन्तलाको घर कंक्रिटे पक्कीमा रुपान्तरण भएर फरक आकारमा ठडिएको रहेछ कसरी चिन्नु त । शकुन्तला मेरो उतिवेलाको आरडीआईएफको फन्डिङमा भएको राजनीतिमा महिला सम्बन्धि कार्यक्रमकी एक सक्रिय सदस्य थिइन । सरल तथा जिज्ञासु स्वभावकी ,हरेक विषयमा चासो राख्ने र जानकारी लिने उनको बानी थियो ।
हामी जोगिटारतिर उभों लाग्यौं । हिजो बल्लबल्ल हिड्न सकिने यो बाटो आज फराकिलो र ढुङ्गा सोलिङ्ग गरिएको रहेछ । मैले पाँचघरे खोजें । तर कतै देखिन् । यहिं जस्तो लाग्थ्यो । तर अस्तित्व नाई । कुतुहल जाग्यो मनमा । सडकमा हिड्ने एक सज्जनलाई सोधें ।
‘उ त्यहीं हो नि हजुर । भुकम्पपछि सब भत्कियो।’
साँच्चै पुराना उस्तै पाँचवटा घर थिए त्यहाँ नेपालहरुको उतिवेला । ती घरमध्ये एउटामा धेरैचोटी मैले चिया पिएको स्मरण गरें ।
हामीभन्दा अघि नै धेरैले खाना खाइसक्नुभएछ । हामी पनि खानाको लाइनमा लाग्यौं । लाइन हाम्रो संस्कृति नै हो । के मा लाइन लाग्न पर्दैन् र हाम्रो देशमा ।
खानापछि कार्यक्रमको लागि सडकमाथिको सामुदायिक हलमा हामी प्रवेश गरेउँ । कार्यक्रमको सञ्चालन गरे आलोक चालिसेले । प्रमुख अतिथिको आसनमा विराजमान थिए–वरिष्ठ साहित्यिक पत्रकार एवं रमेश विकल प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरे । कार्यक्रमको अध्यक्षता गरे– स्थानीय आयोजक संस्था अर्जुन राधा फाउण्डेशनका संरक्षक अर्जुन नेपालले । मञ्चासिन हुन बोलाइए –समीक्षक गोपि मैनाली,विजय चालिसे र ठाकुर शर्मा भण्डारी । सबैलाई स्वागत अभिवादन सहितको मन्तव्य राखे –अर्जुन राधा फाउण्डेशनका अध्यक्ष सुमन नेपालले । सुमन भाइ, मैले राम्रैसँग चिनेको व्यक्ति । धेरै पटक,धेरै फोरममा भेटेको मान्छे । असल,मृदुमुस्कानका धनी छन् । जहिल्यै केही न केही गर्ने हुटहुटी पाल्छन् । सहकारी अभियन्ता पनि हुन् । राजनीतिमा पनि उतिक्कै क्रियाशिल छन् । समाजसेवामा त फाउण्डेशन स्थापना गरेरै लागेका छन् ।
कार्यक्रम छोटो भएको जानकारी आलोकले गराए । यस अघि मञ्चासिन प्रमुख अतिथि घिमिरे सहितले महेन्द्र चालिसेको नियात्रा कृतिे‘लेकबेंसीका सुगन्ध’को लोकार्पण गरे । प्रकाशक संस्था रहेछ सूरभि प्रकाशन । त्यसका अध्यक्ष साहित्यकार बाजुराम अर्यालले प्रकाशकीय मन्तव्य राखेपछि विजय चालिसेले शुभकामना मन्तब्य राखे । कृतिकार महेन्द्र चालिसे विजयका भाइ । भाइलाई शुभकामना दिए । पुस्तकको समीक्षात्मक टिप्पणी राखे ठाकुर शर्मा भण्डारीले । तर मलाई पुस्तक भन्दा पनि कता कता गएजस्तो लाग्यो उनको टिप्पणी । यसपछि बोलाइए गोपी मैनाली । आफुले घुमेका स्थानको पुर्नस्मरण,आनन्द अनुभूति,खोज समेत भएको सन्देशप्रद कृति रहेको भन्दै उनले विकलको लेखनको प्रभाव रहेको बताए । प्रमुख अतिथिले विकलको लाहुरे भैंसीको मुख्यपात्र द्धारे समेत विकलले ३५ वर्ष अगाडि आफुलाई चिनाएको बताउँन भ्याए । विगतमा जोगिटार विकलसँग आउने गरेको र विकलको ससुराली गाउँ पनि भएको जानकारी दिए । घिमिरेले पुर्खाको पदचाप पछ्याएकोमा आफु विकलको साथी भएकोमा खुशी भएको भाव व्यक्त गरे।
हुन पनि हो, पछिल्लो पुस्ताले अघिल्लो पुस्तालाई जितोस भन्ने चाहाना घिमिरेको जस्तै अग्रज पुस्ताको हुने रहेछ । यसैसंगै विमोचित कृति सहभागी सबैलाई हात हातमा बाँडियो । चिया खाइयो । हामी एकछिन परसम्म गयौं (मधु,छवि,सुषमा,र म) । सुमन दिदी अघि इन्द्रावती जाँदा नवोलाएको भनेर मसँग दुःखी हुनुभएको थियो । मलाई पनि कस्तो कस्तो अप्ठ्यारो लाग्यो । मैले दिदीलाई सरी मागें । चिया पिउन फोन गरियो उहाँलाई अलिक तलको होटलमा । हामीले चिया खाएर निस्किँदा बल्ल उहाँहरु आउनुभयो । तर चिया खाइसकेको भनेपछि हामी गाडीतिर लाग्यौं । यसैक्रममा बरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ’रोदन‘,देविका तिमिल्सिना,राजेश खनाल लगायतका दाजुहरुसँग फोटो लिइयो ।
साहित्यका विशिष्ठ साधकहरु, समकक्षी र कनिष्ठहरु धेरैसँग भेटघाट,भलाकुसारी साँच्चै रमणीय रह्यो । यादगर रह्यो यात्रा । यस्तो अबसरको लागि आयोजकलाई धन्यवाद नभनि रहन सकिएन् । जोडाइदिने प्रतिक घिमिरे दाजुलाई पनि आभार भन्न मन लाग्यो ।
यात्रा धेरै गरिन्छन् । तर धेरै साहित्यकार,स्रष्टा र सर्जकहरुसँग विरलै एकैपटक यात्रा हुन पाउँछ । व्यस्तताबाट एकछिन भएपनि शरीरले त्राण पायो । बौद्धिक जमातहरुसँग साक्षात्कारको मौका मिल्यो । साहित्यिक पाठशालामा जे पाइन्छ त्यही पाइयो । गन्तव्य सहितको यात्रा । लक्ष्य सहितको यात्रा । मनै पुलकित भयो । केही पल भएपनि पुराना स्मृतिहरु संगाल्न पाइयो । केही समयभएपनि केही स्थानीय चिनारुसँग भलाकुसारी गर्न पाइयो । यन्त्रवत जिन्दगीले त्राण पायो । शहरको प्रदुषणबाट केही घण्टा भएपनि उन्मुक्ति मिल्यो । अनि मलाई के चाहियो ?
गाडी काठमाडौं फर्कियो, उही बाटो,उही गति, उही यात्रुहरु सहित । म घर फर्किंदा रात परिसकेको थियो घर पुगेर मैले नियालें,फेरी आँखा च्यातेर मनको आजको दिनभरका अजस्र स्मृतिहरुलाई । अनि तिनीहरु मनमै राखें यताउति छरिन दिइन् ।





