
कविता
शीर्षगमन
जीवन सोनी
अचानक आयो खहरे भेल ।
र बगायो उसलाई एक निमेषमै ।
खहरे भेलले
लतार्यो, पछार्यो,
र पुर्यायो कहाँ हो कहाँ,
अनि छाडिदियो बेवारिस ।
उसलाई हार स्वीकार्य भएन ।
फर्कियो त्यो खहरे भेलबाट
विजयी बनेर
र टेक्यो शिखरको चुचुरोमा,
जहाँ कहिल्यै पुग्ने छैन अब
त्यो निर्दयी भेल ।
आज उसको पीठपछि
सबै हकालिरहेका छन्
ऊ एक चालबाज थियो,
जो अरूलाई डुबाएर आफू तैरियो
र पुग्यो त्यो शिर्ष टाकुरामा ।
तर,
उसलाईमात्र अवगत छ
त्यो निर्दयी भेलको निर्दयिता,
र मौन नियालिरहेछ
त्यो खहरे भेलले दिएका चोटहरू,
जो अझै पनि चहर्याइरहेका छन् !







