
काठमाडौं ।निबन्धकार गोपी मैनालीको निबन्धसङ्ग्रह ‘अक्षरको मन’बीच लोकार्पण भयो ।
मुक्तिनाथ दर्शन साहित्य समाज,नेपालको आयोजनामा सोमबार राजधानीमा भएको कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ इतिहासविद् दिनेशराज पन्त, साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली, साहित्यकारहरु महेश प्रसाईं, प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेल, ठाकुर शर्मा भण्डारी, युवराज मैनाली, हरिभक्त सिग्देल, डा.हरिप्रसाद सिलवाल, डा.परशुराम पौड्यालले सो कृतिको सामूहिक रूपमा लोकार्पण गरे। ।
मुक्तिनाथ दर्शन साहित्य समाज नेपालका अध्यक्ष कलानिधि दाहालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा दिनेशराज पन्तले गोपी मैनालीका निबन्धहरू माथिल्लो स्तरको हुने गरेको बताउँदै विषयवस्तुको गाम्भीर्यता,भाषा र शब्द चयन विशिष्ट हुने गरेको बताए ।
कार्यक्रमका सभापति कलानिधि दाहालले मुक्तिदर्शन साहित्य समाज नेपालको ब्यानरमा उक्त कृति लोकार्पण गर्न पाएकोमा हार्दिक आभार प्रकट गर्दै धन्यवाद दिए ।
कार्यक्रममा डा.हरिप्रसाद सिलवाल तथा डा.परशुराम पौड्यालले संक्षेपमा समालोचकीय मन्तव्य राख्नु भयो भने सापस अध्यक्ष राधेश्याम लेकाली, साहित्यकारहरु महेश प्रसाईं, प्रा.डा.खगेन्द्रप्रसाद लुइँटेल, युवराज मैनाली, वेदमणि घिमिरे, ठाकुर शर्मा भण्डारी, राजेन्द्र के।सी। लगायतले शुभकामना मन्तव्य राखे ।
कार्यक्रममा निबन्धसङ्ग्रह ‘अक्षरको मन’ सर्जक गोपी मैनालीले आफ्नो लेखकीय मन्तव्यमा पुस्तकभित्रका निबन्ध आफ्नो मनमस्तिष्कको तरङ्ग भएको बताउँदै आफू शिक्षा मन्त्रालयको सचिव हुँदा शिक्षामन्त्री भइसकेका महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मरण पनि गरे ।
कार्यक्रममा डा.अर्जुनदेव भट्टले स्वागत मन्तव्य र समाजका संस्थापक अध्यक्ष हरिभक्त सिग्देलले धन्यवाद ज्ञापन,कार्यक्रमको सहजीकरण कवि निर्मलरमण पराजुलीले गरे ।






