
समीक्षा
कैलाशको आँगनमा अक्षरको तीर्थ
ज्योति अधिकारी
“सपना देखेर नै यात्रा सुरु गरिन्छ र यात्रा गर्दा संसारका अज्ञात पाटाहरू उजागर हुन्छन् ।”
नियात्राकार राजेन्द्रमान डङ्गोलका यी शब्दले यात्राको सारलाई यसरी सुन्दर ढङ्गले अभिव्यक्त गर्दछन् ।
साहित्य र यात्रा, दुई फरकजस्ता लाग्ने तर अन्तरमनमा एउटै गन्तव्य बोकेका पथ हुन् । एउटाले भूगोलको परिक्रमा गराउँछ भने अर्कोले भावना र विचारको । जब यी दुई पथ एउटै व्यक्तिमा समाहित हुन्छन्, तब जन्मन्छ एउटा कालजयी कृति, जसले पाठकलाई भौतिक यात्रा मात्र गराउँदैन, मानसिक र आध्यात्मिक उडान पनि भर्छ ।
पर्यटन व्यवसायी एवम् शब्दशिल्पी राजेन्द्रमान डङ्गोल यही दुर्लभ संयोगका एक सशक्त प्रतिरूप हुन् । उनको निकट भविष्यमा लोकार्पण हुन लागिरहेको नियात्रा कृति ‘कैलाश कोरा’ यस्तै भौतिक र आत्मिक यात्राको एक अनुपम दस्तावेज हो । उनको शब्दपथको सहयात्री बन्न पाउनु हामी व्यवसायीका लागि पनि गर्वको विषय पनि हो ।
हरेक व्यक्तिको चरित्र आआफ्नै प्रकारको हुन्छ । डङ्गोलको वास्तविक रूप बाहिरी सतहमा नभई गहिराइमा लुकेको छ । उनी पहिलो दृष्टिमा गम्भीर देखिन्छन् तर उनलाई नजिकबाट चिनेपछि मात्र वास्तविक सहजता र मित्रता अनुभव गर्न सकिन्छ । उनको गहिराइमा एक सच्चा, मित्रवत र विश्वसनीय व्यक्तित्व लुकेको छ, जुन समयसँगै प्रकट हुन्छ । उनको यही गम्भीर तर संवेदनशील स्वभावले नै होला, उनले यात्राका क्रममा देखेका सामान्य दृश्यभित्र पनि गहिरो अर्थ र दर्शन पहिल्याउन सक्छन् । आफ्नो व्यावसायिक व्यस्तताबाट समय निकालेर साहित्यको साधना गर्नु आफैँमा एक कठिन तपस्या हो । राजेन्द्र त्यही तपस्यामा लीन एक साधक हुन्, जसले पछिल्ला दशकमा आफ्ना कठिन यात्रा अनुभवहरूलाई शब्दचित्रका रूपमा पाठकसम्म पु¥याउँदै यात्राप्रतिको गहिरो भावना जगाइरहेका छन् ।
मेरो व्यावसायिक जीवनको लामो कालखण्ड कैलाश–मानसरोवरकै पथहरूमा बितेको छ । सन् १९९२–९३ को समयमा जब नेपालबाट योजनाबद्ध रूपमा यस्तो कठोर भौगोलिक परिस्थितिमा धर्मयात्रा सञ्चालन गर्ने सोच आउनु आफैँमा एउटा दुस्साहस थियो । सञ्चार, यातायात र पूर्वाधारको अभावमा गरिने ती यात्रा आज सम्झँदा सिनेमाको अतीतावलोकन (फ्ल्यासब्याक) जस्तै लाग्छन् । पर्यटन व्यवसायमा प्रवेश गरेको दोस्रो वर्षमै भोट (हिमालपारि) यात्राको व्यवस्थापन गर्ने जुन सोच जन्मियो, त्यसैले मलाई यो व्यवसायमा समर्पित गरायो । ३३ वर्षको लामो अन्तरालमा मैले हजारौँ तीर्थयात्रीलाई कैलाशको दिव्य भूमिमा पु¥याएँ । उनीहरूका आँखामा देखेको तृप्ति र आस्थाले मलाई सधैँ ऊर्जा दियो । तर, मेरो मनमा एउटा भोक सधैँ रहिरह्यो– आफूले यात्रा गरेपछि त्यसको अनुभूतिलाई शब्दमा उतारेर अरूलाई प्रेरित गर्ने सही पात्रको खोजी । मलाई थाहा थियो– कैलाशको यात्रा केवल भौगोलिक दूरी पार गर्नु मात्र होइन, यो त आत्माको गहिराइमा गरिने एउटा मौन संवाद हो । यो संवादलाई शब्दमा व्यक्त गर्न सक्ने कलात्मक र संवेदनशील मन चाहिन्छ ।
गत साल जेठ १५ गते ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले आयोजना गरेको चम्पादेवी हाइकिङको दिन मेरा लागि अविस्मरणीय रह्यो । त्यहीँ हाम्रो भेट भयो र कुराकानीका क्रममा राजेन्द्रले कैलाश यात्रा गर्ने गहिरो चाहना व्यक्त गरे ।
‘कैलाश कोरा’ मा उनले “सुनेको थिएँ– सपना र वास्तविकताबीचको दूरी केवल हिम्मतले नापिन्छ” भने झैँ उनको आँखामा मैले त्यो हिम्मत र भित्री चाहना प्रस्टै देखेँ, जुन एक सच्चा यात्रीमा हुनुपर्छ । पर्यटनलाई पेसा बनाएका उनी मेरो कर्मयात्राका अभिन्न पात्र थिए । उनको प्रस्तावलाई ‘हुन्न’ भन्नु भनेको आफैँलाई सजाय दिनुजस्तै लाग्यो, किनभने यस्ता निर्णय गर्दा पछि पश्चात्तापबाहेक केही प्राप्त हुँदैन । मलाई तत्काल महसुस भयो– मैले खोजिरहेको उपयुक्त पात्र राजेन्द्रमान डङ्गोल थिए । त्यसैले मैले उनलाई यात्रामा सामेल गराएँ । आज, त्यसैको फलस्वरूप यो कृति ‘कैलाश कोरा’ जन्माउन सफल भएकोमा मलाई अत्यन्तै खुसी लागेको छ ।
मलाई विश्वास छ, यो कृतिले हजारौँ पाठकलाई कैलाशको आध्यात्मिक यात्रामा डो¥याउनेछ ।
कृतिभित्रको विराट् संसारः ‘कैलाश कोरा’
राजेन्द्रमान डङ्गोलको ‘कैलाश कोरा’ एक यात्रा वर्णन होइन; यो त इतिहास, भूगोल, संस्कृति, समाज, राजनीति र आध्यात्मिकताको एक जीवन्त मिश्रण हो । लेखकले आफ्नो यात्रालाई केवल ‘के देखेँ’ मा सीमित राखेका छैनन्, बरु ‘के भोगेँ’ र ‘के सोचेँ’ लाई बढी महत्व दिएका छन् । यही कारणले यो कृति पाठकको मन छुने र मस्तिष्कलाई घोत्लिन बाध्य पार्ने बनेको छ ।
१. सीमापारिको ऐना र आत्मसमीक्षाको पीडा
नियात्राको प्रारम्भिक अध्याय ‘उन्मत्त भोटेकोसीः सीमापारको अनुभूति’ ले नै लेखकको सूक्ष्म दृष्टि र सामाजिक चेतनाको गहिराइलाई उजागर गर्छ । उहिलेका व्यापारिक मार्गहरू– साँखु, लामबगर, रसुवागढी हुँदै ल्हासा पुग्ने कठिन तर जीवन्त बाटाहरूको स्मरणले पाठकलाई ऐतिहासिक समयमा पु¥याउँछ । तर, लेखक वर्तमानमा फर्किएर जब तातोपानी नाकाको दृश्य वर्णन गर्छन्, त्यहाँ गर्व होइन, पीडाबोध हुन्छ । पारिपट्टि चीनको भव्य र सुविधायुक्त संरचना र वारिपट्टि हाम्रो जीर्ण र निर्माणाधीन भवनको तुलनाले हाम्रो विकासको गति र राष्ट्रिय प्राथमिकतामाथि एक निर्मम प्रहार गर्छ ।
लेखक लेख्छन्–
“निर्माणाधीन भवनले हामीलाई गिज्याइरहेको भान हुन्छ, मानौँ यसले हाम्रो अक्षमता र सुस्ततामाथि उपहास गर्दैछ… बेलाबखत हाम्रा नेताहरू यहाँ आइरहेका हुन्छन् । यही पुलमा उभिई पारिपट्टिको भव्य भवनलाई पृष्ठभूमि बनाएर तामझामका साथ हाँस्दै तस्वीर खिचाउँछन्, यद्यपि ती दृश्यले उनीहरूलाई लज्जाबोध हुँदैन । सायद लज्जा पनि यही अधुरो संरचनाझैँ अधुरै पो रहेको छ कि!”
यी पङ्क्तिहरूले लेखकको राष्ट्रप्रेम र विकासप्रतिको चिन्तालाई प्रस्ट्याउँछ । यो केवल एक यात्रीको गुनासो होइन, एक सचेत नागरिकको आक्रोश हो । डङ्गोलले आफ्नो नियात्रालाई केवल प्राकृतिक सौन्दर्यको बखानमा सीमित नराखी, राष्ट्रिय स्वाभिमान र विकासको बहसमा जोडेका छन्, जुन उनको लेखनको एक महत्वपूर्ण शक्ति हो ।
२. दूरदृष्टिको खोजी र उपेक्षित सम्भावना
‘मौन सरोवरमा आध्यात्मिक विम्ब’ शीर्षकको अंशले डङ्गोललाई एक यात्रीबाट उठाएर एक पर्यटन–रणनीतिकारको उचाइमा पु¥याउँछ । उनले नेपालको पर्यटन विकासको एक अपार सम्भावना बोकेको तर राज्यबाट पूर्णतः उपेक्षित मार्गको वकालत गरेका छन् । मुस्ताङको ‘कोरा ला’ नाकालाई कैलाश–मानसरोवर यात्राका लागि खोल्न सकिने उनको प्रस्ताव केवल एक कल्पना होइन, यो त तथ्य र तर्कमा आधारित एक दूरगामी योजना हो ।
“म सोच्छु– मुस्ताङको ‘कोरा ला’ नाका (४,६६० मि.) बाट प्रवेशको व्यवस्था मिलाउन सकिए यात्रुहरू सोही दिन मानसरोवर पुगी यात्रा अवधि छोट्याउनका साथै उचाइसँग सहजै अनुकूल हुन सक्थे… यस मार्गलाई व्यवस्थित गर्न सके मुक्तिनाथ तथा दामोदरकुण्ड (४,८९० मि.) जस्ता नेपालका पवित्र स्थलहरूलाई समेत समावेश गरेर आकर्षक धार्मिक तथा सांस्कृतिक यात्रातालिका बनाउन सकिन्थ्यो ।”
उनले यस मार्गको ऐतिहासिकतालाई सन् १९०० मा जापानी अन्वेषक एकाई कावागुचीको यात्रासँग जोडेर यसकामहइभ्वलाई अझ बलियो बनाएका छन् । यो प्रस्तावले नेपालको धार्मिक पर्यटनलाई अभूतपूर्व प्रवद्र्धन गर्ने, हिमाली क्षेत्रको आर्थिक विकासको ढोका खोल्ने र कालीगण्डकी करिडोरको पूर्ण उपयोग गर्ने सम्भावना बोकेको छ । तर, यस्ता दूरगामी लाभ दिने योजनाप्रति राज्यको उदासीनता देखेर लेखकको मनमा उठेको पीडा पाठकले समेत महसुस गर्न सक्छन् । यो अंशले ‘कैलाश कोरा’ लाई एक सामान्य यात्रावृत्तान्तभन्दा माथि उठाएर नेपालको पर्यटन विकासका लागि एक महइभ्वपूर्र्ण ‘पलिसी पेपर’ को रूपमा समेत स्थापित गर्दछ ।
३. समयको गति र मौलिकता गुम्ने डर
यात्रा साहित्यको एक शाश्वत विषय हो– विकास र प्रकृतिबीचको द्वन्द्व । डङ्गोलले यसलाई ‘किंवदन्तीको गुफा, शान्तिको पहाड’ मा मार्मिक रूपमा प्रस्तुत गरेका छन् । गाइड सरोजको मुखबाट उनले विगतको साहसिक र रोमाञ्चक यात्राको वर्णन गराएका छन्, जहाँ पाल टाँगेर रात बिताइन्थ्यो र गाडीहरू विशाल पठारमा स्वतन्त्र रूपमा गुड्थे । तर, आज धर्मशाला, होटल र चिल्ला सडकले त्यो ‘यायावर शैली’ लाई विस्थापित गरेको छ ।
सुविधा बढ्दै जाँदा यात्राको मौलिकता र चुनौतीको आनन्द घट्दै जान्छ । लेखकको चिन्ता भविष्यप्रति अझ गहिरो छ ।
जब उनी सुन्छन्, ‘अर्को सालबाट यहाँ हवाई सेवा सुरु हुन्छ रे !’,
उनको मनमा प्रश्न उठ्छः
“के यो आधुनिक विकासको लहरले यहाँको मौलिक शान्ति र आदिम सौन्दर्यलाई अक्षुण्ण राख्न सक्ला त?”
यो प्रश्न केवल कैलाश क्षेत्रको लागि मात्र होइन, विश्वका हरेक पर्यटकीय गन्तव्यका लागि सान्दर्भिक छ । डङ्गोलले यो प्रश्न उठाएर पाठकलाई विकासको परिभाषा र त्यसले पार्ने वातावरणीय तथा सांस्कृतिक प्रभावबारे सोच्न बाध्य बनाएका छन् ।
४. मानवीय संवेदना र दार्शनिक चिन्तन
‘कैलाश कोरा’ को सौन्दर्य यसको दार्शनिक गहिराइमा पनि छ ।
लेखकको आफ्नै विश्वास छ, “मनको शिखर चुम्न सफल भएपछि संसारका कुनै पनि पहाड चुनौती बन्दैनन् ।”
यो कृति पढ्दा लाग्छ, उनको कैलाश यात्रा बाहिरी पहाडको आरोहण मात्र नभएर आफ्नै मनको शिखर चुम्ने एक अथक प्रयास थियो । उनले यात्रामा भेटिएका सामान्य दृश्य र पात्रहरूबाट जीवनका गहिरो पाठहरू निकालेका छन् ।
पठारमा चरिरहेका च्याङ्ग्रा र भेडाका बथानलाई देखेर उनी सोच्छन्–
“के हामी पनि त्यस्तै शान्त र सन्तुलित जीवन जिउन सक्दैनौँ? हामीले त्यसरी जिउन सकेको भए संसार कति शान्त र रमणीय हुन्थ्यो होला! हामी पाप गर्छौं र त्यसको प्रायश्चित गर्न तीर्थ धाउँछौँ । कस्तो विडम्बना!”
यो सानो तर शक्तिशाली चिन्तनले मानव जीवनको अन्तर्विरोधलाई उजागर गर्छ । त्यसैगरी, एक तिब्बती गोठालाको कठोर तर आत्मनिर्भर जीवनशैलीमा उनी परिश्रम र स्थानीयताको सौन्दर्य देख्छन् र आफ्नो बाल्यकालको नुवाकोटको टारीफाँटलाई सम्झन्छन् । यी क्षणहरूले नियात्रालाई लेखकको व्यक्तिगत स्मृतिको रङ दिएर अझ आत्मीय बनाएको छ ।
भाषाको सीमितताले मानिसलाई कसरी असहाय बनाउँछ भन्ने कुरा ‘मोक्षको पदचिह्न’ मा सुन्दर ढङ्गले व्यक्त भएको छ । तिब्बती भाषा नजान्दाको पीडा भए पनि ‘तासी दिलेक’ शब्दले कसरी संवादको पुलको काम गर्छ भन्ने वर्णनले मानवीय भावना शब्दको सीमाभन्दा धेरै माथि हुन्छ भन्ने देखाउँछ ।
५. रहस्य, मिथक र विज्ञानको संगम
कैलाश आफैँमा रहस्यको खानी हो । डङ्गोलले यस रहस्यलाई अन्धविश्वासमा मात्र सीमित राखेका छैनन्, बरु आस्था र विज्ञानको द्वन्द्व र संवादलाई सँगसँगै प्रस्तुत गरेका छन् । उनी कैलास पर्वतको ऊर्जा क्षेत्रबारे वैज्ञानिक धारणा र दोलखा भीमसेनको मूर्तिमा आउने पसिनाको वैज्ञानिक व्याख्यालाई सँगै राख्छन्, तर जनआस्थाको शक्तिलाई पनि उत्तिकै सम्मान गर्छन् ।
उनी भन्छन्–
“आस्था र विज्ञान कहिलेकाहीँ परस्पर विरोधी देखिए पनि दुवै सत्यको खोजीमै अग्रसर हुन्छन् ।”
यो सन्तुलित दृष्टिकोणले कृतिलाई थप बौद्धिक र पठनीय बनाएको छ । ‘अन्तिम पदचाप’ मा प्रस्तुत मिलारेपा र नारो बोनचुङको कथाले हिन्दू र बौद्धमार्गीहरूले किन विपरीत दिशाबाट परिक्रमा गर्छन् भन्ने सांस्कृतिक रहस्यलाई रोचक ढङ्गले खोलेको छ ।
६. शब्दशिल्प र काव्यात्मक अभिव्यक्ति
राजेन्द्रमान डङ्गोल एक कुशल शब्दशिल्पी हुन् । उनको भाषा सरल र काव्यात्मक छ । प्रकृति वर्णनमा उनको कलमले चित्र नै कोर्छ ।
उनको यात्राको उद्देश्य नै यही हो–
“हावा गुनगुनाइरहन्छ, बादल नाचिरहन्छ तर म हिँडिरहन्छु– आफैँलाई भेट्न, उचाइमा ।”
यो एक पङ्क्तिले उनको यात्राको सम्पूर्ण दर्शनलाई समेट्छ । यो आफैँलाई भेट्ने यात्राको अनुभूति उनको हरेक शब्दमा झल्किन्छ । ‘डोल्मा ला’ को उकालो चढ्दाको अनुभवलाई उनले केवल शारीरिक कष्टको रूपमा होइन, एक साङ्गीतिक र आध्यात्मिक अनुभूतिको रूपमा वर्णन गरेका छन्ः
“घोडाका घाँटीमा बाँधिएका घाँडाहरू टुङटुङ बज्छन् । ती मधुर ध्वनि सुनसान डोल्मा लाको वातावरणमा गुन्जिन्छन्, मानौँ ती ध्वनिले ॐ कारको झझल्को दिएको भान हुन्छ… उकालिँदै गर्दा चारैतिर गुन्जिन्छ, यात्रीहरूको स्वाँस्वाँ आवाज… हिउँ र ढुङ्गामा ठोक्किँदा आउने लठ्ठीको ‘ट्याक–ट्याक’ आवाजले यात्रुका पाइला नापिरहेको छ । ती ध्वनि एकअर्कामा मिसिँदा यस्तो महसुस गराउँछन् कि हामी केवल हिँडिरहेका छैनौँ, यो चालसँगै चलिरहेको छ हाम्रो मुटुको घड्कन ।”
यो वर्णनले पाठकलाई डोल्मा लाको चिसो हावा, उकालोको थकान र यात्राको आध्यात्मिक लयलाई एकसाथ महसुस गराउँछ ।
गौरीकुण्डको वर्णनमा उनी लेख्छन्–
“लाग्छ– स्वर्गले आफ्नै छायाँ पानीको क्यानभासमा कोरेको हो ।”
यस्ता बिम्ब र अलङ्कारको प्रयोगले उनको गद्यलाई पद्यको जस्तो मिठास दिएको छ ।
समग्रमा, ‘कैलाश कोरा’ केवल एउटा भूगोलको यात्रा होइन, यो विचारको यात्रा हो, चिन्तनको यात्रा हो र आत्माको यात्रा हो । यो कृति पढेपछि पाठकले कैलाशको हिउँ मात्र देख्दैन, त्यहाँको हावामा गुन्जिएको ॐ ध्वनि सुन्छ; मानसरोवरको चिसो पानी मात्र महसुस गर्दैन, त्यसको निर्मलतामा आफ्नो मनलाई चोख्याउँछ; र तिब्बती पठारको विशालता मात्र नाप्दैन, त्यहाँका मानिसहरूको सरलता र जीवनदर्शनबाट प्रेरित हुन्छ । राजेन्द्रमान डङ्गोलले यस कृति मार्फत आफूलाई एक सफल नियात्राकारको रूपमा मात्र स्थापित गरेका छैनन्, बरु एक चिन्तक, एक दूरदर्शी र एक संवेदनशील स्रष्टाको रूपमा पनि प्रमाणित गरेका छन् ।
अन्त्यमा, शुभकामना
मैले एक सहयात्रीको रूपमा राजेन्द्रको कैलाश यात्राको चाहनालाई साकार पार्न सानो भूमिका खेलेको थिएँ । आज उनको त्यही यात्राले ‘कैलाश कोरा’ जस्तो महइभ्वपूर्र्ण कृतिको आकार लिएको देख्दा मेरो मन हर्ष र गर्वले फुलेको छ । मेरो विश्वास सही साबित भएको छ ।
राजेन्द्रको ‘कैलाश कोरा’ शब्दहरूको सङ्ग्रहमात्र नभई मन, आत्मा र भावनाका गहिराइको अभिलेख हो । आशा छ– यसले पाठकलाई कैलाशको दिव्यता महसुस गराउँदै निश्चय नै मानसरोवरको निर्मलतामा डुबाउनेछ । हिमालको शान्तिले हरेक पाठकलाई नयाँ अनुभूति र मानसिक शान्ति दिनेछ भन्नेमा म विश्वस्त छु ।
यो महत्वपूर्र्ण कृति ‘कैलाश कोरा’ का लागि प्रिय भइ राजेन्द्रमान डङ्गोललाई हार्दिक बधाई ज्ञापन गर्दै उनको साहित्यिक यात्राले अनन्तता प्राप्त गरोस्, उनको कलमले यस्तै गहन र उत्कृष्ट कृतिहरू सिर्जना गरिरहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु ।
शब्दपथको हाम्रो यो सहयात्रा निरन्तर जारी रहोस् !







