
निबन्ध
शशीश्री आचार्य
“तीज”– लालुपातेभित्र हराएको सभ्यताको स्वर
“तीज” भन्ने शब्दमा केवल नारी धर्म, भक्ति, व्रत, र संस्कारको संकल्प होइन, सम्पूर्ण नारी सभ्यताको मूल्य–मान्यता समाहित छ। तर आजको परिवेशमा, त्यो भाव बजारवाद, बाह्य प्रदर्शन र विकृतिले ढाक्दै गएको छ।
तीज – व्रत होइन, चेतनाको चोखो उज्यालो “तीज” भन्ने शब्द उच्चारण मात्र गर्दा पनि आमाका आँखामा एक किसिमको आर्द्र स्मृति बग्थ्यो, जसमा समाहित हुन्थ्यो — व्रतको तत्त्व, भक्ति–श्रद्धाको आद्रता, पतिको दीर्घायुका लागि अनशन बसेको त्यो ममतामयी मौनता, र चेलीहरूको मनभित्र गुञ्जिरहने एक अद्भुत भरोसा— “शिव जस्ता पति पाइयोस्” भन्ने शाश्वत चाहना।
तीज – एउटा जीवन्त परम्पराको समवेत गीत तीज केवल नाचगानको नाम थिएन। यो एउटा मौन आन्दोलन थियो — जहाँ नारीहरूले गीतमार्फत आफ्ना पीडा पोख्थे, सासुको जुँगामा चुरोट फुक्थे, पतिको कठोरताप्रति गीतको लयमा विद्रोह गर्थे। तीज–गीतहरू केवल संगीत थिएनन्, ती — आँसुले नुहाएको लोक जीवनको कथा थिए। चेलीहरूको अञ्चलभित्र लुकेको मौन विद्रोह, मासिक ११ महिना थिचिएको संवेदनाको एउटा दिन – तीज। जहाँ नारी रोइन्थे – हाँस्ने निहुँमा। तर आज — त्यो मर्म हराउँदैछ… आज लालपाते सारी त छ, तर त्यो अञ्चल अब आँसु पुछ्दैन, शायद TikTok को रील बनाउँछ। आज घाटको तुलसी चौतारी छैन — बजारको रेड कार्पेट छ। आज चेलीहरूको बिदा हर्षजनक छैन, बार्गेनिङको नयाँ लुगाको ब्रान्डेड जुलुस हो। सासुले अब ‘व्रत बस्’ भन्दिनन् — ‘भोज खान जाउँ’ भन्छिन्। गीत छ — तर त्यो अब द्रौपदीको चीरहरण होइन, बल्कि बेलिबिस्ताररहित भङ्गिमा हो, जहाँ नारित्वको पहिचान नग्न हाँसोमा गुम्सिन्छ।
व्रत — जुन मनको साधना थियो पहिले व्रत बस्ने नारीको मुहारमा उज्यालो हुन्थ्यो। भोक त शरीरको हुन्थ्यो, तर मन — परमात्मामा तृप्त। “शिव–पार्वती” को मिलन — एउटा दिव्य प्रेमको आदर्श थियो, जहाँ नारीले आफूभित्र देवीत्व महसुस गर्थिन्। आज? भोक छैन — भोज छ। पार्वती छैनन् — Performers छन्। व्रत छैन — Visual Show छ। **साँस्कृतिक संस्कारको आत्मशुद्धि — हराएको अभिज्ञान आज हाम्रो समाजमा तीज Event भयो, Essence होइन। ‘फेसबुक इन्भिटेसन’ भयो, भक्तिको निमन्त्रण होइन। आज नाच–गानको नाममा सांस्कृतिक विकृति भयो, र भक्तिका गीतहरू बजारको DJ मा गायब भए।
तीजको पुनर्स्थापना: अब के गर्न सकिन्छ?
१. स्मृति–संस्कारको पुनर्जागरण: हामी हाम्रा आमाहरूलाई सम्झौं — जसले चुलो बलाउँदा तीजको गीत गाइन्थिन्। जसले पिपलको जरामा जल चढाउँदा भित्रभित्रै व्रतको अर्घ चढाउँथिन्। ती आँशुहरूले भरिएको अञ्जली — जसले एउटा कुल राख्थ्यो। आजको पुस्ता, त्यो बिर्सिँदैछ। अब समय हो — संस्कारलाई फैशनेबल होइन, पूजनीय बनाउने।
२. भक्ति–रागको पुनर्निर्माण हामी गीत गाऔँ, तर केवल रमाइलोको लागि होइन — राम्ररी सम्झेर, शिव–पार्वतीको आदर्श पुन: गुञ्जिन दिनुपर्छ। DJ को ठटठटमा होइन — दामिनी भक्ति र पार्वतीको तपस्यामा लय मिलाऔँ। तीजलाई भजन बनाऔँ, प्रदर्शन होइन। गीत गाऔँ, तर त्यो आत्मसंयमको कथा होस्।
३. चेतना र शिक्षा अभियान विद्यालयहरूमा, टीकटक तीजको साटो त्रैकालिक तीज को पाठ पढ़ाउनुपर्छ। साहित्यकारहरूले तीजलाई ‘ब्रान्डेड संस्कृति’को विरोधमा नारी चेतनाको विम्ब बनाउनुपर्छ। बालिकाहरूलाई “मेहेन्दी र मेकअप” होइन, “मातृत्व र मोक्ष मार्ग” को ज्ञान दिनुपर्छ।
निष्कर्ष – “तीज: नारी सभ्यताको आराधना” तीजले नारीलाई घरको चुल्होदेखि ईश्वरको चरणसम्म जोड्ने शक्ति दिथ्यो। तीज व्रत थिएन — शक्तिको समाधि थियो। आज त्यो समाधि बिग्रिएको छ — तर भत्किएको मन्दिर फेरि बनाइन्छ, यदि हामी श्रद्धा, संस्कार र संकल्प लिएर अगाडि बढ्यौं भने। अन्त्यमा — एक नव प्रार्थना:
“लालपाते फेरी भिजोस् आँशुमा होइन — श्रद्धामा,
नाच होस् तर नारीत्वको सौन्दर्यमा, भजन होस् तर आत्मबलको संगीतमा। तीज फेरि फर्कियोस् — जहाँ महिलाहरू स्वतन्त्रताको नाममा बिक्दैनन्, संस्कारको नाउँमा समर्पण गर्छन्।”
बौद्ध कुमारीगाल काठमाडौं







