
संस्मरण
अल्लारे उमेरमा पुस्तकालयको मोह
प्रदीप सापकोटा
सानैदेखि मलाई किताब पढ्ने रुची थियो । तर त्यतिबेला अहिलेजस्तो किताब सहज हिसाबले पाइँन्थेन्। पढ्ने स्कुलमा पुस्तकालय त थियो, तर त्यो त्यति ब्यवस्थित ढंगले सञ्चालन नभएको हुनाले त्यसबाट पर्याप्त लाभ लिन सकिएको थिएन । मेरो मनमा हाम्रो गाउँमा एउटा पुस्तकालय खोल्न सके कस्तो हुन्थ्यो होला भन्ने लागिरहन्थ्यो । तर भर्खर नौ कक्षामा पढ्दै गरेर किशोरले पुस्तकालय खोल्न सक्ने कुरा पनि थिएन ।
म भन्दा उमेरमा अग्रज दाइ दिलीप र म भन्दा अगाडि कक्षाका भएपनि मिल्ने साथी राजकुमारसँग मेरा भावना मिल्थे । उनीहरुलाई पनि किताबमा असाध्यै रुची थियो । म नौ कक्षाको आधाआधीमा पुगेको थिएँ। हामी तीनैजनालाई सृजनात्मक काम गर्न रुची लाग्थ्यो । मामाघर पढेर बसेका राजकुमार गाउँ आएका थिए । दिलीप दाइको गाउँमा पसल थियो । समान उत्साहका हामी तीनजनामा केही नयाँ काम गर्ने हुटहुटी पैदा भइरहेको थियो । तर के गर्ने तय भइसकेको भने थिएन ।
२०४७ सालको साउन महिना हुनुपर्छ । शनिबार दिउँसो धेरै गर्मी थियो । हामी नुहाउन भनेर हाम्रो नजिकबाट बग्ने लिलावती खोलामा गएका थियौं । हामी नुहाएर गफिंदै थियौंं । उतिबेला गाउँमा पुस्तकको त के कुरा पत्रपत्रिका पनि पाउन मुस्किल हुन्थ्यो । रेडियो नेपाल नै समाचारको माध्यम थियो । त्यसैले पत्रपत्रिका नियमित पढ्न र पुस्तक पढ्ने बानी बसाल्न एक पुस्तकालयको आवश्यकता महसुस गरेका थियौँ । तर पुस्तकालय त खोल्ने, पुस्तकहरु कहाँबाट जुटाउने ? जुटाएका पुस्तकहरु कहाँ राख्ने ? सञ्चालन कसरी गर्ने ? कानूनी बैधता कसरी दिने ? आदि थुप्रै प्रश्नहरुले घेरियौं हामी ।
चेतनालाई अन्धकारले घप्लक्कै अङ्गालो मारेको हाम्रो गाउँ राजधानीबाट दुरीमा नजिक भएपनि साँच्चिक्कै बत्तीमुनिको अँध्यारो जस्तै थियो । यस्तो समस्याको उत्पादक तत्वको रुपमा शिक्षामा गाउँ र गाउँले कमजोर हुनु हो भन्ने हाम्रो ठम्याइ थियो । राजनीतिमा स्थानीयको पहुँच नहुनु अर्को कारक तत्व थियो ।
हामी एकाध स्कूले केटाहरुमा पुस्तकप्रति माया झाँङ्गिएको थियो । केही गर्नुपर्छ भन्ने सोच थियो । हामीले आँट गरेर पढेलेखेका पाका भद्रभलादमीहरुलाई हाम्रो सोचको बारेमा जानकारी दिन एउटा भेला आयोजना गर्ने निर्णय गरेउँ । त्यतिखेर सञ्चारको आजको जस्तो सुविधा थिएन । हामीले खबर गर्नुपर्ने केही नामहरुको सूची तयार पारी खबर गर्ने जिम्मेवारी समेत बाँडफाँड गरेउँ । साथै हामी तीनैजनासँग भएका पुस्तकहरु जम्मा गरि पुस्तकालयको पहिलो प्रारुप बनाउने योजना समेत बनायौं ।
राजकुमारको घरको छिडीमा एउटा कोठा खाली थियो । सुरुमा उनको बुबालाई अनुरोध गरेर त्यहीँ पुस्तकहरु राख्ने सोचाइ बनायौं । नयाँ योजनालाई कार्यान्वयन गर्नका लागि हामी तीन साथी उत्साहपूर्वक जुट्यौं । तर कतिपयले हाम्रो कुरालाई गिल्ला गरेरै उडाए । कतिले मुख बिगारे ।
‘उरन्ठेउलाहरु आफ्नो घरको काम गर्न छोडेर वाहियात काम गर्न खोज्छन् ।’ भन्नेहरु पनि समाजमा थिए ।
तर,हामीलाई माया गर्ने र हौसला दिने व्यक्तिहरु पनि गाउँमा थिए । उनीहरुले हामीलाई सहयोग गर्ने बचन दिए । ग्रामिण समाज न हो यति हुनु अस्वभाविक थिएन् । सकारात्मक काम गर्न खोज्नेको उछितो काट्ने समाजको चरित्र थियो । यसैले हामी अन्धकारमा भासिएका थियौं ।
भेलाको अघिल्लो रात कतै भोली खबर गरेका मानिसहरु नआइदिने पो हुन कि भन्ने डरले रातभर मेरो मनमा अनेक कुराहरु खेलिरहेका थिए । यदि कसैको सहयोग नपाएको खण्डमा गाउँमा पुस्तकालय खोल्ने हाम्रो सपना के होला ? मनमा अनेक कुरा खेलिरहेका थिए । तर भोलीको दिन पर्खनुको बिकल्प थिएन । बिहान हामी निर्धारित समयभन्दा झण्डै एक घण्टा अगाडि नै जुट्यौं । झण्डै पच्चीस जना जतिको हाराहारीमा मानिसको उपस्थिति रह्यो । खुसीको सीमा रहेन । हामीले भेलाको औचित्यको बारेमा बतायौं । भेलामा उपस्थित सबैले हाम्रो अभियानको मुक्तकण्ठले प्रशंसा गरे । भारतीय प्रहरी लामो समय सेवा गरेका एकजना बा हुनुहुन्थ्यो । उनमा इतिहास र विश्वको बारेमा धेरै ज्ञान थियो । हामी पुलिस बा भन्थ्यौं उनलाई । पुुलिस बाले नै पुस्तकालयको न्वारान गरिदिएका थिए–’ज्ञान विकास पुस्तकालय’ भनेर। भेलामा उपस्थित सबैको नामप्रति सहमति सहित दश,बीस रुपैयाँ सहयोग पनि प्राप्त भयो । कसैले पुरानो टेबुल,कुर्सी र र्याक दिएर सहयोग गर्ने भए । हामीले आफूसँग भएका पुस्तकहरु जम्मा पारेर तीनै र्याकहरुमा सजाउने भयौं ।
भोलिपल्टदेखि नै कोठा सरसफाइ गरी मिलायौं । साँझ र बिहान पुस्तकालय खोल्ने रुटिन मिलायौं । हामीले स्थानीय जागिरे दाजुहरुलाई विभिन्न पत्रपत्रिका उपलब्ध गराउन अनुरोध गरेउँ । उनीहरुले हाम्रो अनुरोधलाई स्वीकारे ।
नियमित सञ्चालन भयो पुस्तकालय । करिब एकवर्षको बीचमा सयौं पुस्तक थपिए । केहीसमय पछि अर्काे घरमा पुस्तकालय सारियो । केही फर्निचर थप भयो । पछि तत्कालिन गाउँविकास समितिले सार्वजनिक जग्गामा सानो भवन बनाउन सहमति सहित केही रकम पनि ब्यवस्थापन गर्र्यो । तर त्यहाँ स्थानीयहरुले पुजाआजा गर्ने पाटी थियो । त्यो पाटी नभत्काइ पुस्तकालय भवन बन्दैनथ्यो । त्यसैले गाविसको रोहवरमा एक कोठा पाटीको निम्ति ब्यवस्था गरी एक तले सानो कच्ची भवन बनायौं । असल मनहरुले कसैले काठ दिएर सहयोग गरे,कसैले श्रमदान गरे । तत्कालिन साँसदले छानोको निम्ति जस्तापाता उपलब्ध गराए । हामी प्रफुल्लित थियौं । हाम्रो सपनाले आकार ग्रहण गर्दै गएको थियो ।
पछि हामी थुप्रै ठाउँमा चिठी बनाएर पुस्तक सहयोगको निम्ति धायौं । आज पनि सम्झना ताजै छ, नेपाल परिवार नियोजन संघ, नेपाल भारत साँस्कृतिक केन्द्र,ब्रिटिस काउन्सील,रसियन दुतावास,जापनीज दुतावास आदिमा । कतिले दिए कतिले दिएनन् । जे होस केही पुस्तक थपिए । पनौती बसपार्कबाट हाम्रो गाउँको दुरी झण्डै ६ किलोमिटर होला । अहिलेको जस्तो यातायातको सुविधा थिएन । त्यसैले हामीले कैयन् पटक बोरामा किताब बोकेर यो बाटोको दुरी नापेका थियौं । हामी उत्साहका साथ जोशिएर काम गर्थेउँ । यसमा छुट्टै आनन्द आउँथ्यो ।
पुस्तकालय स्थापनासँगै पछिल्ला बर्षहरुमा हामीले खेलकुद,अतिरिक्त क्रियाकलापका विभिन्न प्रतियोगिताहरु गरेउँ । यसैगरी देउसी भैलो गरेर रकम संकलन गरेउँ । विभिन्न साँँस्कृतिक कार्यक्रम,नाटक लेखन र मञ्चन पनि गरेउँ ।अलिकति पढेलेखेका- हरुलाई विद्यालयस्तरको अंग्रेजी र नेपाली ट्यूसन पनि पढाउन लगायौं विद्यार्थीहरुबाट सामान्य रकम लिन्थ्यौं । सरहरुलाई चिया खाने पैसा दिन्थ्यौं र केही बचे पुस्तकालयको निम्ति साँच्थ्यौं। राजकुमार,दिलिप र म आफैं नाटक लेख्थ्यौं । आफैं निर्देशक बन्थ्यौं र आफैंले अभिनय गर्थेउँ । राजकुमार र मैले एक रातमा नाटक लेखेका थियौं ।
पछिल्लो चरणमा हामी पढाईको सिलसिलामा राजधानी आयौं । दिलिप दाइले क्रियाशिलता देखाइरहे । हामीले सहयोग गरिरह्यौं । नयाँ पुस्ताका केही भाइबैनीहरु नरेन्द्र नगरकोटी,विजय,गीता,राधिका, साजन,रित कुमार लगायत अरुहरु पनि लागे । प्रकाश,निरञ्जन,राधिका,गीता लगायत अन्य भाइबैनीहरुको पनि पछिल्लो चरणमा सक्रियता देखिएको थियो । यस्ता थुप्रै नामहरु छन् यहाँ धेरै उल्लेख गर्न सकिन्। तर पछि पछि हुँदै जाँदा के भो भो अस्तित्व नै गयो पुस्तकालयको ।
आज आएर सोच्दा लाग्छ ,सार्थक काम गरिएछ । त्यही पुस्तकालयले हाम्रो क्षेत्रमा पठन संस्कृतिको विकास गर्र्यो । पुस्तक पढाउने काम मात्र नगरी सामुदायिक सरसफाई लगायतका विभिन्न सिर्जनशील कार्यहरुको नेतृत्व गर्र्यो । त्यसैले कुनैपनि सार्थक काम गर्नका लागि उमेरले छेक्दोरहेनछ । हामीले सही किसिमको लक्ष्य राख्यौं भने सबैको सहयोग पनि पाइने रहेछ । यसैले समाजमा असल काम गर्ने हो भने किशोर उमेरमै पनि सबैको प्यारो हुन सकिन्छ । समाज परिवर्तनमा योगदान गर्न सकिन्छ । यसको लागि दृढ इच्छाशक्ति चाहिन्छ ।
तर,विडम्बना,अहिलेको पुस्तालाई यो कुरा सुनाउँदा अर्थ नै नरहने भयो । एकान्तप्रीय,सामाजिक सञ्जालमा आफ्ना महत्वपूर्ण समय खर्चिने आजको पुस्ताले त्यो कुरा कहाँ बुझ्ने । आज पनि जन्मथलो जाँदा हेर्छु त्यो हिजोको पुस्तकालय आज छैन् । त्यहाँ त सडक बनेको छ अलकत्रे । जब जब त्यहाँ पुग्छु मन विक्षिप्त हुन्छ । अनि नोष्टाल्जिक पनि ।







