
पर्या कविता
दीपक चौलागाई
भमराको भुनभुन
वातावरण —
तिम्रो हो, मेरो हो,
हामीले फेर्ने साझा श्वासजस्तै।
हाम्रो सम्बन्ध
अन्योन्याश्रित छ —
प्रकृति,
फूल, भमरा, बिरुवा र मान्छे !
भुनभुनाउँदा भमरा,
हराभरा हुन्छ बगैंचा,
गुञ्जिन्छ जीवनको सुकोमल धुन —
फूलफूलमा, हावाहावामा,
कणकणमा —
सबैतिर फैलिन्छ जीवनको सुगन्ध।
पराग सर्छ चुपचाप,
बिरुवाबीच सन्देश बनेर,
सञ्चार हुन्छ जीवनको लयमा।
तर —
मासिएपछि वातावरण,
भुनभुनाउनु छाड्छन् भमरा,
थुनिन्छ नित्य लय।
रोकिन्छ फूलहरूको बाँसुरी,
बन्द हुन्छ जीवनको स्वाभाविक गति।
भमरा भुनभुनाएनन् भने —
न सर्छ पराग,
न फुल्छ फूल।
वनस्पतिको निरन्तरता टुट्छ,
र टुट्छ सृष्टिको अविरल श्रृङ्खला।
फूलहरू —
केवल धर्तीका शोभा होइनन्,
तिनीहरू सूत्र हुन् सातत्य जीवनका।
कृतिम फूलले
सजाउन त सक्छ आँखालाई,
तर दिन सक्दैन
प्रकृतिको मिठास।
दिन सक्दैन हरितगृहको विकल्प।
प्लास्टिकका दुबोले
एकैछिन
ढाँट्न सक्छ हरियाली,
तर फुलाउँदैन जीवनको अमृत।
जब भमराहरू मौन हुन्छन् —
मधुकरहरू अलमलिन्छन्,
नानीहरूका हातबाट
फूलका रसका कथा हराउँछन्।
फूल नफुलेपछि,
सौन्दर्यको शोभा हराउँछ आँखाबाट।
तब —
शून्यताले ढाक्छ जीवनलाई,
पात, फूल र आकाशबाट
जैविक सन्देशहरू लोप हुन्छन्।
त्यही सन्नाटाबीच,
फूलजस्तो पृथ्वीको मुस्कान मर्छ,
मर्छ भविष्यको गर्भ,
मर्छन् ती आशाका बिरुवा,
जसलाई नानीहरूले
काखमा सजाउने सपना देखेका थिए।
भमरा भुनभुनाउन छाड्दा —
केवल हरियाली होइन,
साथमा मासिन्छ
साहुहरूको सान पनि —
जसले धनको लालचमा
प्रकृतिको मृत्युदण्ड लेखेका थिए।
भमरा भुनभुनाएनन् भने,
जीवन कहाँ बाँच्न सक्छ सग्लोरु
किनकि —
भुनभुन
मात्र ध्वनि होइन,
जीवनको नाभि हो —
जहाँ गाँसिएको छ
हामी सबैको साझा भविष्य।
हरेक फूलको सुगन्धभित्र
भविष्यको श्वास लुकेको हुन्छ।
नानीहरूका नयनभित्र
फूल फुलाइरहनु छ भने,
हरेक श्वासमा
सुगन्ध फैलाइरहनु छ भने —
हामीले आजैदेखि
भमराहरूको आवाज जोगाउनुपर्छ।







