काठमाडौं ।गोधूलि साहित्य प्रतिष्ठानले वरिष्ठ कवि तुलसी दिवसलाई ‘गोधूलि भानु शिखर अभिनन्दन’ गरेको छ ।
नेपाल प्रज्ञाप्रतिष्ठानमा भएको कार्यक्रममा साहित्यकारहरु राधेश्याम लेकाली,गंगा पौडेल कर्माचार्य, श्रीराम राई, विक्रमभक्त जोशी, रेणु अधिकारी ‘मौनता’, रेणुका भट्टराई, भीष्मराज ढुंगेल, दीपसागर थापा मगर, गीता अर्याल, लोकगायक प्रेम खड्का, एन्जल्स वल्र्ड इन्टरनेशनल एकेडेमीलाई पनि सम्मान गरिएको थियो ।
गोधूलि कला साहित्य प्रतिष्ठानकी ललिता दोषीले स्वागत मन्तव्य प्रस्तुत गरेको कार्यक्रममा साहित्यकार गोपीकृष्ण प्रसाईले आदिकवि भानुभक्त आचार्यको योगदान अतुलनीय रहेको बताए । त्यस्तै वरिष्ठ कवि प्रल्हाद पोखरेलले आदिकविको आचार्यको योगदान बारे बोलेका थिए ।
वरिष्ठ कवि तथा संस्कृतिविद् तुलसी दिवसको प्रमुख आतिथ्य तथा संस्कार समाज नेपालकी अध्यक्ष पशुपति गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा ‘गोधूलि भानु काव्योत्सव’ पनि सम्पन्न भएको छ।
राजन न्यौपानेले सहजीकरण गरेको रचना वाचन कार्यक्रममा आशीष ऐडी, ओमकृष्ण प्रसाई, विश्वविमोहन श्रेष्ठ, राधेश्याम लेकाली, राजु उपरकोटी, द्वारिका कुइँकेल, घनबहादुर थापा, रोमा लम्साल, भगवती बस्नेत र रश्मि रिमालले भानु समर्पित कविता, गजल तथा मुक्तक वाचन गरेका थिए ।
कार्यक्रममा भोजभक्त कँडेल, प्रकाश समीर, रेणु अधिकारी ‘मौनता’, विक्रमभक्त जोशी र बालकवि स्वस्तिका गुरुङले पनि रचना वाचन गरेका थिए।
कार्यक्रममा रचना वाचन गर्ने कविहरूलाई मायाको चिनो प्रदान पनि गरिएको थियो ।