
गीत
रूपा रिसाल चालिसे
विरहीले मुटु जल्यो डढेलो चली दिंदा
तन फाट्यो चट्याङ्गले मोह छली दिंदा ।
कहाँकहाँ ठेस लाग्छ उकालीमा हिड्दा
सम्हालिनु पर्छ आफैं ती पाइला चाल्दा
सिङ्गो ज्यान जोगाउन कति गाह्रो पर्ला
ढुंगा माथि माया लाग्दा मुटु रसाउँला ।
विछोडले मुटु जल्यो अग्नी पल्की दिंदा
नयनको दह ढल्यो अश्रु छल्की दिंदा ।
अझै के के देख्नु पर्छ समयले गिजाउँदा
आँधी हुरीले हुत्याउँछ भयले बिझाउँदा
साउने झरी रुझ्नु पर्छ आँखा भिजाउँदा
झलमल देख्ने ती उज्यालो ज्योति हराउँदा ।
अमूल्य रत्न कता हरायो देव राज चुक्दा
जिन्दगी डुब्यो डुङ्गा सागर माझ झुक्दा ।
आकाशले धर्ती थिच्यो राती बाढी आउँदा
सिरानी भिज्यो अधेरी कालाबादल छाउँदा ।
विछोडले मुटु जल्यो अग्नी पल्की दिंदा
नयनको दह ढल्यो यी अश्रु छल्की दिंदा ।
आश लाग्ने एक दीप साँझमा निभी गयो
ममताको आँचल नसुक्ने आँसु भिजी गयो ।
अझै केके सुन्नु पर्छ मेरा यी कान चर्किदा
मनको हलुको हुने के आलो घाउ सिउँदा ।







