
आमाको सन्दुस
सरिता पराजुलीको कथासङ्ग्रह आमाको सन्दुस । नेपाली वर्तमान समाजको मनोदशालाई कथाको माध्यमबाट उजागर गर्न खप्पिस कथाकार । यस कृतिभित्र विद्यमान समाजका अनेकानेक अवयवहरु मज्जैले टिपिएका छन् । परिवार,घर,समाज,नात सम्बन्ध भित्रका अनेक उतारचढावहरु आएका छन् ।
कथाकारले आफ्नै कथा भनेजस्तो,आमाबजैहरुबाट सुनिएका कथा जस्ता,हामीले देखे भोगेका घट्नाहरुमा पात्रहरु चुनेर लेखिएका कथाजस्ता लाग्छन् ।विग्रँदै गएको समाजको चित्र उजागर गर्छन् कथाहरुले ।
सरलभाषा शैली,छोटा आयाममा लेखिएका ५३ वटा कथाहरु यसकृतिमा समेटिएका छन् ।
आमाको सन्दुसलाई भुँडीपूराण प्रकाशनले प्रकाशनमा ल्याएको हो । यस कृतिको मूल्य रु.२००। रहेको छ ।
सम्मोहन
राधिका कल्पितको यो कथाकृतिमा उनका भोगाई,देखाई र बुझाईका श्रृँखलाहरु कथा मार्फत आएका छन् । यसमा विशेषतः लैंगिक पहिचानका सवालहरु झाँगिएर कथाहरुमा परेका छन् । यसमा पुरुषमा हुने नारीप्रधान सोचहरु,हिंसा,महिला र पुरुषका विभिन्न सम्बन्धका आयामहरु,नारीका विभिन्न स्वरुपहरुमा कथानक सृजना गरि कथाहरु लेखिएको छ । कथामा जीवनका विविध विषयहरु सहित मान्छेका भोगाइहरुलाई कथानक बनाइएको छ । प्रेम,सम्बन्ध,यौन सबै विषयहरुले स्थान पाएका छन् ।
कथाहरु सामाजिक यथार्थवादधारमा बगेका छन् । तर यहाँ मनोवैज्ञानिक र उत्तरआधुनिकवादी कथा पनि छन् ।
रहस्यवाद र कलात्मकता राधिकाका कथाका विशेषता लाग्छन् । कथाहरु सूक्तिमय भएर आएका छन् । विम्बात्मक भाषाले कथाहरुमा प्राण भरेका छन् ।
सम्मोहनलाई इन्डिको इनले प्रकाशनमा ल्याएको हो । यसको मूल्य रु.४९९। रहेको छ ।
झुल्को आँखामा
गीतकार डा.सदानन्द कडेलका साठी वटा विभिन्न गीतहरु यस सङ्ग्रहमा समावेश गरिएका छन् । विषयगत विविधताले भरिएका गीतहरुको यो सुन्दर माला झुल्को आँखामा प्रेमका विषयमा लेखिएका गीतहरु छन् । सामाजिक सचेतना जगाउने गीतहरु छन् । राष्ट्रियभाव र देशभक्तिले भरिएका गीतहरु छन् । लोकभाकाका गीत पनि यहाँ छन् ।यसैगरी बालबालिका लक्षित गीतहरु पनि यसकृतिमा परेका छन् ।
आक्षारिक लयको प्रधानता रहेका गीतहरुको बाहुल्यता देखिएको यो सङग्रहमा परेका गीतहरु सरल छन्, भावनाले ओतप्रोत छन् । सरल भाषाशैलीमा सृजना गरिएका गीतहरु अत्यन्तै सम्प्रेष्य छन् ।
झुल्को आँखामालाई इन्दिरा लामिछाने कडेलले प्रकाशनमा ल्याएकी हुन् । यसकृतिको मूल्य रु.२००। रहेको छ ।








