
कविता विष्णु थापा ‘बिछोड’
घामको-यात्रा
विहान आमाले
घामकै रङ्ग मिसिएको माटोले
आँगन पोत्दै गर्दा
वतास र वर्षातको कुचोले सिनित्त पारेको
निलो/निलो आकाशमा
टुप्लुक्क आइपुग्छ बालकघाम
नगरकोटको स्टेसनबाट चडेको घाम
काठमाडौ खाल्डोलाई अझै गहिरो पारेर
खेल्छ र रमाउँछ आफ्नै लयमा
घाम-
देखेर मनोहरा फाँट-धानको बाला सुम्सुमाउँछ
ठिमीको तरकारीबारी-त्यसै त्यसै मख्खपर्छ
पाटनदरवार र काष्ठमण्डपसँग आसपास खेल्दै
आफ्नै तालमा फनफनी घुम्छ चक्रपथ
र धावक बनेर कुदिरहन्छ/
कुदिरहन्छ एकनास
मनमनै-
च्याप्प समातेर घामको कठालो
भनुँ भनुँ लाग् बाबु!
कति एक्लै दौडेको दौडेई-
घुमेको घुमै गर्छौ
थकाई लाग्दैन?
आऊ एकछिन आराम गर
र सुस्तरी थकाई मार
हाम्रा केटाकेटीहरूसँगै
रुमाल लुकाई खेल
साँझ पर्नै लाग्यो
बास यतै बसे हुन्न?
तर नबोली घाम-
आफ्नै सुरमा खेल्न ल्याएका
आभा सबै समेटेर
चन्द्रागीरिको फेदीमा ओर्लन्छ
र नागढुंगाको ओरालै ओरालो
सन्ध्याको मधुरो गीत
गाउँदै रगाउँदै आफ्नै बाटो लाग्छ ।।।
(यो कविता सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा भएको ठमेल काव्य गोष्ठीमा वाचन गरिएको हो।)







