
काठमाडौं । काठमाडौंको जडीबुटी–पेप्सीकोला सडक खण्डको ‘राइट अफ वे’(सडक सीमा) भित्रका संरचना सम्बन्धित व्यक्तिले नै हटाउनुपर्ने भएको छ ।
सडक विभाग र काठमाडौं महानगरपालिकाले संयुक्त रुपमा सोमबार सूचना प्रकाशित गर्दै यी संरचना हटाउन ३५ दिनको अल्टिमेटम दिएका छन् ।
भौतिक, योजना तथा निर्माण मन्त्रालयले राजपत्रमा प्रकाशन गरेको सूचना अनुसार जडीबुटी चोकदेखि पेप्सीकोला सडक खण्डमा सडकको केन्द्र रेखाबाट दायाँबाँया १५/१५ मिटर सडकको सीमा कायम भएको छ ।
प्रकाशित सूचना अनुसार यस सीमामा नेपाल सरकार र महानगरले यसै महिना सीमाङ्कन गरेर चिह्नसमेत लगाइएको छ । साथै, किलासमेत गाडिएको सूचनामा उल्लेख छ।
तोकिएको सडक खण्डको सीमा क्षेत्रभित्र नक्सा पासविना बनाइएका अनधिकृत संरचना व्यक्ति आफैंले हटाउनुपर्ने र त्यसका लागि ३५ दिनको समय दिइएको समेत सूचनामा छ । तोकिएको अवधिमा नहटाए कानुन अनुसार कारबाही हुने समेत जनाइएको छ ।



