
काठमाडौं / हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको साथै बंगालको खाडीबाट भित्रिइरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
यसको प्रभावले आइतबार अपराह्नदेखि मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
आइतबार कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने महाशाखाले प्रक्षेपण गरेको छ।
मधेसप्रदेश लगायत देशको पहाडी भू–भागका थोरै स्थानहरुमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बताएको छ। देशको हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको बताएको छ।
आज राति कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने बाँकी भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने महाशाखाको भनाइ छ।
कोशी र मधेस प्रदेशलगायत गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बागमती प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ।
महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।




