
जुमन किरण
ओजन—जीवनका विविध रङ्ग
नेपाली साहित्यमा अचेल लघुुकथाको लोकप्रियता बढ्दो छ । तीब्र गतिमा दौडिरहेको आधुुनिक जीवनशैलीले मानिसलाई लामो साहित्य सिर्जना गर्ने वा पढ्ने फुर्सद कम दिएको छ । महाकाव्य, खण्डकाव्य, उपन्यासजस्ता विस्तृत विधा भन्दा संक्षिप्त र प्रभावशाली साहित्यिक स्वरुप जस्तै लघुुकथा, मुक्तक, हाईकु, गजल, तथा छोटा कविताहरु पाठकका रोजाईमा पर्दै गएका छन् । समयको माग अनुुसार छोटो तर गहकिलो अभिव्यक्तिलाई साहित्यिक बजारले उत्साहका साथ अँगाल्दैछ । यसलाई हामीले सकारात्मक रुपमा लिनुु पर्दछ ।
छोटो कथात्मक गद्य जसले न्यूूनतम शब्दमा प्रभावशाली कथा प्रस्तुुत गर्छ, सामान्यतः कम पात्र, संक्षिप्त संवाद, घनीभूूत विषय र अप्रत्याशित मोड, लघुकथाका बिशेषताहरु हुुन् । कथा उपन्यास पढ्नुु मेरो मनका प्रिय गल्लीहरु हुुन्, जहाँ म अक्सर हराउने गर्छुु । केही समयअघि हात परेको ‘ओजन’ लघुुकथा सङ्ग्रह एकै सासमा पढेँ । निशा के.सीद्वारा लिखित यो सङ्ग्रह तीन बर्षअघि प्रकाशित भए पनि यसको शब्दहरुमा समयको कुनै सीमा थिएन् । यस अघि उहाँको रहरले किनार छुदा नामक मुक्तक सङ्ग्रह २०७१ सालमा प्रकाशित भइसकेको छ ।
‘ओजन’ सङ्ग्रहभित्र गौथलीको मनदेखि व्यक्तिगत मामलासम्मका असीवटा लघुकथा समेटिएका छन्, जसले १६७ पानाभरि विविध अनुभूति र कथाका रङ्गहरु उजागर गर्छन् । मानव जीवनका विविध आयामहरु गरिबीको पीडा, सम्पन्नताको आडम्बर,घरपरिवारका आपसी सम्बन्धका उतार चढाब, सामाजिक आर्थिक विकृति र विसंगतिहरु तथा संवेदनाका कारुणिक भोगाइहरुले यस कृतिलाई जीवन्त रुपमा चित्रित गर्छन् ।
यी कथाहरुले समाजका असमान यथार्थ उजागर गर्दै, मानवीय संवेदना, सङ्घर्ष र समयको तीब्र बहावलाई सरल अभिव्यक्तिमा बाँध्ने प्रयास गरेका छन् । हरेक पानामा अनुभूति, हरेक पात्रमा पीडा र हरेक घटनामा जीवनको गहिराई बोल्छ । समाजमा दबिएका आवाज, नदेखिने आँसुहरु र नसुुनेका चीत्कारहरु यी कथाहरुभित्र जीवित छन् । पात्रको मौनता कहिलेकाहीँ शब्द भन्दा शक्तिशाली लाग्छ र क्षणिक घटनाहरुले जीवन भरिलाई घाऊ छोड्छन् । हरेक कथाले पाठक आफैंलाई ऐनामा हेर्ने मौका दिन्छ र कतैकतै अरुको नियति जस्तो पनि लाग्छ ।
यथार्थको कठोरता र कल्पनाको सौन्दर्यबिचको अदृश्य सेतु बनेर, यी कथाहरुले पाठकको हृदयमा संवेदनाका तरंगहरु उमार्ने प्रयत्न गर्छन् । केही कथाले चोट दिन्छन्, केही कथाले आँसुु खसाल्छन् र केहीले भित्र कतै गहिरो प्रश्न छोड्छन्, । तीनको जसको उत्तर समयले मात्र दिन सक्छ । तर जे ती होस् कथाले पाठकलाई भावनाको गहिराइमा डुबाउने मात्र होइन, सोच्न र आत्ममन्थन गर्नसमेत बाध्य पार्छन् ।
गौथलीको मन कथामा बा लाई म अमेरिका आउन्न भन्ने आमाको शब्दले आजको आधुुनिक समाजको यथार्थलाई स्पष्ट उजागर गर्छ । सबै युुवाहरु कोही रहरले कोही कहरले विदेशिएका छन् । यस प्रवृत्तिको पछाडि छोडिएका अभिभावकहरुको मनमा कस्तो असर पर्छ भन्ने कुरा कथाले संक्षिप्त तर गहिरो ढंगले प्रस्तुत गर्छ ।
विवशता कथामा चित्रित गरिबी, असहायपन र कठोर यथार्थको चरम प्रतिनिधित्व गर्छ। घरमा एकगेडो अन्नसमेत नभएको बेलामा सुत्केरी श्रीमती र जीवनयापनको सङ्घर्षको कथालाई झन् मार्मिक बनाएको छ । जब पसलमा आएका ग्राहकलाई दुुधचिया खुुवाउन नसक्दा सुत्केरी श्रीमतीले आफ्नो स्तनबाट निकालिएको दुध बाल्टीमा खन्याएर यसैबाट चिया बनाउ भन्ने आसयले विवशताको सीमा नाध्छ । त्यस्तै नानीको बाबा कथामा समाजमा व्याप्त पुुरुषप्रधान सोचलाई प्रहार गर्दै पुरुषहरुको दोहोरो जीवनशैलीको यथार्थ उजागर गर्छ । कथामा नारीले मर्यादा, सहनशीलता र परम्पराको नियममा बाँधिनुपर्ने तर पुरुष पात्रले बाहिर जतिसुकै महिलासँग सम्बन्ध राखे पनिआफुलाई इमान्दार र जिम्मेवार देखाउन खोज्ने प्रवृतिको चित्रण गरिएको छ । सडक सुुरक्षा कथामा सडक केवल यातायातको माध्यम मात्र होइन, अनुशासन, संयम र उत्तरदायित्वको परिक्षास्थल पनि हो । मदिरा सेवन गरि सवारी हाँक्ने गति सीमा उल्लङ्घन गर्ने र ट्राफिक नियमलाई तुच्छ ठान्ने प्रवृतिले हरेक दिन असंख्य निर्दाेष जीवनको जोखिम पार्छ । क्षणिक लापरवाहीको मूल्य कति गहिरो हुन सक्छ? के हाम्रो चेतनाको दुर्घटनापछि मात्र जाग्नुपर्ने हो? यस्ता प्रश्नहरु सोच्न बाध्य पार्छ ।
माया जोख्ने मेसिन कथाले, साँच्चै माया जोख्ने मेसिनको आविष्कार भयो भने नक्कली प्रेमीप्रमीकाको हालत कस्तो हुुन्छ ? भन्ने प्रश्नहरु पाठकको मनमा अवश्य छोड्छ । लेखक कथामा लेखकले महिना शीर्षकमा पुुरस्कार जिते पनि आर्दश र विचारका कुुरा गरे पनि घरमा श्रमितीले महिनावारी भएकाले भान्छामा नगएको र खाना नबनाएको समाजको कालो यथार्थको वर्णन गरिएको छ । त्यस्तै सर्भिसिङ कथामा श्रीमान विदेशिए पछि समाजले कसरी एउटी नारीलाई नकारात्मक दृष्टिले हेर्छ, कसरी उनलाई संकुुचित सोचको घेराबन्दीमा पार्छ र हेप्न खोज्छ भन्ने प्रवृत्तिको बिम्बात्मक चित्रण गरिएको छ । साथै, अन्य कथाहरु नयाँ फ्रक, अपनत्व, कर्मको ठेला, व्यक्तिगत मामला कथाहरुको आकर्षण पनि गज्जबै छ ।
उहाँ काठमाण्डौँवासी म ललितपुर, जिल्लाका हिसाबले हामी छिमेकी हौ, तर पनि केही ढिलै गरी यो पुुस्तक हातमा प¥यो र पढि पनि हाले । निशा के.सीको लेखनशैली सरल भइकन पनि प्रभावशाली र संवेदनशील छ । पात्रहरुको मनोभावना र सङ्घर्षपूूर्ण जीवनलाई यथार्थपरक ढङ्गले प्रस्तुुत गर्नुु भएको छ । तर पनि कथाहरुलाई अझ परिष्कृत गर्न सकिन्थ्यो होला, एकदुुई पटक काटछाँट गरेको भए अझ उत्कृष्ट बन्न सक्थ्यो । कतिपय कथाहरुमा भने अलिक खल्लोपना महसुुस भयो अप्रत्याशित मोड नभएको । लघुुकथा भने पछि ट्वाक्कै मुटुमा लाग्नुु पर्ने तर कतै कतै लागेन तर कतै कतै भने ट्वाक्कै लाग्यो पनि ।
ओजन केवल शब्दहरुको मात्र होइन, यो हाम्रो जीवन, भावना, भोगाइ र समयको तौल हो । समग्रमा हेर्दा, ओजन उत्कृष्ट लघुुकथाहरुको संग्रहको श्रेणीमा पर्न सफल छ । कथाहरुमा रहेको सरलता। सजीवता र सन्देशमूूलक गहिराइले पाठकलाई प्रारम्भदेखि अन्त्यसम्म बाँधेर राख्ने क्षमता राख्दछ । आगामी दिनहरुमा यस भन्दा अझ सशक्त र हृदयस्पर्शी रचनाहरु जन्माएर पाठक मनमा गहिरो छाप छोड्न भन्ने शुभकामना सहित हार्दिक बधाई व्यक्त गर्दछु ।









