
सामाजिक सेवामा समर्पित जीवन
कृष्ण कुमारी पौडेल खतिवडा
असम्भव केही हु्न्न, सम्भव बनाउन त्यति सहज पनि हुन्न जति सोचिएको हुन्छ । त्यसका लागि अनेकौ चुनौती, बाधा, व्यवधान र संघर्ष गर्नैपर्छ । कार्यमा निरन्तरता, अटुट आत्मविश्वास र गतिशिल लगनशिलताको संगम हुनु आवश्यक हुन्छ । दुर्गम जिल्ला पाँचथरको लिम्बुवान क्षेत्रमा जन्मिएँ र कर्मथलो पनि त्यही बनाएँ । न्यायको पक्षमा आवाज बुलन्द गर्न कहिल्यै चुप बसिन । सत्य र समानताको विषयमा निडरताका साथ लड्ने क्षमता सानैदेखि थियो र आजसम्म पनि जीवन्त छ । उति बेलाको समाजको संरचनाले मेरो अस्तित्व जिवित रहेकोमा भाग्यमानी सम्झन्छु । दुई सन्तानलाई धेरै सम्झने आधुनिक समाजको परिवेशमा मेरो जन्म असम्भव थियो किनकी सात दिदी बहिनीमा जन्तरीको पहिचान छ मेरो ।
बाल्यकालदेखि नै राजनीतिक माहोललाई प्रत्यक्ष रुपमा देख्ने अवसर पाएकोले होला, हुर्के बढेसँगै जीवनका अधिकांश समय राजनीतिक कार्यकर्ता, सामाजिक अभियन्ता र विकासप्रेमीको रुपमा बित्यो । बुबाको इच्छा पनि यतै थियो जसले गर्दा अनविज्ञ अवस्थामा नै राजनीतिक वातावरणमा घुलिन पुगेछु । पटक– पटक महासमिति सदस्य भएर काम गर्ने अवसर पाएँ । पाँचथरको दुर्गम बस्तीमा जन्मेर त्यहाँको विभेदपूर्ण समाजलाई प्रत्यक्ष हेर्ने मौका पाएकोले होला नेपाली समाजमा व्याप्त महिला पुरुषको विभेद, गरिबलाई धनीले गर्ने शोषण, बलियाले कमजोरलाई गर्ने थिचोमिचो जातीय विभेदले चिमोटेको अझै पनि मानसपटलमा ताजै छ । बुबा विपी कोइरालाको वैचारिक सिद्धान्तका पक्षधर हुनुहुन्थ्यो । यही कारणले मामालाई २०१८ सालमा गोली हानी मारियो । बुबा धनकुटा जेलमा पर्नुभयो । दुवै परिवार सर्वस्व हरणमा परेर बिस्थापित हुनुपर्यो । त्यसैगरी २०५८ सालमा पाँचथर जिल्लाको महिला जागृति कार्यक्रमको अध्यक्ष हुँदा चारजना छोराछोरीलाई माओवादीले ४ महिना बन्धक बनाए । श्रीमान्ले शिक्षकको रोजगारी छोड्नुपर्यो । ‘क’ वर्गको व्यापारिक कारोबार सबै लुटिएर बिस्थापित हुनुपरेको विषम परिस्थितिमा समेत पीडायुक्त चुनौतीसँग जुँधेर अघि बढ्ने हिम्मतले आजका दिनसम्म बचाइराखेको छ । गलत गर्नुहुन सत्यको बाटोमा जतिसुकै चुनौती आएपनि लड्न छोड्नुहुन्न एकदिन अवश्य जीत हुन्छ नै मेरो जीवनको आदर्श पनि हो र भोगाइ पनि हो ।
किशोरावस्थादेखि नै अन्याय, अत्याचार र विभेदका विरुद्ध बोल्ने र लड्ने शक्ति रहेछ भनेर त्यतिखेर गरेका क्रियाकलापलाई सम्झन्छु अहिले । गाउँघरमा भएका सामान्य झगडा मिलाउनेदेखि लिएर सामाजिक कुरीति, कुसंस्कार र अन्धविश्वासलाई हटाउने मानसिकता त्यतिखेर नै विकास भइसकेको रहेछ । सबै चुनौतीलाई सामना गर्दै समुन्नत र समतामुलक समाजको विकासमा मेरो कर्मले अन्जानमै मूर्त रुप लिइसकेको थियो । जस्तै छोरीले जन्ती जान नपाउने चलनलाई कान्छा दाजुको बिवाहमा जन्ती गएर सुरुवात गरेको थिएँ । पुरुष मात्र मलामी जाने प्रथालाई हजुरआमा बितेको समयमा छोराछोरी समान हौ हामी पनि जान्छौ भनेर गएका थियौ । प्रचलित नियमभन्दा बाहिर जाँदा खेप्नुपर्ने गाली गलौजका पर्वाह नगरी डटेर सामना गर्ने बानी थियो मेरो । घर– घरमा हुने महिला हिंसाका घटनामा अघि सर्दै मिलाउने काम गरिरहन्थे । जामा सिलाउन घरमा आउने नेपाली दाजुलाई घरभित्रै राखेर खाना खुवाउनेदेखि लिएर दही मही दिन बाध्य बनाउँथे । दही मही दिए भैसी धुरी चढ्छ भन्ने प्रचलन व्याप्त थियो समाजमा । कुन घरका कुन भैसी धुरी चढ्छन् मलाई देखाउनु भन्दै सबैको नजरमा आक्रोश र गालीको गोली खाएर समाजका कुसंस्कार अन्त्यका निम्ति लडिरहेँ । छोरी–बुहारी समान हुन् र शिक्षा दिनु आवश्यक छ भनी गाउँभरी शिक्षाको ज्योति छर्न प्रौढ शिक्षा दिन कक्षाको आवश्यकता महसुस गरी सुरुवात गरेँ । खानेपानीको समस्या भोगीरहेका बस्तीलाई मेची–पहाडी कोरिडोर समितिको सदस्य भएर एक घर एक धाराको व्यवस्था गरी २÷३ घण्टा लगाएर पानी लिन जानुपर्ने काकाकुल अवस्थालाई अन्त्य गर्न सफल भएँ ।
यातायातको सुविधा नभएर सास्ती भोगिरहेका जनतालाई भौतिक मन्त्रालय, योजना आयोग दौडिएर सहज आवतजावतको व्यवस्था गराउन पाउँदा निकै खुशी छु । बच्चा जन्माउन नसकेर वर्षेनी धेरै आमाहरुले अकालमा ज्यान गुमाउनुपरेको कारुणिक दृश्यले मुटु छियाछिया बनाउँथ्यो । जिल्ला अस्पतालको आवश्यकता महसुस गरेर ५० सैयाको भवन बनाउन योजना आयोगबाट ३२ करोडको बजेट हाल्न सफल भएँ । मेरो सोचले सधै सामाजिक विकासलाई रोज्यो र यसमा नै मेरो सन्तुष्टी केन्द्रित भयो । सामाजिक विकासले नै राष्ट्र र राष्ट्रियताको विकास हुन्छ भन्ने धारणाले नै अघि बढिरहेको छु ।
महिलाहरु माथिका अनेकौ घरेलु तथा बाह्य हिंसा उत्पीडन शोषण र विभेदका बिरुद्ध विभिन्न फोरमहरु मार्फत चेतना र जागरणका अभियन्ताकै रुपमा खरो उत्रदै आउने क्रममा २०५६ सालमा पाँचथर जिल्लाको महिला जागृति तथा आय आर्जन कार्यक्रमको जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाल्न पुगेछु । सशक्त नेतृत्व तथा समन्वयमा विकसित महिला चेतना जागरण र आत्मविश्वासले दरिलो आधारशीलाको रुपमा खडा हुन मलाई प्रेरित गरिरह्यो । आम नेपाली महिलाहरु माथिका सबैखाले हिंसा, उत्पीडन, शोषण तथा विभेद र बन्धनको अमानवीय गैर कानुनी तथा घोर अन्यायको दुष्चक्रबाट उठाइ कानुनी संरक्षण, न्याय र पहुँचको मूल प्रवाहमा समाहित गर्ने राज्यको सर्वाधिक महत्वपूर्ण निकाय मध्येको राष्ट्रिय महिला आयोगको माननीय सदस्यका रुपमा नियुक्त हुदा महत्वपूर्ण जिम्मेवारीको बोध गरेको छु । सम्पूर्ण नेपाली महिलाहरुको अवस्था बदल्न अहम् भूमिका निर्वाह गर्ने राज्य संयन्त्रमा नियुक्त भई प्राप्त राष्ट्रिय जिम्मेवारीलाई न्यायोचित रुपमा कार्यान्वयन गर्न गराउन मेरो हुटहुटीले अन्जानमै धकेलिरहेको थियो र आज गन्तव्यको अन्तिम बिन्दुमा अडिएको छु ।
समतामुलक सभ्य समाज, कानुनमा महिलाको पहुँच, मर्यादित र सम्मानजनक जीवनयापनका सवालमा निरन्तर आवाज उठाइरहेको छु । १८ महनिाका नाबालिका देखि ८० वर्षका वृद्धा समेत नजिकका नातेदार र परविारका सदस्यबाटै बलात्कृत हुनुपरेको घटनाले मन छियाछियिा बनाउँछ । पशुवत बलात्कार, जघन्य हिंसा र हत्या जस्ता दर्दनाक घटनामा बैतडीकी छोरी भागीरथी भट्टको बलात्कार पछि हत्या गरिएको क्रुर हत्यारालाई कानुनी दायरामा ल्याइ सजाय दिलाउन सफल भएँ । यी बाहेक थुप्रै जघन्य अपराधका घटनामा प्रत्यक्ष उद्दार गर्दै आउँदा मानिसमा मानवीयता कहाँनेर छ भनेर चिन्तित हुन्छु । त्यस्तै पाँचथरमा साङ्लोमा बाँधिएर बस्न विवश मानव होस् वा घरपरिवारबाटै तिरस्कृत र अपहेलित ज्येष्ठ नागरिक तथा उद्दारको कामना र पर्खाइमा रहेका सयौ महिला आमा दिदी बहिनीहरुको उद्धार होस् सुन्ने बित्तिकै मन त्यतैतिर दौडिहाल्छ । उद्दार गरिएकालाई सुरक्षित आवास तथा पुनस्र्थापन जस्ता कार्यहरुको व्यवस्थापनमा अझै चुनौतीपूर्ण अवस्था छ । थुप्रै चुनौतीलाई जिम्मेवारीबोधले बाँधेर व्यवस्थापनमा लाग्नु एक कर्तव्य हो पदीय मर्यादाको हिसाबमा पनि ।
संवैधानिक आयोगमा बस्दा गरेका उदाहरणीय कार्यहरु दर्पणको रुपमा रहुन् र भावी पदाधिकारीले अनुसरण गर्दै अझै थप कार्य गर्न उत्प्रेरित होऊन् भन्ने हेतुले प्रगति विवरण समेटिएको पुस्तक दस्तावेजको रुपमा प्रकाशित भएको छ । उक्त पुस्तक नेपाली समाजको एउटा उत्प्रेरक सम्पतिका रुपमा रहने विश्वास लिएको छु ।
कुनै यस्तो क्षेत्र छैन जहाँ शक्तिको दुरुपयोग नभएको होस् । पुरुष मात्र होइन महिलाले पनि पदीय शक्तिलाई दुरुपयोग गरेका उदाहरण प्रत्यक्ष रुपमा देख्दा मन मन साह्रै दुखेको छ । भ्रष्टाचारको विषय होस् वा राज्यकोष हिनामिनाको विषय होस्, स्वतन्त्र रुपमा बोल्न लेख्न लोकतान्त्रिक राज्य व्यवस्थामा हामी स्वतन्त्र छौ तर व्यवहारीक तह अत्यन्त निस्क्रिय र दुराशाही छ । आज पनि गैरकानुनी र ऐन विपरितका क्रियाकलाप विरुद्ध बोल्दा भौतिक मानसिक सामाजिक र कानुनी रुपमा समेत शिकार बन्नुपर्ने अवस्था आँखा अगाडि देखिएका छन् । काम गर्छु भन्नेलाई पनि हात खुट्टा बाँधेर पोखरीमा पौडी खेल्न जा भनेर धकेलिदिने अवस्थालाई राज्य संयन्त्रबाट नै सुधार हुनुपर्छ । न्यायिक निकाय अदालतमा समेत फरक मत र विचार राख्न छुट भएको गणतन्त्रात्मक व्यवस्थाको अधिकार उपयोगमा मैले आफ्नो पदीय हैसियत र मर्यादा परिचालन गर्दै आर्थिक, राजनीतिक, सामाजिक प्रभावमा नपरी निर्धक्कसँग बोल्न सधै उत्प्रेरित गरिरहन्छ । अनैतिकता, भ्रष्टाचार र हिनामिनाको विरुद्ध बोल्दा झेल्नुपर्ने जस्तासुकै चुनौतीसँग सामना गर्ने आँट लिएर हिडेको छु । यसमा मलाई गौरव लाग्छ । जीउ ज्यानको धम्की होस् वा डन्डाको फन्दा होस् निरन्तर आफ्नो काममा केन्द्रित हुनु विशेष क्षमता मानेको छु । आफ्नो लक्ष्य र जनताको सेवा सुविधा मेरो प्राथमिकताका केन्द्रविन्दु हुन् । जिम्मेवारीले बाँधिएको कुर्सीको गरिमालाई उच्च बनाउने हेतुले काम गर्नुपर्छ । इमानदारीताले खारिएको कर्तव्य, राष्ट्र र राष्ट्रिय स्वाधिनताका पक्षमा सक्रिय बन्दै महिला हिंसाका विरुद्ध कानुनमा समानता कार्यान्वयन गर्नु नै मेरो मूल उद्देश्य रहेको छ । कानुन पारित हुनु संविधानमा लेखिनु विकासको ढोका खोलिनु हो यो सबैको खुशीको विषय हो । ढोका सबैका लागि सधैका लागि खुला रहनु पर्यो व्यक्ति, शक्तिको प्रभाव दबाबमा घरी ताल्चा मार्ने, घरी चुकुल लगाउने र घरी खुला गर्ने हुनु भएन मेरो आशय यति नै हो ।
मस्यौदामा पारित कानुनले महिलालाई सक्षम बनाएको हो वा असक्षम बनाएको हो सुक्ष्म विश्लेषणको खाँचो रहेको कुरा अनुभूत गर्दै छु । महिलाका लागि कानुन बनाउने तहमा पुरुष, त्यो पनि पितृसत्तात्मक मापदण्डमा बनाएका अनि कार्यान्वयन गर्ने, परिणामको व्याख्या गर्ने स्थानमा पनि अधिक संख्या पुरुष, न्यायालय, प्रधानमन्त्री, मुख्यमन्त्री पुरुष नै छन् त्यसमा विमती होइन तर जो क्षमता र हैसियतमा माथिल्लो पदमा पुगेका महिला छन् उनीहरु आफ्नो हक, अधिकार सुनिश्चित गर्न र न्यायका लागि पहल कदमी चाल्नुपर्नेमा तिनै पुरुष सत्ताको चाकडीवाजमा समय नगुजारिदिए वेश हुन्थ्यो भन्ने मेरो आशय हो । हैसियत र मर्यादाको पालना गरियोस् प्राप्त हक अधिकारलाई दिए मागेर, नदिए खोसेर पनि लिन सक्ने साहस बनाउन् भन्ने मेरो चाहना हो । यो हुन सकेको छैन त्यसैले कतिपय ठाउँमा हामी आफ्नै हक अधिकार र सेवा सुविधाबाट वन्चित हुनुपरेको तितो यथार्थ छ । हामी जुन जिम्मेवारी, कर्तव्यले बाँधिएका छौ त्यही सिमाभित्र रहेर न्यायोचित कार्यसम्पादन गर्न कुनै बाह्य शक्तिको प्रभावमा परिनु हुदैन र उद्देश्य लक्षित भएर अघि बढियो भने एकदिन अवश्य सफल भइन्छ ।
(लेखक राष्ट्रिय महिला आयोगको मा.सदस्य हुनुहुन्छ)








