
चर्चामा पुस्तक
समय र अनुभूति
भुवन मास्के ‘मुस्कान’को संस्मरणात्मक निबन्ध रहेको कृति हो समय र अनुभूति । चर्चित गायक प्रेमध्वज प्रधान,योगेश बैद्य लगायतका बारेमा धेरैलाई थाहा नभएका कुराहरु समेत उजागर गरेर आएको छ । जुन पाठकहरुको लागि उपयोगी छ । जानकारीमूलक छ । यतिमात्र नभएर पारीवारिक माया,प्रेमका कुराहरु पनि निबन्धहरुले बोलेका छन् । गायक शिब परियार र साहित्यकार दुबसु क्षेत्रीको बारेमा पनि लेखिएको छ । पुराना साँस्कृतिक पक्षहरुको पनि पाठकलाई कृतिले जानकारी दिन्छ । टुँडिखेलको बारेमा स्पष्ट जानकारी पनि गराएको छ । परिवारका निकट सदस्यको अल्पायुमै जीवन गुमाउँदाको मानवीय संवेदना र मर्मस्पर्शी अनुभूतिले पाठकलाई रुवाउँन सक्छ ।नारीपीडाहरु पनि व्यक्तिएका छन् । व्यक्तिगत अनुभूतिहरु पनि थुप्रै छन् । जनावरमाथि पनि लेखिएको छ । यसमा विभिन्न शिर्षृकका १८ थान संस्मरणात्मक निबन्धहरु समावेश गरिएको छ ।
विषयगत विविधतायुक्त,मीठो र सरर बगेको भाषाशैलीले कृतिको ओज बढाएको छ । पढेपछि पाठकलाई मज्जैले तान्छ ।
समय र अनुभूतिलाई वासु शशी स्मृति परिषद्ले प्रकाशनमा ल्याएको हो । कृतिको मूल्य रु.२०० । रहेको छ ।
परिधि
हरि थापाको लघुकथासंग्रह हो परिधि । सानो आयाम र आकार झण्डै सबै लघुकथाहरुमा एकनासको संख्याका शब्दहरु परेको छ । समसामयिक व्यँगचेत,प्रेम सम्बन्ध,समाजका राजनीतिक क्षेत्र लगायतमा देखिएका बेथितिहरु प्रतिको कटाक्ष,समसामयिक विषयबस्तुमा लघुकथाहरु आएका छन् । मानवीय संवेदना बोकेका छन् लघुकथाहरुले ।
कथाहरुले जीवनका विभिन्न पक्षहरु बोध गराएका छन् । यस लघुकथा कृतिभित्र ५० थान लघुकथा अटाइएको छ ।
कथाहरु दुरुह छैनन् । सरल र बोधगम्य भाषा प्रयोग गरिएका छन् ।
परिधिलाई सिर्जना अभियान समाजले प्रकाशनमा ल्याएको हो । यसको मूल्य रु.२००। रहेको छ ।






